Chitwan Post Epaper
प्रमुख समाचार

जिससको देखिने भूमिका : विकास निर्माणको सूक्ष्म अनुगमन

भरतपुर । जिल्ला समन्वय समिति चितवनले सातवटा स्थानीय तहमा भएका विकास निर्माणका कामहरुको मंगलबारदेखि अनुगमन थालेको छ । समन्वय समितिका प्रमुख, उपप्रमुख, सदस्यहरु, राजनीतिक दलका प्रमुख र प्रतिनिधिहरु तथा प्राविधिकहरुको भिन्दाभिन्दै टोली बनाइ अनुगमन भएको हो ।
मंगलबार राप्ती, खैरहनी र माडी नगरपालिकामा यस आर्थिक वर्षमा भए गरेका विकास आयोजनाको अनुगमन भएको जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले बताए ।
‘प्राविधिकसहित हामीले अनुगमन गरेका छौँ, प्रमुख डल्लाकोटीले भने, ‘कुनै काममा सुधार आवश्यक भए प्राविधिकले प्रतिवेदन तयार पारेपछि सुझाव दिइने छ ।’ साथै, उनले धेरैजसो आयोजनाका कामहरु निकै सन्तोषजनक रहेको प्रतिक्रिया दिए ।
कामहरु गुणस्तरीय भए÷नभएको, जनसहभागितामा विकासका काम भए/नभएको तथा जनताहरु केकति लाभान्वित भए आदिका बारेमा पनि आफूहरुले अनुगमन गरेको उनले बताए । आज बुधबार भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका र कालिका नगरपालिकाका विकास गतिविधि अनुगमन हुने प्रमुख डल्लाकोटीले जानकारी दिए ।
अनुगमनका क्रममा राप्ती नगरपालिकाअन्तर्गत राप्ती नदीको बाढीले निर्माणाधीन स्पर (बाँध) भत्काएको अवस्थामा देखिएको अनुगमन टोलीका सदस्य एवं नेपाल कम्युनिस्ट पार्टीका जिल्ला नेता एवम् साविक नेकपा एमाले जिल्ला कार्यवाहक अध्यक्ष तेजेन्द्रबहादुर खड्काले बताए ।
साथै, टोलीले उक्त स्पर समयमै नबनाएमा गाउँमा बाढी पस्ने सम्भावना रहेको भन्दै जिल्ला प्रशासन र नगरपालिकाको ध्यानाकर्षण गराएको छ । टोलीले राप्ती नपा ६, प्यारीढापमा वन्यजन्तु र बस्तीबीचको द्वन्द्व कम गराउन बनेको कंक्रिट पर्खाल, पानीस्वाराढापको पीपल पार्क, वडा नम्बर ४ को भवनको पनि अनुगमन गरेको टोली सदस्य कांग्रेस जिल्ला सभापति जितनारायण श्रेष्ठले बताए ।
राप्ती नपाकी मेयर प्रभा बरालले विकास निर्माणको काम अझै बाँकी रहेको भन्दै अनुगमनबाट सुधार हुनुपर्ने प्रतिवेदन आए सुधार गरिने बताइन् । जिसस उपप्रमुख मुनाकुमारी श्रेष्ठसहितको टोलीले माडी नगरपालिकामा भएको विकास गतिविधिबारे अनुगमन गरेको छ । माडीका विभिन्न खोलामा बनेका भौतिक संरचनाको अनुगमन भएको छ ।
जनप्रतिनिधिबाटै काम र अनुगमन
स्थानीय तहको निर्वाचनपछि प्राप्त बजेटका आधारमा स्थानीय तहले विकास निर्माणका कामलाई प्राथमिकता दिइरहेका छन् । जनप्रतिनिधि आफैँ मुख्य भूमिकामा रहने हुनाले विकासका काममा उनीहरु बढी जवाफदेही हुने गर्छन् । उनीहरु सतर्क र जवाफदेही हुँदा पनि काममा हुन सक्ने त्रुटिलाई न्यूनीकरण गर्न वा हुनै नदिन जिल्लास्थित समन्वय समितिले अनुगमन गर्ने अधिकार राख्दछ ।
सोही अधिकारको प्रयोग गर्दै प्राविधिकसहितको टोली लिएर समन्वय समितिका प्रमुख, उपप्रमुख र सदस्यहरु अनुगमनमा निस्किएका हुन् । आयोजनाको काम सकिने बेलामा मात्रै भन्दा पनि सुरू भएदेखि नै जिससले निरन्तर अनुगमन गरेर सचेत गराउनुपर्ने देखिन्छ ।

Comments

धेरै पटक हेरिएको

Chitwan Post Epaper

सम्पर्क

चितवन पोष्ट, दैनिक समाचार पत्र
नारायणगढ, चितवन

फोनः ०५६-५७१४९२

फ्याक्स:  ०५६-५७११२०

इमेल: postchitwan@gmail.com

Chitwan Post Epaper
AmazingCounters.com

© २०१०-२०१८ चितवन पोष्ट - दैनिक समाचारपत्र | सर्वाधिकार सुरक्षित. वेब तथा होस्टिङ सेवा: नमस्टेक

To Top