Chitwan Post Epaper
प्रमुख समाचार

मृत्यु जितेर समाजको अगुवाइ

– तुलमान गुरूङ
मेघौली । १५ वर्षअघि भरतपुुर महानगरपालिका वडा नं २७ की सुकमाया महतो (मीठु) हात्तीको आक्रमणमा परिन् । राति घरमा सुतिरहेकै अवस्थामा घर भत्काएर आक्रमण गर्दा गम्भीर घाइते भइन् । ‘राति खाना खाएर सुतेको मान्छे ब्युँझिँदा अस्पतालको शैयामा पो रहेछु,’ त्यतिबेलाको घटना सुनाइन् ।
जंगली हात्तीले उनको टाउकोमा कुल्चिँदा टाउकाको भाग पूरै फुटेको थियो । त्यतिबेला उनको अवस्था देख्नेहरूले माया नै मारिसकेका थिए । गम्भीर चोट लागेकी मीठुको अहिले पनि अनुहारमा जिन्दगीभर ननिकाल्ने गरी स्टील राखिएको छ । च्यूँडो पनि फुटेकोले चिकित्सकले ढाडको हड्डी काटेर राखिदिए र च्यूँडोको आकार निकालिदिए । दाँत पूरै नक्कली राखिएको छ । अहिले पनि उनको दाँत पूरै हल्लिन्छ ।
‘धेरैले मरिसक्यो भन्थे रे,’ उनी सम्झिन्छिन्, ‘खै भाग्य बलियो भएरै त होला अहिले राम्रै छु क्यारे ।’ त्यतिबेला उपचारमा ७ लाख रूपैयाँ खर्च भएको उनले सुनाइन् । एकपटकको उपचारले मात्रै निको नभएकोले दुईपटक लामो समयसम्म उपचार गरेपछि बल्ल उनी निको भएकी हुन् ।
उपचारपछि पनि एक महिनासम्म उनले आफ्नो सुरै गुमाएकी थिइन् । उनी भन्छिन्, ‘त्यतिबेलाको अवस्था देख्दा मानसिक सन्तुलन गुम्यो भन्थे रे । तर, पछि ठीक भयो ।’ तर, अनुहार पूरै फुटेर उपचार गरेको हुँदा उनलाई कडा अर्थात् धेरै चपाउनुपर्ने खालका खानेकुरा खान भने समस्या छ ।
अहिले पनि देब्रे बंगारामा चपाएको खानेकुराको स्वादै थाह पाउँदिनन् उनी । भन्छिन्, ‘देब्रे बंगरातिर पर्ने खानेकुराको त स्वादै थाह पाउँदिनँ ।’ झोलिलो पदार्थ र नरम खालका खानेकुरा खाएर आफ्नो काममा निस्कन्छिन् उनी । त्यतिबेला वन्यजन्तुपीडित बनेकी उनै मीठु महतो अहिले गाउँको अगुवा भएर काम गरिरहेकी छिन् ।
यति हुँदा पनि राज्यपक्षबाट कुनै क्षतिपूर्तिवापतको सहयोग नपाएको उनले बताइन् । ‘अहिलेसम्म धेरैले घटना सम्झाउने काममात्रै गरे,’ उनी भन्छिन्, ‘सहयोग भने कहीँबाट पनि आएन ।’ हालसम्म पनि उनी त्यतिबेलाको घटनाको नालीबेली लगाउन बाध्य छिन् । ‘जो पनि आउँछ, यही कुरा सोध्छ,’ उनी भन्छिन्, ‘कहिलेकाहीँ त बताउँदा बताउँदा पनि दिक्क लाग्छ ।’ अहिले उनी जनज्योति समूह मेघौली र हरियाली टोल विकास संस्था मेघौलीकी अध्यक्ष हुन् । राधाकृष्ण मध्यवर्ती सामुदायिक वनको पनि उनी सदस्य भएर काम गरिरहेकी छिन् । हिजो वन्यजन्तुबाट प्रताडित हुन पुगेकी उनी अहिले आफैँ अगुवाइ गरेर सामाजिक रूपान्तरणमा लागेकी छिन् । उनको काम देखेर छिमेकीसमेत दंग छन् ।
विभिन्न सामाजिक संघसंस्थामा सक्रिय रहेकी उनी त्यही वन्यजन्तु संरक्षणमा जुटेकी छिन् । ‘त्यही वन्यजन्तुलाई संरक्षण गरेर पर्यटक भिœयाउन सके पर्यटन व्यवसाय राम्रो हुन्छ । आर्थिकरूपमा पनि सक्षम बन्न सक्छौँ,’ उनी भन्छिन्, ‘बरू वन्यजन्तुबाट आफू कसरी सुरक्षित रहने भनेर सोच्नुपर्नेरहेछ ।’
श्रीमान् रोजगारको लागि विदेश गएका छन् । घरमा एक छोरा र एक छोरी छन् । घरपरिवार चलाएर बचेको समय उनले यस्तैयस्तै सामाजिक कार्यमा खर्चिँदै आएकी छिन् । आफू पनि सामाजिक कार्यमा लागेर अरूलाई समेत उत्प्रेरणा जगाइरहेकी छिन् । जो समाजको उदाहरणीय पात्र बन्न सफल भएकी छिन् ।

Comments

धेरै पटक हेरिएको

Chitwan Post Epaper

सम्पर्क

चितवन पोष्ट, दैनिक समाचार पत्र
नारायणगढ, चितवन

फोनः ०५६-५७१४९२

फ्याक्स:  ०५६-५७११२०

इमेल: postchitwan@gmail.com

Chitwan Post Epaper
AmazingCounters.com

© २०१०-२०१८ चितवन पोष्ट - दैनिक समाचारपत्र | सर्वाधिकार सुरक्षित. वेब तथा होस्टिङ सेवा: नमस्टेक

To Top