Chitwan Post Epaper
विचार

अलबिदा धर्मराज सर !

–बबिलाल तामाङ
blglan530265@gmail.com
प्रकृतिको नियमको अगाडि कसैको केही चल्दैन । प्रकृतिको नियम नै यस्तै छ । एकपटक जन्म लिएपछि मरण निश्चित छ, ढिलो–चाँडोमात्र हो । एकदिन संसार त्याग्न बाध्य हुनुपर्छ । यो प्राकृतिक हो । कोही यो संसारमा अमर छैन । संसार परिवर्तनशील छ । यो परिवर्तनमा हामी सबै एकदिन पर्ने नै छौँ । यो टारेर टर्दैन ।
धेरै स्तम्भकारले धर्म सरको विषयमा लेख्नुभयो । सबैले लेख्दै गर्दा मित्र गोविन्द अर्याल (व्यवस्थापक)ले पनि मलाई लेख्नका लागि अभिप्रेरित गर्नुभयो । मनमा त थियो लेख्छु भन्ने, समय अभावका कारण भ्याइरहेको थिइनँ । तैपनि, आफ्नै अफिसको सम्पादक भएकोले मेरो मनले दिनदिनै घचघच्याइरह्यो लेख्नका लागि । र, आज ढिलै भए पनि केही कुरा लेख्ने जमर्को गरेको छु ।
मानिसले गरेका राम्रा कामहरुले नै मानिसलाई चिनाउने गर्दछ । त्यसैले, जहिल्यै राम्रा व्यक्तित्वहरुबारे चर्चा हुने गर्दछ । यस्तै चर्चा आज चितवन पोष्ट दैनिकका सम्पादक धर्मराज अर्यालको भइरहेको छ । उहाँ आज हामीमाझ हुनुहुन्न । उहाँको कार्यको आजको अवस्थासम्म आइपुग्दा निकै नै चर्चा भइरहेको छ । उहाँले गर्नुभएको कार्यले नै उहाँ आज सबैमाझ जीवितै हुनुहुन्छ ।
कहाँबाट सुरू गरौँ खै ! मर्माहत भएको बेला कलम चल्न पनि गाह्रो हुँदोरहेछ । सुरू यहीँबाट गरौँ झैँ लाग्यो । २०५८ साल मंसिरताका पोखराबाट प्रकाशित हुने आदर्श समाज दैनिक गैँडाकोटमा पनि शाखा विस्तार गर्ने सिलसिलामा सोही पत्रिकाका सम्पादक कृष्णप्रसाद बाँस्तोला आउनुभएको थियो । विज्ञापनमार्फत कर्मचारी आवश्यकताको खोजी भएको मलाई मेरा सहृदयी मित्र आत्माराम पाठकले जानकारी दिनुभयो । पत्रिकामा काम गर्ने इच्छा त थियो, तर पनि जाने इच्छा खासै नहुँदा मित्र आत्मारामजीले मलाई कर गर्नुभयो । जानुस् न एकपटक, भए हुन्छ नभए अनुभव त हुन्छ भन्नुभयो । उहाँको सल्लाहबमोजिम मैले आदर्श समाज दैनिकमा आवेदन दिएँ । प्रतिस्पर्धात्मक छनोटमा म परीक्षामा उत्तीर्ण भएँ । त्यसपछि मेरो मिडियामा आगमन भएको हो । आदर्श समाज दैनिकले करिब १ वर्षसम्म निरन्तरता पाइरह्यो, तर विविध कारणवश आदर्श समाज दैनिक बन्द हुन पुग्यो । म केही समय बेरोजगार भएँ ।
यता, चितवनबाट प्रकाशित हुने अर्को दैनिक पत्रिका चितवन पोष्ट दैनिक जहाँ कर्मचारी आवश्यक परेको रहेछ । मैले सूचना पाएपछि २०५९ साल कार्तिक १० गते म चितवन पोष्ट पुगेँ । त्यसताका चितवन पोष्टको अफिस लायन्सचोकमा अवस्थित थियो र हाल प्रेसमार्ग नारायणगढमा रहेको छ । जब म चितवन पोष्टको अफिस पुगेँ, ढोकाको ठीक सामुन्ने टेबुल र कुर्सीमा बसेका एक जो हातमा चुरोट च्यापेर पिउँदै गरेका भुँडे व्यक्ति थिए । अनि मैले आफ्नो परिचय दिएँ । यहाँ कर्मचारी आवश्यक परेको थाहा पाएँ, त्यसैले आएको हुँ भनेँ । सर, हजुर नै हो यहाँको ? प्रश्न गरेँ । उहाँले भन्नुभयो, हो म यहाँको सम्पादक धर्मराज अर्याल । अनि मलाई थाहा भो सम्पादक धर्मराज अर्याल उहाँ नै हुनुहुन्छ भनेर । अनि, उहाँले मलाई पत्रिकाका विषयमा सानो परीक्षा लिनुभयो । अनि, उहाँले भोलिबाट तपाईं आउनुहोस् भन्नुभयो ।
