Chitwan Post Epaper
प्रमुख समाचार

कांग्रेसका चार शीर्ष नेताको भरतपुरमा सम्बोधन

– देशकै ठूलो पार्टी बनाउँछुः देउवा
– पार्टीलाई एकताबद्ध बनाउनुपर्छः कोइराला
– व्यवस्थापन नहुँदा पराजयः पौडेल
– लथालिङ्ग पार्टीले मुकाबिला गर्दैनः सिंह

भरतपुर । नेपाली कांग्रेसका चार शीर्ष नेताले सोमबार भरतपुरमा सम्बोधन गरेका छन् । नेपाली कांग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवा, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंहले भरतपुरका विभिन्न कार्यक्रममा सम्बोधन गरेका हुन् ।
सभापति देउवा र महामन्त्री शशांक कोइरालाले सोमबारबाट भरतपुरमा नेपाल दलित संघले आयोजनामा सुरू भएको प्रदेशस्तरीय दलित प्रतिनिधिहरुका लागि दुई दिने प्रशिक्षण कार्यक्रममा सम्बोधन गरेका हुन् ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भरतपुर विमानस्थलमा र पूर्वमहामन्त्री प्रकाशमान सिंहले प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालको प्रदेश नं ३ को प्राध्यापक भेलामा सम्बोधन गरेका हुन् ।
कांग्रेसका सभापति देउवाले दलित संघको प्रशिक्षणमा सभापतिलाई मात्र गाली गर्ने अन्तर्घातीलाई कारबाही गरेर छोड्ने दाबी गरे । उनले भने, ‘पार्टीलाई एक ढिक्का बनाउनुछ, अन्तर्घातबाट जोगाउनुछ ।’ उनले पार्टी हार्नुको मुख्य कारण नै अन्तर्घात भएको बताए ।
सभापति देउवाले भने, ‘म कांग्रेसलाई अन्तर्घातबाट बचाउन लाग्नेछु, पार्टी हार्नुको मुख्य कारण नै अन्तर्घात हो ।’ उनले विपक्षी दुई पार्टी मिल्नु, आफ्नो पार्टी एक्लै लड्दा पराजय भोग्नुपरेको समेत बताए । ‘सभापतिका कारणले हार्नुपरेको भनिएको छ, आफू जित्न नसक्ने अनि सभापतिलाई दोष दिने ?’, उनको प्रतिप्रश्न थियो ।
उनले २५ सिट कांग्रेसले अन्तर्घातका कारणबाट गुमाउनु परेको बताए । हार्नुको कारण खाली सभापतिलाई मात्र दोष देखाउनु जायज नभएको उनको तर्क थियो । ‘टिकट बाँड्ने काम मैलेमात्र गरेको हो, सबैले मिलेर बाँडेको हो, किन मेरोमात्र दोष देखाइन्छ ?’ उनले भने । पार्टी एक नबनाइ अब नचल्ने उनको दाबी थियो । देउवाले कांग्रेसलाई देशकै ठूलो पार्टी बनाउने आफ्नो चाहना रहेको बताए ।
सोही कार्यक्रममा शशांक कोइरालाले पार्टीलाई एकताबद्ध बनाउनुपर्ने बताए । उनले भने, ‘म जहिले पनि पार्टी एकताको पक्षमा छु । भगवानले के माग्छस् भनेर सोधे म त पार्टी एकता माग्नेछु ।’ एकताबद्ध कांग्रेसको नेतृत्वबिना समृद्ध नेपाल बन्न नसक्ने उनको तर्क थियो ।
उक्त भेलामा कांग्रेस नेता डा. प्रकाशशरण महत, दलित संघका केन्द्रीय संस्थापक अध्यक्ष मानबहादुर विश्वकर्मा, चितवनका जिल्ला सभापति जीतनारायण श्रेष्ठ, केन्द्रीय सदस्य देवेन्द्रराज कँडेललगायतले मन्तव्य दिएका थिए । दलित संघ चितवनकी अध्यक्ष शान्ति परियारको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
