Chitwan Post Epaper
प्रमुख समाचार

रत्ननगरको चारलेन सडक निर्माण त्रुटिपूर्ण

–होमनाथ सापकोटा
रत्ननगर । रत्ननगरमा निर्माणाधीन अवस्थामा रहेको चारलेन सडक निर्माण त्रुटिपूर्ण देखिएको छ । सडकको डिजाइन गर्दा गल्ती भएका कारण निर्माण कार्य त्रुटिपूर्ण देखिएको हो ।
सडकको निर्माण कार्य त्रुटिपूर्ण भएसँगै सडक गुणस्तरीय बन्न सकेको छैन । निर्माणका क्रममा कमसल सामग्री प्रयोग गरिएका कारण निर्माण सम्पन्न नहुँदै सडक भत्किन थालेको छ । टाँडीचोकमा सडकको केन्द्रबिन्दु फरक परेका कारण विवादसमेत उत्पन्न भएको छ । केन्द्रबिन्दु दक्षिणतर्फ केही सरेका कारण सो भेगमा पर्ने घरलाई सडकले छुने अवस्था आएपछि स्थानीयहरुले त्यसको विरोध गरेका छन् ।
चारलेन सडकको सर्भिसरोड र ग्रिनेरी निर्माण गर्दा टाँडीचोकमा पुरानो ढलको च्याम्बर पुरिएको छ । नयाँ संरचना बनाउँदा साविकको संरचना भत्काइएको भन्दै स्थानीय रामेश्वर भट्टराईले त्यसको मर्मत निर्माण कम्पनीले गर्नुपर्ने माग गरे । सडक निर्माण कार्य लथालिङ्ग अवस्थामा छ । डिभाइडर भत्किएको छ । मेनरोड र सर्भिसरोडका बीचमा गाडिएका साना पोलहरु ढलेका छन् । निर्माण कार्य सुरू भएको तीन वर्ष बितिसक्दा पनि सो सडक निर्माण सम्पन्न हुन सकेको छैन ।
‘सडक निर्माणमा लापर्बाही गरियो’, टाँडी बजार क्षेत्रमा पर्ने वडा नं २ का वडा अध्यक्ष तिलकराज शर्मा पौडेलले भने, ‘कमसल सामग्रीको प्रयोग गरेका कारण निर्माण कार्य नसकिँदै सडक भत्किन थालेको छ ।’ सडकको डिजाइन गर्दा गल्ती भएका कारण सडक एकनासको बन्न नसकेको उनको भनाइ छ । ‘सडक कहीँ होचो त कहीँ अग्लो छ’, उनले भने, ‘यो कसरी डिजाइन गरिएको हो ?’ सो सडकको दक्षिणतर्फको मेनरोडको कालोपत्रे कहीँ होचो र कहीँ अग्लो छ । ‘सररर बस गुड्न सक्ने अवस्था छैन’, वडा अध्यक्ष पौडेलले भने, ‘सडक निर्माणमा केटाकेटी खेलाइ भयो ।’ बजार सुहाउँदा डिजाइन नभएका कारण सडकको बीचमा निर्माण गरिएको डिभाइडरले दिनहुँ दुर्घटना निम्त्याएको उनको भनाइ छ ।
नेपाल सरकारको राष्ट्रिय योजनाअन्तर्गत रत्ननगरमा २०७२ साल असारबाट सो सडक निर्माण कार्य सुरू गरिएको थियो । श्रेष्ठ कन्स्ट्रक्सन प्रालिले १९ करोड ७० लाखको ठेक्का सम्झौतामा सो सडक निर्माण सुरू गरेको थियो ।
२०७२ साल असारमा सुरू गरेर २०७३ असोजसम्म सडक निर्माण सम्पन्न गर्ने डिभिजन सडक कार्यालय भरतपुरसँग सम्झौता भएको भए पनि निर्माण सुरू भएको तीन वर्ष हुँदासम्म सडक निर्माण सम्पन्न हुन सकेको छैन । तीन वर्षमा निर्माण कम्पनीले डिभाइडरसहित दुवैतर्फ मेनरोड निर्माण गरेको छ ।
सडकको उत्तरतर्फ सर्भिसरोड, ग्रिनरी र फुटपाथ निर्माणको काम अन्तिम चरणमा पुगेको र दक्षिणतर्फ यो कार्य भर्खरैमात्र सुरू गरिएको कम्पनीका कर्मचारी मुकेश तामाङले बताए । विद्युत् प्राधिकरणले बिजुलीको पोल सार्न ढिलाइ गरेका कारण दक्षिणतर्फ सर्भिसरोड, ग्रिनरी र फुटपाथ निर्माण गर्न समस्या भएको उनको भनाइ छ ।
सडक निर्माणमा लापर्बाही भएको गुनासो नगरवासीहरुबाट आएपछि रत्ननगर नगरपालिकाका मेयर नारायण वन र उपमेयर विमला दुवाडीले डिभिजन सडक कार्यालय भरतपुरका इन्जिनियरसँग सडक निर्माणको अवस्थाका बारेमा जानकारी लिएका छन् ।
नगरपालिकाको कार्यालयमा छलफल कार्यक्रम गरी टाँडी बजारवासीसहित डिभिजन कार्यालयका इन्जिनियरसँग सडकको अवस्थाका बारेमा जानकारी लिइएको मेयर वनले बताए । उनले अहिलेसम्म सडक निर्माणमा भएको कमजोरीलाई सच्याएर गुणस्तरीय सडक निर्माणमा ध्यान दिन डिभिजन सडक कार्यालय भरतपुरलाई आग्रह गरे । उनले केन्द्रबिन्दु कायम भएको विषयमा देखिएको विवाद तत्काल समाधान गर्ने गरी प्रक्रिया अगाडि बढाउन निर्देशन दिए ।
कार्यक्रममा उपमेयर विमला दुवाडीले निर्माण कम्पनीले सडक निर्माणमा लापर्बाही गर्दा पनि डिभिजन कार्यालय चुप लागेर बस्नु लज्जास्पद भएको बताइन् । सडक निर्माणमा के–के गल्ती भएको छ, त्यसलाई हेरेर पुनः सडक निर्माण गर्न उनले आग्रह गरिन् ।
रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीले सुरूवाती चरणदेखि सडक निर्माणबारे सचेत गराउँदा पनि निर्माण कम्पनीले लापर्बाही गरेको आरोप लगाए । डिभिजन सडक कार्यालय भरतपुरका इन्जिनियर अरूणकुमार कर्णले खानेपानीको पाइप र बिजुलीको पोलका कारण सडक निर्माण समयमै सम्पन्न गर्न नसकिएको जनाए । उनले नापी कार्यालयसँग सहयोग लिएर केन्द्रबिन्दुका विषयमा देखिएको विवाद समाधान गर्ने बताए ।
रत्ननगरको निपनीदेखि पूर्वतर्फ लौरीघोलसम्म साढे दुई किलोमिटर चारलेनको सडक निर्माण गरिँदै छ ।

Comments

धेरै पटक हेरिएको

Chitwan Post Epaper

सम्पर्क

चितवन पोष्ट, दैनिक समाचार पत्र
नारायणगढ, चितवन

फोनः ०५६-५७१४९२

फ्याक्स:  ०५६-५७११२०

इमेल: postchitwan@gmail.com

Chitwan Post Epaper
AmazingCounters.com

© २०१०-२०१८ चितवन पोष्ट - दैनिक समाचारपत्र | सर्वाधिकार सुरक्षित. वेब तथा होस्टिङ सेवा: नमस्टेक

To Top