त्यसो त, मेरो पनि चितवन पोष्टमा जागिर खाने इच्छा आदर्श समाज दैनिक नजाँदैदेखि थियो । पत्रिकामा काम गर्ने रहर निकै नै पालेर बसेको थिएँ । मेरो रहर त आदर्श समाजमा पूरा भएको हो, तर जिम्मेवार ढंगले काम चितवन पोष्ट आएदेखि भएको छ । अनि, सुरू भयो मेरो चितवन पोष्टको यात्रा, जुन यात्रा हालसम्म पनि निरन्तर छ । चितवन पोष्टमा कार्यरत रहेको पनि आज १६ वर्ष भइसकेको छ । आजका दिनसम्म आइपुग्दा मैले धेरै सिक्ने मौका पनि पाएको छु । अर्को कुरा, धर्म सरबाट धेरै चेलाहरु पनि जन्मिएका छन् । यसै दैनिकबाट धेरैले सिक्ने अवसर पनि पाएका छन् ।
धर्म सरको आत्मीयता, शालीनता, सबैप्रति गर्ने व्यवहार एकसमान हुन्थ्यो । ठूलो होस् या सानो, सबैलाई तपाईं नै भन्नुहुन्थ्यो । सानो हो भन्दै तिमी भन्ने शब्द उहाँले कहिल्यै उच्चारण गर्नुभएन । उहाँको यो बडप्पन मलाई ज्यादै राम्रो लाग्यो ।
समय बित्दै गयो । कामको बाँडफाँटमा पनि परिवर्तन आयो । धर्म सर आफैँ पनि नाइट बस्न थाल्नुभयो । नाइटमा मैले धर्म सरसँग करिब तीन वर्ष काम गरेँ । उहाँको काम गराइको तरिका बडो फरक ढंगको हुन्थ्यो । राति कामको दौरानमा दाहिने हातमा कलम र देब्रे हातमा चुरोट च्यापेर कम्प्युटरको स्क्रिनमा मलाई कलमले औँल्याउँदै यो न्यूज हाल्नुहोस् भन्नुहुन्थ्यो, म त्यसैअनुरुप फलोअपमा हुन्थेँ । अब त्यो दिन कल्पनामा मात्र सीमित भएको छ । कामको दौरानमा सेटिङ (साजसज्जा) सकेर हामी धर्म सर र म रातको ४ बजे म्याटर (पत्रिकाका टे«सिङ) लिएर प्रेसतिर जानुपर्ने हुन्थ्यो छपाइका लागि ।
एकदिन सर र म रातको ३ः४५ मै म्याटर लिएर लायन्सचोक हुँदै पुल्चोकतर्फ जाँदै थियौँ । आर्मीहरुले हामीलाई पुल्चोकनिर रोके । संकटकालको बेला थियो, बाइकमा दुई जनाको अनुमति थिएन । आर्मीले हामीलाई तपाईंहरु दुई जना किन बाइकमा ? तपाईंलाई थाहा छैन दुई जना चढ्न पाइँदैन ? भनेर आर्मीले हामीलाई भन्दै गर्दा धर्म सर सरी, भन्दै बाइकबाट ओर्लनुभयो । सर, हामी पत्रिकाको म्याटर लिएर प्रेसतर्फ जान लागेको हो, सरले भन्नुभयो । त्यसबेला मलाई मनमा डर लागेको थियो, किनकि कफ्र्युको समयमा हामी निस्केका थियौँ । जे पनि हुन सक्थ्यो । धर्म सरलाई पुल्चोक छाडी म म्याटर पु¥याउन पोखरा बसपार्कको नारायणी छापाखानामा गएँ ।
धर्म सरसँगका सहकार्यका पलहरु आज पनि झलझल आँखाअगाडि आइरहन्छ । उहाँसँग काम गर्दा म आफूलाई सम्पादकसँग हैन कि सहकर्मी साथीसँग काम गरेजस्तै भान हुन्थ्यो । किनकि, उहाँ श्रम गर्ने व्यक्तिलाई सदैव इज्जत गर्नुहुन्थ्यो । उहाँ भन्नुहुन्थ्यो, ‘बबिलालजी, म श्रमको इज्जत गर्छु, हामी कहिल्यै पनि श्रम गर्ने व्यक्तिलाई मार्दैनौँ, बरू आफू नखाएर भए पनि हामी हाम्रो कर्मचारीको तलब जसरी पनि दिन्छौँ ।’ साँच्चै नै उहाँ जे बोल्नुहुन्थ्यो, त्यो उहाँले पूरा पनि गर्नुहुन्थ्यो । मैले थाहा पाएसम्म चितवन पोष्ट दैनिकमा कहीँ कसैले पनि मैले तलब पाइनँ, कोही कसैको पनि मेरो यति बाँकी छ भन्ने सुनेको छैन । यसैले होला, चितवन पोष्ट दैनिक निरन्तर भई आजको यो अवस्थामा आएको पनि ।
