Chitwan Post Epaper
प्रमुख समाचार

बस्ती जोगाउन नदीकिनारमा तटबन्ध, नारायणी नदीआसपासका स्थानीय खुसी

तुलमान गुरूङ
नारायणगढ । सरकारले नारायणी नदीकिनारका दुवैतिर जालीसहितको तटबन्ध गरेपछि नदीकिनारआसपासका स्थानीयले खुसीको सास फेरेका छन् ।
हरेक वर्ष नदीले जमिन कटान गर्नुका साथै बस्ती नै डुबाउने समस्याले आजित बनेका स्थानीयका लागि नेपाल सरकार सिंचाइ मन्त्रालय जलउत्पन्न प्रकोप व्यवस्थापन विभागले जालीसहितको तटबन्ध गरी नदी व्यवस्थापन गरेपछि नदीकिनारआसपासका सर्वसाधारणलाई प्रत्यक्ष लाभ मिलेको हो ।
जलउत्पन्न प्रकोप व्यवस्थापन विभाग नारायणी नदी व्यवस्थापन आयोजना भरतपुरले दिएको जानकारीअनुसार चितवनतर्फ नारायणगढको पुल्चोकदेखि गोलाघाटसम्मको ३५ किलोमिटर र नवलपुरतर्फ गैँडाकोटको पुल्चोकदेखि सुस्तासम्मको ६५ किलोमिटर दूरीमा जालीसहितको तटबन्ध निर्माणको काम भइरहेको छ ।
स्थानीय उपभोक्ताको मागअनुसार सरकारले आर्थिक वर्ष २०६६÷०६७ सालदेखि नदी व्यवस्थापनका लागि जोखिमयुक्त क्षेत्रको अध्ययन गरी नदी व्यवस्थापनको काम गर्दै आइरहेको छ ।
कार्यालयका सिनियर डिभिजनल इन्जिनियर दिनेश पौडेलले हालसम्म चितवनतर्फ १३ किलोमिटर र नवलपुरतर्फ १० किलोमिटर क्षेत्रमा बाँध लगाइएको जानकारी दिए । लक्ष्यअनुसारको काम सम्पन्न गर्न नेपाल सरकारलाई आर्थिक वर्ष २०८०÷०८१ सम्म लाग्न सक्ने अनुमान गरिएको उनले बताए ।
नदीकिनारमा तटबन्ध गरेपछि नदीकिनारवरिपरिको जग्गामात्रै नभई मानवबस्ती नै सुरक्षित भएको बताउँछन्, गैँडाकोट नगरपालिका ७ का स्थानीय नारायणी नदी व्यवस्थापन उपभोक्ता समितिका अध्यक्ष लेखराम सापकोटा । ‘नदीकिनारमा बाँध लगाएपछि डुबानमा परे पनि बगाउने समस्या कम भएको छ’, उनी भन्छन्, ‘यसले बस्ती जोखिमबाट बचाएको छ ।’
नेपाल सरकारले सुरूमा ‘जनताको तटबन्ध’ शीर्षकमा काम गर्दै आएको थियो भने आर्थिक वर्ष २०७३÷०७४ बाट ‘नारायणी नदी व्यवस्थापन’ शीर्षकमा काम गर्दै आइरहेको छ ।
लक्ष्य पूरा हुने गरी काम सम्पन्न गर्न करिब १२ अर्ब ५० करोड रूपैयाँ बजेट लाग्ने अनुमान गरिएको छ । तर, काम गर्न हरेक वर्ष निश्चित बजेट विनियोजन भएर आउने हुँदा यति नै लाग्छ भनेर यकिन गर्न नसकिने सिनियर डिभिजनल इन्जिनियर पौडेलले बताए । ‘यो नेपाल सरकारको अनुमानित बजेट हो’, उनले भने । सरकारबाट आएको बजेटमध्ये आर्थिक वर्ष २०७३÷०७४ सम्मको तथ्यांक हेर्दा एक अर्ब ६ करोड रूपैयाँबराबरको बजेटमा काम भइसकेको उनले जानकारी दिए । ‘यो आर्थिक वर्षको तथ्यांक आइसकेको छैन’, उनले भने ।
यो वर्षको चितवनतर्फ १५ करोड र नवलपुरतर्फ १० करोड गरी २५ करोड रूपैयाँबराबरको काम भइरहेको सिनियर डिभिजनल इन्जिनियर पौडेलले जानकारी दिए । उनका अनुसार गत आर्थिक वर्षमा दुवैतर्फ गरेर २४ करोड रूपैयाँ बजेट आएको थियो । अहिलेसम्म गरेको भौतिक प्रगति हेर्दा जम्मा ३० प्रतिशतमात्रै काम भएको देखिएको छ । तर, हरेक वर्षको प्रगति हेर्ने हो भनेचाहिँ प्रत्येक वर्ष ९५ प्रतिशतभन्दा बढी काम भएको कार्यालयको दाबी छ । स
सरकारको लक्ष्यअनुसारकै काम भइरहेको उनले बताए । ‘समग्रमा काम हेर्दा थोरैमात्रै भएको जस्तो देखिए पनि सरकारको लक्ष्यअनुसार काम भइरहेको छ’, उनले भने, ‘तर, विभिन्न खालका सरकारी समस्याकै कारण निश्चित समयभित्र हतारिएर काम गर्नुपर्ने स्थिति छ ।’ अहिलेसम्म स्थलगत अध्ययन र स्थानीयको मागको आधारमा बढी प्रभावित क्षेत्रमा यो काम गर्दै आइरहेको उनको भनाइ छ । नदीमा तटबन्ध लगाइएपछि नदीकिनारमा रहेका सार्वजनिक जग्गासमेत सुरक्षित रहने उनले बताए ।
काम गर्ने समय जम्मा चार महिना
नारायणी नदीकिनारमा तटबन्ध लगाउने काम वर्षभरिमा जम्मा चार महिनामात्रै हुने गरेको छ । हरेक काममा चितवन राष्टिूय निकुञ्जसँग समन्वय गर्नुपर्ने भएकाले प्रक्रिया झन्झटिलो हुनुका साथै हरेक काम निकुञ्जको अनुमतिबिना गर्न नपाइने हुँदा वर्षभरि काम गर्न नपाइएको कार्यालयका सूचना अधिकारी इन्जिनियर गौतम भण्डारीले बताए ।
‘असारदेखि कात्तिकसम्म खोलामा काम गर्न सकिँदैन’, उनले भने, ‘पुस र माघ महिना नदीकिनारको बालुवामा गोहीले अण्डा पार्ने हुँदा निकुञ्जले काम गर्न दिँदैन ।’ बाँकी चार महिनामा हतारमा काम गर्नुपरेको उनले बताए । बीचमा मंसिर महिनामा काम गर्न मिल्ने समय भए पनि एक महिनामा प्रक्रिया पूरा गरेरै नसकिने उनको भनाइ छ ।

Comments

धेरै पटक हेरिएको

Chitwan Post Epaper

सम्पर्क

चितवन पोष्ट, दैनिक समाचार पत्र
नारायणगढ, चितवन

फोनः ०५६-५७१४९२

फ्याक्स:  ०५६-५७११२०

इमेल: postchitwan@gmail.com

Chitwan Post Epaper
AmazingCounters.com

© २०१०-२०१८ चितवन पोष्ट - दैनिक समाचारपत्र | सर्वाधिकार सुरक्षित. वेब तथा होस्टिङ सेवा: नमस्टेक

To Top