Chitwan Post Epaper
Uncategorized

जोखिमयुक्त बस्तीमै भूकम्पपीडित

-दिपेन्द्र अधिकारी
भरतपुर । वर्षायाम सुरू भइसकेको छ । बाढीपहिरोको प्रभाव मानवबस्तीहरुमा देखिन थालेको छ । तर, चितवनका बस्ती जोखिममा परेको भनिएका भूकम्पपीडितहरु भने अझै पनि पुरानै बस्तीमा बस्न बाध्य छन् ।
चौँथो वर्षायाम पनि उनीहरुले जोखिमयुक्त बस्तीमै बिताउन बाध्य भएका हुन् । केही घरपरिवारले स्थानान्तरणका लागि जग्गा पाएका छैनन् भने केहीले भूकम्प प्राधिकरणले खोजेको जग्गामा जान मानिरहेका छैनन् । केही पीडितहरु भने नयाँ जग्गा व्यवस्थापन भए पनि घर बनिनसकेकाले पुरानै बस्तीमा छन् ।
जिल्लाका विभिन्न ७ स्थानका ६३ घरपरिवार अति प्रभावित क्षेत्रमा रहेका हुँदा जुनसुकै बेला प्राकृतिक प्रकोपले थप समस्या हुने भन्दै जिल्ला प्रशासन कार्यालयले तीन घरपरिवारको बस्ती स्थानान्तरण अनिवार्य भएको रिपोर्ट प्राधिकरणको केन्द्रीय कार्यालयमा पठाएको थियो ।
यो वर्षाअघि नै सबै बस्ती स्थानान्तरण गरी घरसमेत बनाइसक्ने आफूहरुको योजना रहे पनि विभिन्न कारणले काम सम्पन्न हुन नसकेको प्राधिकरण चितवनका इन्जिनियर सुजन नेपालले बताए । जोखिमपूर्ण भनिएका बस्तीहरु बढी पहिरोको जोखिममा छन् । बस्ती नै जोखिममा रहने गरी जमिन चिराचिरा परेको छ ।
बस्ती सार्न आनाकानी
चितवनको विकट राप्ती नगरपालिका वडा नम्बर १३ एसिखाइका ११ घरपरिवारका लागि राप्ती नगरपालिकाकै कुमिटार भन्ने ठाउँमा जग्गा खोजी भई पुर्जासमेत सम्बन्धित पीडितहरुको हातहातमा परिसकेको छ । तर, ती पीडितहरु अझै पनि नयाँ ठाउँमा घर बनाउन मानिरहेका छैनन् । ‘हामीले पीडितहरुलाई पटकपटक घर बनाउनका लागि भनिरहेका छौँ’, इन्जिनियर नेपालले भने, ‘तर, खेतीपाती र बसाइ एक ठाउँमा नभएको भन्दै भूकम्प प्रभावित पुरानै जोखिमयुक्त बस्तीमै बसिरहेका छन् ।’
त्यस्तै, इच्छाकामना गापा ४, तीनघरेका ५ घरले भने घर बनाएर दोस्रो किस्तासमेत लिइसकेका छन् । तर, घर निर्माण नसकिँदा उनीहरु पुरानै बस्तीमा बस्न बाध्य छन् । इच्छाकामना गाउँपालिका ३, धुषाका २० जना परिवार कुरिनटारमा सर्ने भएका छन् । बस्ती स्थानान्तरण गर्नुपर्ने भनिएको ३१ घरपरिवारमध्ये अझै ११ घरपरिवारको स्थानान्तरण टुंगो लागेको छैन ।
धमाधम तेस्रो किस्ता
चितवनमा कुल ७ हजार ३ सय ३५ भूकम्पपीडित रहेका थिए, जसमध्ये ५ हजार ५ सय ९८ जनाको पहिलो किस्ता निकासा भइसकेको छ । २ हजार ३ सय ६५ जनाले दोस्रो किस्ता लिइसकेको र २ सय २३ जनाले तेस्रो किस्तासमेत पाइसकेको इन्जिनियर नेपालले जानकारी दिए । जिल्लामा ६ हजार १८ जनाले घर सर्वेक्षण छुटेको वा चित्त नबुझेको भन्दै गुनासो गरेका छन् । उक्त गुनासोउपर आगामी साउन महिनाबाट कारबाही थालिने उनले जानकारी दिए ।

Comments

धेरै पटक हेरिएको

Chitwan Post Epaper

सम्पर्क

चितवन पोष्ट, दैनिक समाचार पत्र
नारायणगढ, चितवन

फोनः ०५६-५७१४९२

फ्याक्स:  ०५६-५७११२०

इमेल: postchitwan@gmail.com

Chitwan Post Epaper
AmazingCounters.com

© २०१०-२०१८ चितवन पोष्ट - दैनिक समाचारपत्र | सर्वाधिकार सुरक्षित. वेब तथा होस्टिङ सेवा: नमस्टेक

To Top