यसैगरी कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको राम्रो व्यवस्थापन हुन नसक्दा पराजय भोगेको बताए । हेटौंडामा हुने जिल्ला सभापतिहरुको भेलामा सहभागी हुन काठमाडौँबाट सोमबार भरतपुर विमानस्थल झरेका पौडेलले पार्टीलाई पारदर्शी ढंगले चलाउनुपर्ने बताए । ‘पार्टीलाई अब स्वच्छ राख्नुपर्छ, आन्तरिक लोकतन्त्र सृदृढ गर्नुपर्छ’ नेता पौडेलले भने ।
यसैगरी पूर्वमहामन्त्री प्रकाशमान सिंहले कांग्रेस पार्टी लथालिङ्ग भएको बताए । प्रजातन्त्रवादी प्राध्यापक संघ नेपाल ३ नं प्रदेशस्तरीय प्राध्यापक भेलामा सम्बोधन गर्दै नेता सिंहले भने, ‘लथालिङ्ग कांग्रेस पार्टीले कम्युनिष्टसँग मुकाबिला गर्न सक्दैन । मैले यो कुनै पद पाउन वा लिन यो भनिरहेको छैन ।’
नेता सिंहले कांग्रेसलाई माथि उठाउन सिस्टममा चलाउनुपर्ने बताए । उनले पार्टीलाई वैचारिक तबरले सांगठनिक दृष्टिकोणले हाँक्नुपर्ने बताए । नेता सिंहले भने, ‘जनताको भावनाअनुसार कांग्रेस चल्न नसकेको गएका ३ वटा निर्वाचनले देखाएको छ ।’ नेपालको समृद्धि अभियान घुमिफिरी कांग्रेसमा आउने उनको भनाइ थियो । ‘पार्टीलाई चुस्त दुरुस्त राख्न संस्थागतरुपमा अगाडि बढ्नुपर्छ’ उनले भने, ‘मैले पार्टीको कमजोर पक्ष देखाउँदा मलाई किन आक्षेप लाग्छ, कोही त बोल्न प¥यो नि, नत्र कसरी पार्टी सुध्रन्छ ?’
प्राध्यापकहरुको भेलामा जिल्ला सभापति जीतनारायण श्रेष्ठ, कृषि तथा वनविज्ञान विश्वविद्यालयका प्राडा सूर्यकान्त घिमिरे, वीरेन्द्र क्याम्पसका क्याम्पस प्रमुख गोविन्द सापकोटा, प्रजातन्त्रवादी प्राध्यापक संघका केन्द्रीय महासचिव राजेन्द्र गौतम, संघका पूर्वअध्यक्ष बासुदेव घिमिरेलगायतले मन्तव्य दिएका थिए ।
कार्यक्रममा प्राध्यापकहरु गायत्री श्रेष्ठ, तेजबहादुर केसी, प्राडा मोहनीलाल भूषाल, प्राडा कुलप्रसाद ढुंगाना, रामबाबु घिमिरे, रमेशबाबु ढकाल, भोजराज वाग्ले, जगन्नाथ पण्डित, रमेशबाबु ढकाल, नारायणप्रसाद खनाललाई सम्मान गरिएको थियो ।
कार्यक्रम संघका केन्द्रीय अध्यक्ष जगत तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Comments

धेरै पटक हेरिएको

Chitwan Post Epaper

सम्पर्क

चितवन पोष्ट, दैनिक समाचार पत्र
नारायणगढ, चितवन

फोनः ०५६-५७१४९२

फ्याक्स:  ०५६-५७११२०

इमेल: postchitwan@gmail.com

Chitwan Post Epaper
AmazingCounters.com

© २०१०-२०१८ चितवन पोष्ट - दैनिक समाचारपत्र | सर्वाधिकार सुरक्षित. वेब तथा होस्टिङ सेवा: नमस्टेक

To Top