Chitwan Post Epaper
प्रमुख समाचार

वैदेशिक रोजगारीको असर, असारे चटारोमा मजदुरको अभाव 

-किशोर खनाल
भरतपुर । यतिबेला किसानलाई असारे चटारोले छोएको छ । तर विडम्बना, युवाजति विदेशिएका कारण खेतमा काम गर्ने मजदुरको अभाव भएको छ । एकातिर पर्याप्त पानी नपरेर किसान चिन्तित छन् भने अर्कोतिर खेतबारीमा काम गर्ने मजदुरको अभावले पिरोलिएका छन् ।
‘धेरै युवा रोजगारीका लागि विदेशिए, भएका केही युवा पनि सहरतिर छिरे’, भरतपुर ६, देवनगरका किसान राजबहादुर भुजेलले भने, ‘गाउँघरका प्रत्येक घरमा वृद्धवृद्धामात्रै छन्, काम गर्ने युवा कोही छैनन् ।’ मजदुरको अभाव हुँदा किसानले समयमै बाली लगाउन पाएका छैनन् । ‘पहिला काम गर्ने थुप्रै युवा मजदुरहरु पाइन्थ्यो, तर अहिले सिला खोज्दा पनि एक(दुई मजदुर पनि फेला पर्दैनन्’, किसान भुजेलले भने ।
‘गाउँमा विदेश नगएको एउटा घर पनि फेला पर्दैनन्, यस्तै अवस्था हुने हो भने गाउँका खेतहरु अब बाँझो रहन सक्छन्’, उनले भने, ‘गाउँमा पूर्वी तराई र भारतबाट आएका मजदुरहरुले रोपाइँको काम गरिरहेका छन् । पछिल्लो समय धान रोप्नेदेखि आली लगाउनेसम्मका सबै काम भारतबाट आएका मजदुरहरुले गरिरहेका छन् ।
‘स्थानीय मजदुर त कहाँ पाउनु ? बारा, पर्सा, रौतहट र भारतको बिहार प्रान्तबाट आएका मजदुर लगाएर धान रोप्ने काम गरिरहेको छु’, भरतपुर ६ गीतानगरकी किसान बिन्दु पण्डितले भनिन्, ‘असारे चटारोले छोयो, मजदुर पाउन महाभारत भएको छ ।’
कृषिमा यान्त्रीकरण हुँदै गए पनि खेतमा आली लगाउने, रोपाइँ गर्ने सवालमा यान्त्रीकरण नहुँदा असार(साउनमा कृषि मजदुरका माग बढी हुन्छ । तर, यतिबेला पर्याप्त मजदुर नहुँदा मौसमले साथ दिँदादिँदै पनि किसानले समयमै रोपाइँ गर्न पाउँदैनन् ।
पूर्वी तराई र भारतीय मजदुरहरु यतिबेला समूह(समूह बनाएर काम गरिरहेका छन् । ‘भारतीय मजदुरहरु सीमित हुन्छन्, दिन गनेर काम गर्दैनन्, ठेक्कामा मात्र काम गर्छन् । उनीहरुलाई नकुरी मजदुर पाइँदैन, उनीहरुलाई कुरेर बस्दा रोपाइँ ढिलो हुन्छ, लागत पनि बढी पर्छ’, किसान पण्डितले भनिन्, ‘वैदेशिक रोजगारीले ठूलो असर पारेको छ ।’
गीतानगरकै अर्का किसान कृष्णप्रसाद दाहालले रोपाइँका लागि भारतीय मजदुरलाई कुरेर बसेका छन् । उनी भन्छन्, ‘पानी त छ, तर मजदुर नै छैनन्, मजदुरहरु कहिले आउँछन् र रोपाइँ गराँैला भनेर बस्नुपर्छ ।’
चितवनको पूर्वी भेगमा आधाभन्दा बढी क्षेत्रफलमा रोपाइँ भए पनि पश्चिम क्षेत्रहरु रामपुर, शारदानगर, गुञ्जनगरमा रोपाइँ सुरू भएको छैन । भरतपुर ६, गीतानगरमा यतिबेला बोरिङ र नहरको पानीले रोपाइँ भइरहेको छ । शुक्रनगर, दिव्यनगर र मेघौली, पार्वतीपुरमा फाट्टफुट्ट रोपाइँ सुरू हुन थालेको छ ।
राप्ती नगरपालिका, खैरहनी नगरपालिकामा ६० प्रतिशत, रत्ननगरमा ५० प्रतिशतको हाराहारीमा रोपाइँ भएको छ । माडीमा ३० प्रतिशत रोपाइँ भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
कार्यालय प्रमुख सुधीर श्रेष्ठले जिल्लाभरि ३४ प्रतिशतमात्र रोपाइँ भएको बताए । उनले भने, ‘रोपाइँको प्रतिशत जुनरुपमा बढ्नुपर्ने हो, त्यसरुपमा बढेको छैन ।’ उनका अनुसार चितवनमा यसवर्षको बर्से धानखेती २८ हजार ६ सय हेक्टरमा हुने अनुमान गरिएको छ ।

Comments

धेरै पटक हेरिएको

Chitwan Post Epaper

सम्पर्क

चितवन पोष्ट, दैनिक समाचार पत्र
नारायणगढ, चितवन

फोनः ०५६-५७१४९२

फ्याक्स:  ०५६-५७११२०

इमेल: postchitwan@gmail.com

Chitwan Post Epaper
AmazingCounters.com

© २०१०-२०१८ चितवन पोष्ट - दैनिक समाचारपत्र | सर्वाधिकार सुरक्षित. वेब तथा होस्टिङ सेवा: नमस्टेक

To Top