राष्ट्रिय समाचार समितिमा १५ वर्ष जागिर खानुभएका धर्म सरको यात्रा २०५४ सालमा चितवन पोष्ट साप्ताहिकबाट सुरू भएर अहिले रंगीन बन्दासम्म अघि बढ्यो । सुरूवाती पिरियडमा निकै संघर्ष गर्नुपरेको यो दैनिक आज रंगीन बन्दासम्म धर्म सरले निकै संघर्ष गर्नुभएको छ । उहाँकै संघर्षको फलस्वरुप आज हामी सबै कर्मचारीले रोजगारी पाएका छौँ । उहाँ कर्मचारीहरुलाई कर्मचारीका रुपमा नहेरी बेलाबेलामा भन्नुहुन्थ्यो, ‘यो संस्थामात्र हैन एउटा घर पनि हो, हामी सबै यसका सदस्य हौँ, सबै लागिमेली गरे घर बन्छ ।’ यस अर्थमा लाग्थ्यो कि उहाँ हामीलाई कर्मचारी हैन कि आफ्नै घरको सदस्य सोच्नुहुन्थ्यो । म त भन्छु, ‘उहाँको विचार नै महान् छ, उहाँको महान् विचारलाई सलाम छ !’
धर्म सर पत्रिकाका सम्पादकमात्र नभएर एक कवि तथा साहित्यकार पनि हुनुहुन्थ्यो । उहाँका ६ वटा कृतिहरु प्रकाशित छन् । ती हुन् मातृभूमिको गीत (२०३६), सिर्जनाका धुनहरु (२०५६), तिम्रा मेरा बातहरु (२०६०), अन्तरमनका छालहरु (२०६९), प्रतिनिधि कविताहरु (२०७१), तृष्णा (२०७४) । फुर्सदको समय मिल्यो कि उहाँ कविता लेख्नुहुन्थ्यो । अनगिन्ती कविताहरु विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् । कविताका साथसाथै अनगिन्ती रचनाहरु पनि उहाँले लेख्नुभएको छ । उहाँ यस अर्थमा पनि एउटा बहुप्रतिभाशाली व्यक्तित्व हुनुहुन्थ्यो ।
समय बित्दै गयो । पछिल्लो समय उहाँ उच्च रक्तचाप र मधुमेहबाट पीडित हुनुभयो, साथै उहाँकी श्रीमती क्यान्सरपीडित । दैवको लीला पनि अचम्मको छ ! उहाँ आफैँ बिरामी हुनुका साथै उहाँकी श्रीमती पनि क्यान्सर रोगी भएपछि निकै नै कष्टकर जीवन बिताउन बाध्य हुनुभयो । उहाँको भन्दा श्रीमतीको उपचार ठूलो रहेकोले उहाँ श्रीमतीको उपचारका लागि काठमाडौँ जानुभयो । श्रीमतीको सफल उपचारपछि चितवन फर्कनुभएका धर्म सरको उही दिनचर्या सुरू भयो, चितवन पोष्टको ।
बिस्तारै बिस्तारै मधुमेह, उच्च रक्तचापले उहाँलाई गाल्दै गइरहेको थियो । उहाँसँग मेरो भेट बिरलै हुन्थ्यो । मेरो नाइट डेस्कको ड्युटी भएकोले भेट हुँदैनथ्यो । पछिल्लो समय बिरामी भएर थला नै पर्नुभयो भन्ने अफिसमा कुरा चल्यो । हामी अफिसबाट तुलमान, किशोरहरु सरलाई भेट्न उहाँको घर गयौँ । घर पुग्दा उहाँ बेडमा नै पल्टिरहनुभएको थियो । उहाँकी श्रीमती (म्याडम)ले हामीलाई एकछिन बाहिरपट्टि बार्दलीमा बस्न आग्रह गर्नुभयो । बार्दलीमा हामी बसिरहेको केही मिनेटमै धर्म सर चुरोट र लाइटर लिई आउनुभयो । उहाँलाई बस्न पनि निकै असहज भइरहेको थियो, तर चुरोट सल्काएर सकी–नसकी बस्नुभयो केही मिनेटमात्रै । हामीले स्वास्थ्यस्थितिका बारेमा