Chitwan Post Epaper
प्रमुख समाचार

चितवनमा विषादी प्रयोग अत्यधिक, ‘देशभरमा पाँचाँै स्थान’

भरतपुर । चितवनमा उत्पादन भएका तरकारी तथा फलफूलमा अत्यधिक विषादी प्रयोग भएको पाइएको छ । विषादी प्रयोग गर्नेमा देशभरमा चितवन पाँचौँ स्थानमा छ ।
बाली संरक्षण निर्देशनालयले गरेको विषादी प्रयोगको सर्वेक्षणअनुसार चितवन विषादी प्रयोगमा पाँचौँ स्थानमा परेको राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुरका कृषि वैज्ञानिक घनश्याम भण्डारीले जानकारी दिए । उनले सबैभन्दा बढी विषादी प्रयोग गर्नेमा काभ्रे पहिलो, रौतहट दोस्रो, झापा तेस्रो र बाँके चौँथो स्थानमा रहेको बताए ।
‘पछिल्लो समय चितवनमा उत्पादन भएका तरकारी तथा फलफूलमा विषादीको प्रयोग भयावहरुपमा भइरहेको छ’, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ तरकारी जोन पार्वतीपुरले सोमबार गरेको विषादी प्रयोग न्यूनीकरणसम्बन्धी अन्तक्र्रियामा कृषि वैज्ञानिक भण्डारीले भने । उनका अनुसार चितवनका अधिकांश व्यावसायिक किसानले रासायनिक विषादी प्रयोग गर्छन् ।
अन्तक्र्रियामा कृषि वैज्ञानिक भण्डारीले विषादी प्रयोगसम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै भने, ‘प्रतिहेक्टर वार्षिक ३९६ ग्राम विषादी प्रयोग भइरहेको छ ।’ उनले खेतको आलीदेखि खाने थालीसम्म विषादी प्रयोग भइरहेको बताए । उनका अनुसार ८५ प्रतिशतभन्दा बढी तरकारीमा विषादी प्रयोग भइरहेको छ ।
‘४० प्रतिशत व्यावसायिक किसान रोगकीरा नदेखिँदा पनि विषादी छरिरहेका छन्, ४८ प्रतिशत बालीमा रोगकीरा देखेपछि विषादी छर्छन्’, कार्यपत्र प्रस्तुत गर्दै उनले भने, ‘२०७४ सालमा नेपालमा ५७४ टन तरकारी तथा फलफूलका विषादी आयात भएको थियो ।’
सबैभन्दा बढी विषादी भ्यान्टा, भेँडे खुर्सानी, टमाटर, काँक्रो, तने बोडी, करेलालगायतमा हालिएको उनले बताए । उनले भने, ‘रक्सीमा कक्टेल भन्ने सुनिएको थियो, तर विषादीमा पनि कक्टेल (एउटै बालीमा दुईवटा विषादी मिलाएर एकैचोटि हाल्ने) भेटियो ।’
प्रांगारिक कृषि उत्पादक केन्द्र भरतपुर १९, श्रीपुरका प्रांगारिक किसान चन्द्रप्रसाद अधिकारीले ‘प्रांगारिक कृषि अवस्था र चुनौती विषयक’ कार्यपत्र प्रस्तुत गरेका थिए । उनले ६० वर्षअघि नेपाली कृषिप्रणाली परम्परागत प्रांगारिक भएको र अहिले यो एकादेशको कथा बनेको बताए ।
कार्यपत्र प्रस्तुत गर्दै उनले भने, ‘डाक्टरको पे्रस्किप्सनबिना औषधि दिँदैन, त्यस्तै आधिकारिक व्यक्तिको सिफारिसबिना विषादी दिन नपाइने नियम बसाल्नुपर्छ ।’ उनका अनुसार बाली उपचार शिविर गरेर, परागसेँची जीवहरुको संरक्षण गरेर, मित्रजीवहरुको संरक्षण गरेर, स्थानीय बीउ संरक्षण गरेर, फोहोरलाई मोहोर बनाएर प्रांगारिक खेती गर्न सकिने उनको भनाइ थियो ।
कार्यक्रममा अर्गानिक सर्टिफिकेसन नेपालका प्रमुख वसन्त रानाभाटले पनि विषादी प्रयोगसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । उनले विषादीको प्रयोगले मानव स्वास्थ्यमा मात्र नभई पर्यावरणीय चक्रलाई नै असर पर्ने बताए । उनले भने, ‘विषादी प्रयोग गर्नु भनेको मृत्युसँग सहकार्य गर्नु हो ।’ उनका अनुसार विष उत्पादकलाई हामीले छिर्न दिनु नै हुँदैन । विषादी प्रयोगलाई शून्यमा झार्न सबैजना एकीकृत हुन जरूरी छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ तरकारी जोन पार्वतीपुरका कार्यालय प्रमुख झलकनाथ कँडेलले परियोजनासँग सम्बन्धित कार्यपत्र प्रस्तुत गरेका थिए । जोनले २०७४÷७५ को आर्थिक वर्षमा हाते ट्रयाक्टर वितरण, स्थायी टनेल निर्माण, प्रोत्साहन अनुदान, प्राविधिक शिक्षालयलाई सहयोगजस्ता कार्यक्रम गरेको प्रमुख कँडेलले जानकारी दिए ।
उनका अनुसार परियोजनाले तरकारीको उत्पादन र क्षेत्रफल बढाएको छ । उनले भने, ‘प्राविधिक र विद्यार्थीका साथै कृषकबीच सीधा समन्वयको वातावरण जोनले सिर्जना गराएको छ ।’ तरकारी जोनको कार्यक्षेत्र भरतपुर महानगरपालिकाको पश्चिमी क्षेत्र हो ।
यसैगरी बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल डा भोला सिवाकोटीले विश्वमा देखिएका रोगहरु खानपानसँग सम्बन्धित हुने हुँदा विषादीरहित वा सुरक्षित खाद्यान्न सेवन गर्नु अत्यावश्यक भएको बताए ।
जोनका सूचना अधिकारी माधव पौडेलले विषादी न्यूनीकरण र व्यवस्थित बजारीकरणका लागि जोनले सम्पूर्ण प्रकारले पहल गर्ने बताए । आगामी कार्यक्रममा विषादी परीक्षण गरेरमात्र तरकारीको बजारीकरण गर्ने व्यवस्थाका लागि ठोस पहल गरिने उनले बताए ।
तरकारी जोनको सञ्चालक समितिकी अध्यक्ष बालिकाकुमारी गिरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाह रहेकी थिइन् । शाहले कार्यक्रमको उद्घाटन गर्दै भनिन्, ‘अर्गानिक खेतीतर्फ किसानलाई आकर्षण गर्न महानगर लागिरहेको छ ।’

Comments

धेरै पटक हेरिएको

Chitwan Post Epaper

सम्पर्क

चितवन पोष्ट, दैनिक समाचार पत्र
नारायणगढ, चितवन

फोनः ०५६-५७१४९२

फ्याक्स:  ०५६-५७११२०

इमेल: postchitwan@gmail.com

Chitwan Post Epaper
AmazingCounters.com

© २०१०-२०१८ चितवन पोष्ट - दैनिक समाचारपत्र | सर्वाधिकार सुरक्षित. वेब तथा होस्टिङ सेवा: नमस्टेक

To Top