Chitwan Post Epaper
प्रमुख समाचार

पुरानो मेडिकल कलेजको सेवामा ढिलाइ ,इमर्जेन्सीमा नै बिरामीलाई सास्ती


भरतपुर । पुरानो मेडिकल कलेजको नामबाट परिचित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालको इमर्जेन्सी कक्षको सेवामा ढिलाइ हुँदा बिरामीले सास्ती खेप्न बाध्य भएका छन् । अस्पतालको सबैभन्दा बढी ध्यान दिनुपर्ने इमर्जेन्सी कक्षका कर्मचारीले नै वास्ता नगरेको बिरामीहरुबाटै चर्को गुनासो आएको हो ।
मंगलबार चितवनको रत्ननगरबाट काठमाडौँ जन्ती हिँडेको स्कार्पियो गाडी मकवानपुरको भैँसेमा दुर्घटना हुँदा टाउको र मुखमा चोट लागेर आएका रत्ननगर पिठुवाका नेत्र गुरूङ मध्यान्ह साढे १२ बजे उपचारका लागि अस्पताल आइपुगे । निधार र ओेठमा ठूलो घाउ भएको उनले पाँच घन्टापछि मात्रै उपचार पाए ।
‘यति ठूलो अस्पतालको व्यवस्थापन देखेर म त छक्क परेँ’, उनले भने, ‘छिटो छिटो भन्दाभन्दै हैरानै भएँ ।’ निधारको घाउ दिउँसो साढे ३ बजे सिलाए पनि ओठको घाउ भने साँझ साढे ५ बजेमात्रै सिलाइएको थियो । ओठको भित्री भागमा सिलाउँदा टर्च लाइटको ठाउँमा मोबाइल प्रयोग गरिएको थियो । कर्मचारी भएर पनि सही व्यवस्थापन गर्न नसकेको उनको बुझाइ छ ।
मुग्लिन(नारायणगढ सडकमा पहिरो खसेर अवरूद्ध हुँदा उनीहरु वैकल्पिक मार्गबाट काठमाडौँ जाँदा उक्त दुर्घटना भएको हो । सात जना सवार रहेको उक्त गाडी अनियन्त्रित भई भित्तामा ठोक्किँदा दुर्घटना भएको उनले बताए । सवार सबैलाई सामान्य चोट लागेको थियो ।
कहिलेकाहीँ बिरामीको चाप धेरै हुँदा इमर्जेन्सी कक्षमा कार्यरत कर्मचारी अपुग भएमा अन्य विभागबाट कर्मचारी बोलाएरै भए पनि उपचार गराउँदै आइएको छ । मंगलबारको घटनामा पनि ओपीडीबाट दुई जना कर्मचारी आएपछि मात्रै उनले उपचार पाएका थिए । ‘हामीलाई ढिलो खबर भयो’, एक जना कर्मचारीले भनिन्, ‘समयमै बोलाएको भए अहिलेसम्म सबै काम सकिइसक्ने थियो ।’
सँगै दुर्घटनामा परेर अनुहारमा चोट लागेर आएका ईश्वर अधिकारीको टाउकोमा गडेको सिसाका मसिना टुक्रा निकाल्न पनि पाँच घन्टा कुर्नुप¥यो । उनी भन्छन्, ‘टाउकोमा बिझाइराख्या छ, सिसा गडेको होला भनेर हेरिदिन १०औँ पटक भनेँ, सुन्दै सुन्दैनन्, यहाँका कर्मचारी देखेर पनि छक्क परेँ ।’ कार्यरत कर्मचारीबाट पनि बोली र व्यवहार अल्लि असामान्य खालको देखिएको उनले बताए । समयमै उपचारसेवा दिन किन नसकेको भनेर सोध्दा ‘हामीलाई केही नभन्नू, प्रशासनमा गएर कुरा गर्नू भन्छन् । कर्मचारीको भनाइ उद्धृत गर्दै अधिकारीले भने । ‘यति बोल्दा त यस्तो हालत छ भने बोल्नै नसक्ने सोझासाझा जनताले कसरी सेवा पाउलान् र ?’ उनले प्रश्न गर्दै भने, ‘अस्पताल आएर पनि उपचारको अभावमा अकालमै ज्यान जान बेर लाग्दैन ।’
अस्पतालको इमर्जेन्सी शाखा प्रमुख डा. रोहन झासँग यस विषयमा बुझ्दा अस्पतालको सबैभन्दा बढी ध्यान दिनुपर्ने इमर्जेन्सी कक्षमा त्यस्तो लापर्बाही नभएको दाबी गरे । ‘हामीले भारतीय सिस्टममा अस्पताललाई विकास गर्दैछौँ, त्यसैले नयाँ मेसिन जडान गर्नुपर्नेलगायतका समस्या भएकोले केही मिनेट ढिलाइ भएको हुन सक्छ’, उनले भने, ‘तर बिरामीको अवस्था हेरेर उपचारसेवा दिइरहेका छौँ, यदि हामीबाट त्यस्तो कमजोरी नै भएको रहेछ भने पनि सुधार्न तयार छौँ ।’

Comments

धेरै पटक हेरिएको

Chitwan Post Epaper

सम्पर्क

चितवन पोष्ट, दैनिक समाचार पत्र
नारायणगढ, चितवन

फोनः ०५६-५७१४९२

फ्याक्स:  ०५६-५७११२०

इमेल: postchitwan@gmail.com

Chitwan Post Epaper
AmazingCounters.com

© २०१०-२०१८ चितवन पोष्ट - दैनिक समाचारपत्र | सर्वाधिकार सुरक्षित. वेब तथा होस्टिङ सेवा: नमस्टेक

To Top