Chitwan Post Epaper
समाचार

पोल्ट्री व्यवसायमा चम्किएका खनाल दाजुभाइ

–केशव भट्टराई
रत्ननगर । रत्ननगर १३, अमिलियाका ३० वर्षीय सुजन खनाल र २६ वर्षीय सुमन खनाल पोल्ट्री व्यवसायमा चम्किएका दाजुभाइ हुन् । व्यवसायमा लगाव भए स्वदेशमै प्रगति गर्न सकिने उदाहरण उनीहरुले प्रमाणित गरेका छन् ।
गोरखाको दर्बुङबाट ०६४ सालमा चितवन झरेका यी दाजुभाइले अमिलियास्थित घरबाटै एक लाख रूपैयाँको लगानीमा ५ सय ब्रोइलर कुखुरा पालेका थिए । अहिले १३ हजार लेयर्स छन्, जसमध्ये ५ हजार लेयर्सले अण्डा दिन सुरू गरिसकेको छ ।
उनीहरुका परिवारका ६ जना नै कुखुरापालनमा सक्रिय छन् । शिक्षण पेसाबाट अवकाशप्राप्त बाबु प्रकाशबाबु, आमा विन्दा र बुहारीहरु अमृता र कविता कुखुरापालन, बेमौसमी तरकारीखेती, गाईपालनमा व्यस्त छन् । अण्डासँगै तरकारी र दूधबाट पनि यो परिवारले मनग्य आम्दानी गरेको छ ।
सुजन भन्छन्, ‘एक लाख रूपैयाँको लगानीले एउटा फर्मबाट सुरू गरेको कुखुरापालन अहिले आठवटा फर्ममा विस्तार भएको छ । मनग्य कमाइ छ, परिवारमा कोही पनि बेरोजगार बन्नुपरेको छैन ।’
सानो लगानीबाट स्वदेशमै सफलता हासिल गर्न सकिन्छ भन्ने उदाहरण सुजन र सुमनले देखाएका छन् । बिहान ४ बजे उठेर कुखुरालाई दानापानी गरेर यी दुई दाजुभाइले पढाइमा पनि सफलता हासिल गरेका छन् । सुजनले वीरेन्द्र बहुमुखी क्याम्पसबाट अंग्रेजी विषयमा स्नातकोत्तर गरेका छन् । सुमनले बालकुमारी कलेजबाट बीबीएस उत्तीर्ण गरेका छन् ।
आत्मनिर्भर बन्न मौकाको खोजी गरेर लगनशील बने स्वदेशमै बसेर सफलता हासिल गर्न सकिने अनुभव उनीहरुको छ । सुमन पोल्ट्री टेक्निसियन पनि हुन् । उनी आफ्नो फर्मका अतिरिक्त अन्य फर्महरुमा पनि टेक्निसियनका रुपमा व्यस्त हुन्छन् । भन्छन्, ‘आफ्नो काम भ्याएर पनि मासिक एक लाखसम्म कमाइ गर्न कतै जानुपर्दैन ।’
यी दाजुभाइको घरमा एउटा फर्म, घरनजिकै भाडामा तीन फर्म र कालिका ८, निउरेनीमा १५ कट्ठाको क्षेत्रफलमा हालसालै चार फर्म सुरू गरेका छन् । उनीहरुले निउरेनीमा आफ्नै आर्जनबाट जग्गा खरिद गरी फर्म सञ्चालन गरेका हुन् ।
पढेका बेरोजगार युवाले स्वदेशमै बसेर केही गर्न सके विदेशको दुःख–पीडा भोग्न नपर्ने यी दाजुभाइको अनुभव छ । विदेशका लागि गरिने लगानी स्वदेशमै खर्च गर्ने हो भने चट्टानलाई नै सुन बनाउन सकिने सुझाव उनीहरुको छ ।
तीन स्थानमा आठ फर्म रहे पनि कुखुराको दानापानी र व्यवस्थापन उनीहरुको परिवारले नै धान्दै आएको छ । आफ्नै दानामिल राखेर आफैँ दाना उत्पादन गर्ने र आफ्नो कुखुरा आफैँ बेच्ने योजनामा रहेको सुमन बताउँछन् । यी दाजुभाइको ४० हजार कुखुरा पाल्ने लक्ष्य छ ।
परिवारै खटिँदा कम्तीमा मासिक ५ लाख रूपैयाँ कमाइ गर्दै आएको यी दाजुभाइ सगर्व बताउँछन् । सरकारले बजार व्यवस्थापन राम्रो गरिदिए मेहनत कत्ति खेर नजाने उनीहरुको भनाइ छ । सबै कृषकलाई प्रोत्साहित गरेर सहुलियत दरमा ऋण लगानी गर्न सके पोल्ट्री क्षेत्रमा धेरै युवाको आकर्षण बढ्न सक्ने उनीहरु बताउँछन् ।
जति धेरै मेहनत ग¥यो उति धेरै कमाइ हुने भएकाले यी दाजुभाइ पोल्ट्री व्यवसायमा चम्किएका हुन् । आफ्नो व्यवसाय वृद्धि हुँदै गएकाले उनीहरु निकै उत्साहित छन् । करोडौँ रूपैयाँको स्वआर्जनका पछाडि परिवारकै निरन्तर लगाव, आत्मविश्वास र लगानीको प्रतिफल रहेको खनाल दाजुभाइ बताउँछन् ।

Comments

धेरै पटक हेरिएको

Chitwan Post Epaper

सम्पर्क

चितवन पोष्ट, दैनिक समाचार पत्र
नारायणगढ, चितवन

फोनः ०५६-५७१४९२

फ्याक्स:  ०५६-५७११२०

इमेल: postchitwan@gmail.com

Chitwan Post Epaper
AmazingCounters.com

© २०१०-२०१८ चितवन पोष्ट - दैनिक समाचारपत्र | सर्वाधिकार सुरक्षित. वेब तथा होस्टिङ सेवा: नमस्टेक

To Top