सोध्यौँ, उहाँले अहिले ठीक छ पहिलेको भन्दा भन्नुभयो । एकैछिनमा भित्र जाने इशारा गर्नुभयो । मित्रहरु तुलमान, किशोर र मैले सरलाई सहारा दिँदै उहाँको बेडसम्म पु¥यायौँ । म्याडम (उहाँकी श्रीमती) सरलाई पानी खान आग्रह गर्दै हुनुहुन्थ्यो, सर भने नखाने हातको इशारा गर्दै हुनुहुन्थ्यो । खाना नखाएको आज २ दिन भयो भन्दै म्याडमले हामीलाई सुनाउँदै हुनुहुन्थ्यो । स्थिति निकै कष्टदायी भएको महसुस गरिरहनुभएको थियो म्याडम । पूरै माहोल पीडामय थियो । ड्युटीको समय भएर हामीहरु म्याडम र प्रकाशसँग बिदाबारी भएर निस्कियौँ ।
यसरी दिनहरु बित्दै गए । केही दिनपछाडि धर्म सर चितवन मेडिकल कलेजको आईसियूमा उपचाररत रहेको कुरा चितवन पोष्टको अफिसमा चल्यो । त्यसपछि धर्म सरलाई भेट्न जाऔँ भनेर सहकर्मी मित्र केशव भट्टराईले भन्दै गर्दा अर्का सहकर्मी मित्र तुलमान गुरूङ पनि टुप्लुक्क आइपुगे ।
जेठ २८ गते दोस्रोपटक हामी धर्म सरलाई भेट्न चितवन मेडिकल कलेजको चौँथो तलाको क्याबिनमा पुग्यौँ, जहाँ उहाँ उपचाररत हुनुहुन्थ्यो । हामी सबैले एकैपटक सर नमस्कार भन्यौँ । धर्म सर अस्पतालको बेडमा निकै अत्तालिरहेको पायौँ । बेडमा निकै छटपटाइरहेको धर्म सरलाई देखेर मलाई ज्यादै दुःख लागिरहेको थियो । केही मिनेट उहाँका पुत्रद्वय प्रकाश र निर्मलसँग धर्म सरको स्वास्थ्यस्थितिबारे कुराकानी भयो । एकैछिनमा धर्म सरले ‘तपाईंहरु आउनु’भो, भेट भइहाल्यो, अब जानोस्’ भन्नुभयो । हामी तीनैजनालाई लाग्यो, अब त्यहाँ बस्न उचित छैन र हामी मुखामुख हुँदै क्याबिनबाट बाहिर निस्कियौँ र प्रकाश र निर्मलसँग बिदा मागी फक्र्यौं । सरले बोल्नुभएको ‘तपाईंहरु आउनु’भो, भेट भइहाल्यो, अब जानोस्’ भन्ने वाक्य नै हाम्रा लागि अन्तिम वाक्य बन्यो ।
भोलिपल्ट अफिसबाट सहकर्मी सुमित्राले फोनमार्फत धर्म सरको दुःखद निधन भएको खबर गर्नुभयो । एकछिन त सपनाजस्तै लाग्यो । विधिको नियमको अगाडि कसको के लाग्छ र ! यसरी धर्म सर यस संसारबाट कहिल्यै नफर्किने गरी बिदा हुनुभयो ।
२०३८ सालदेखि पत्रकारिता सुरू गर्नुभएको धर्म सरको निधनले पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति भएको छ । उहाँको निधनले घरपरिवार मात्र नभएर समाज र सम्पूर्ण पत्रकार साथीहरु नै मर्माहत भएका छन् । पत्रकारिता जगत्कै बलियो स्तम्भ आज ढलेको छ ।
यसरी आदरणीय सर धर्मराज अर्याल गुमाउनु परेकोले ज्यादै दुःख लागेको छ । धर्म सरलाई भगवान्ले स्वर्गमा बास दिऊन् र दिवंगत आत्माले चिरशान्ति पाओस् भन्दै हार्दिक समवेदना प्रकट गर्दछु । अलबिदा धर्म सर !

Comments

धेरै पटक हेरिएको

Chitwan Post Epaper

सम्पर्क

चितवन पोष्ट, दैनिक समाचार पत्र
नारायणगढ, चितवन

फोनः ०५६-५७१४९२

फ्याक्स:  ०५६-५७११२०

इमेल: postchitwan@gmail.com

Chitwan Post Epaper
AmazingCounters.com

© २०१०-२०१८ चितवन पोष्ट - दैनिक समाचारपत्र | सर्वाधिकार सुरक्षित. वेब तथा होस्टिङ सेवा: नमस्टेक

To Top