Chitwan Post Epaper
प्रमुख समाचार

धनी विद्यालयको गरिब नतिजा 

–किशोर खनाल

भरतपुर । २०७४ सालको एसईईमा चितवनका धनी सामुदायिक विद्यालयहरुकै नतिजा कमजोर आएको छ ।
आयस्रोत बढी भएका चितवन मावि भरतपुर, बालकुमारी कन्या मावि नारायणगढ, बालकुमारी मावि नारायणगढ, भरतपुर मावि भरतपुर, अरूणोदय मावि गीतानगर, नेपाल मावि रत्ननगर, वीरेन्द्र आदर्श मावि राप्ती, खैरहनी मावि खैरहनीको एसईई नतिजा कमजोर आएको हो ।
आयस्रोत मध्यम भएका पञ्चकन्या मावि जयमंगला, प्रभात मावि शुक्रनगर, बुद्धशान्ति मावि पिप्ले, आदर्श मावि दिव्यनगर, गुञ्जनगर मावि गुञ्जनगर, जानकी मावि मेघौलीको पनि कमजोर नतिजा आएको छ ।
‘जुन विद्यालयको आयस्रोत बढी छ उनीहरुको नतिजा कमजोर देखियो’, शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख दीपेन्द्र सुवेदीले भने । उनका अनुसार आम्दानी बढी भएका विद्यालयले शैक्षिक गुणस्तर वृद्धिमा लगानी गर्नुपर्ने थियो, नतिजाले त्यस्तो देखाएन ।
चितवनमा सबैभन्दा बढी कमाइ हुने विद्यालय चितवन मावि हो । त्यहाँ कार्यरत शिक्षकहरुलाई अतिरिक्त भत्ताको समेत व्यवस्था गरिएको छ । तर, चितवन माविकै नतिजा कमजोर आएको छ । सामुदायिकतर्फको श्रेणीमा चितवन मावि ३८औँ नम्बरमा परेको छ ।
बालकुमारी कन्या मावि नारायणगढको पनि आम्दानी निकै छ, तर उसको पनि एसईई नतिजा कमजोर छ । नारायणगढकै बालकुमारी माविको आम्दानी पनि कम छैन, तर सामुदायिकतर्फको श्रेणीमा ८७औँ स्थानमा पुगेको छ । आम्दानी राम्रै भएको भरतपुर मावि २५औँ स्थानमा छ ।
विद्यालयको आयस्रोत राम्रो भएको अरूणोदय मावि गीतानगर ६७, नेपाल मावि ४९, वीरेन्द्र आदर्श मावि ६४ र खैरहनी मावि ६२औँ स्थानमा पुगेको छ ।
यसैगरी, मध्यम आयस्रोत भएको पञ्चकन्या मावि जयमंगला ९१, प्रभात मावि शुक्रनगर ९०, बुद्धशान्ति मावि पिप्ले ८४, आदर्श मावि दिव्यनगर ८१, गुञ्जनगर मावि गुञ्जनगर ७२, जानकी मावि मेघौली ६६औँ स्थानमा परेको छ ।
‘यो त धनी स्कुलको गरिब नतिजाजस्तो भयो, विद्यालयको आयस्रोतले आवासीय व्यवस्था गरेर विद्यार्थीहरुलाई निःशुल्क कोचिङ कक्षाहरु पढाउन सक्छन्, त्यो धनी स्कुलबाट भएको पाइएन’, शिक्षा विकास तथा समन्वय इकाइका परीक्षा शाखाका नासु रघुनाथ अधिकारीले भने ।
भरतपुर महानगरका शैक्षिक प्रशासन महाशाखाका शाखा अधिकृत बाबुराम दवाडीले धनी विद्यालयको विद्यालय व्यवस्थापन समितिमा बस्न होडबाजी चल्ने, तर गुणस्तर सुधारमा त्यस्तो कुनै पहलकदमी नहुने बताए । उनले भने, ‘मैले विद्यालयको माइन्यूट हेरेको छु, माइन्यूटमा पूर्वाधार निर्माण गर्ने निर्णय गरिन्छ, शिक्षक राख्ने निर्णय हुन्छ तर गुणस्तर सुधारमा कहिल्यै कुनै निर्णय नै भएको पाइँदैन ।’
बालकुमारी कन्या माविका प्राचार्य हेरम्बकुमार असीमले नतिजा राम्रो नआएको स्वीकार्दै आगामी दिनमा राम्रो गर्ने बताए । चितवन माविका प्राचार्य मुक्तिनाथ लामिछानेले विद्यार्थीको गुणस्तरमा लगानी गर्न कुनै कञ्जुस्याइँ नगरेको बताए । उनले भने, ‘आफ्ना बाबुनानीप्रति अभिभावकको चासो कम भयो ।’ चितवन माविबाट १०४ जनाले एसईई दिएका थिए भने एक जनाको मात्र ३.६ जीपीए आएको थियो ।

उत्कृष्ट १० भित्र (सामुदायिकतर्फ)

१) नारायणी नमुना मावि भरतपुर
२) प्रेमबस्ती मावि प्रेमबस्ती
३) जनजागृति मावि पिठुवा
४) हिमालय मावि चम्पानगर
५) अन्नपूर्ण मावि पार्वतीपुर
६) किरण मावि किरणगञ्ज
७) बैरिया मावि बैरिया
८) आदिकवि भानु मावि नारायणगढ
९) लक्ष्मी मावि लंकू
१०) सरस्वती मावि मधिपुरी

उत्कृष्ट १० भित्र (संस्थागततर्फ)

१) सैनिक आमावि चैनपुर
२) लिटिल फ्लावर स्कुल नारायणगढ
३) पञ्चकन्या विद्या मन्दिर रत्ननगर
४) वाल्मीकि शिक्षा सदन भरतपुर
५) अरोमा इ. स्कुल भरतपुर
६) अर्किड स्कुल भरतपुर
७) सिद्धार्थ मावि नारायणगढ
८) ग्रान्डी आमावि रामपुर
९) स्काइराइडर आमावि रत्ननगर
१०) विद्या विकास आमावि लंकू
(नोट : उक्त श्रेणीमा कम्तीमा ४५ जना विद्यार्थी भएको विद्यालयलाई आधार मानिएको छ)

Comments

धेरै पटक हेरिएको

Chitwan Post Epaper

सम्पर्क

चितवन पोष्ट, दैनिक समाचार पत्र
नारायणगढ, चितवन

फोनः ०५६-५७१४९२

फ्याक्स:  ०५६-५७११२०

इमेल: postchitwan@gmail.com

Chitwan Post Epaper
AmazingCounters.com

© २०१०-२०१८ चितवन पोष्ट - दैनिक समाचारपत्र | सर्वाधिकार सुरक्षित. वेब तथा होस्टिङ सेवा: नमस्टेक

To Top