Chitwan Post Epaper
विचार

आफ्नो कामको गौरव गर्र्नुपर्छ : सुशीला अधिकारी

–शोभा पुडासैनी
सुशीला अधिकारीलाई कुनै समय झोला बोकेर काममा हिँड्दा अनेक आरोप खेप्नुपथ्र्यो, विश्वासको कमी थियो । भन्नेहरुले अनेक कुरा गर्न भ्याए । तर, कामको सम्मान गर्दै अगाडि बढ्दै जाँदा अहिले विगतमा आलोचना गर्नेहरुले सम्मान गर्न थालेका छन् ।
बिमा अभिकर्तालाई विगतमा दलाल, ठग भन्नेहरु अहिले जीवन सुरक्षाको जग बसालिदिने अभियानकर्ता भन्ने गर्छन् । पहिलो अरुलाई खोज्दै हिँड्नु परे पनि अहिले धेरै आफूलार्ई खोज्दै आउने गरेको देख्दा खुसी लागेको छ सुशीलालाई ।
विसं २०४८ सालमा एसएलसी पास भएलगत्तै बुहारी बनेकी सुशीलाको त्यसमाथिको अध्ययन निरन्तर हुन सकेन । घरासयी काममै समय बित्यो । श्रीमान्को काम काठमाडौँमा भएका कारण विवाहलगत्तै उनी काठमाडौँ पुगिन् ।
सानै उमेरदेखि नयाँ–नयाँ काम गर्न रूचि राख्ने उनले विवाहपश्चात् हात खाली राखेर बस्न सकिनन् । कलेजस्तरको अध्ययन गर्न नपाए पनि उनले घरमा पसल चलाउने सोच बनाइन् । काठमाडौँको सिनामंगलमा सानो कस्मेटिक पसल सञ्चालन गरेर जीविकोपार्जन गरिन् ।
त्यसपछि नजिकै रहेको उपहार बहुउद्देश्यीय सहकारी संस्थामा महिनाको २५ सय रुपैयाँ पाउने गरी बचत संकलकको रुपमा काम गर्न सुरू गरिन् । श्रीमान् सरकारी विद्यालयको गणित शिक्षक भएकाले आर्थिकरुपमा त्यति संकट थिएन । तर, काममा व्यस्त हुनसके राम्रो हुने भएकाले उनले आफू बिहान–बेलुका पसल र दिउँसोको केही समय सहकारीमा बचत संकलकको रुपमा काममा लागिन् ।
यस्तैमा, श्रीमान्लाई डिभी परेर अमेरिका जाने अवसर आयो । तत्कालीन अवस्थामा लिएको परीक्षामा पहिलो नम्बरमा श्रीमान्को नाम निस्किएको र अमेरिका जाने निश्चित भएकाले पढाइरहेको विद्यालयमा स्थायी शिक्षकबाट राजीनामा दिएर अमेरिका जाने तयारीमा लागे । श्रीमान् अमेरिका जाने भएपछि उनले पनि सहकारीको जागिर र चलाइरहेको पसलसमेत छोडिन् ।
तर, दुर्भाग्य ! त्यो लटमा नाम निक्लिएका कोही कसैले अमेरिका जान पाएनन् । एकातिर श्रीमान्को स्थायी जागिर छाडिएको र आफूले गर्दै आएका सबै काम पनि छाडिएकाले केही संकटको अवस्था सृजना भयो । त्यसपछि आफ्नै गाउँ चितवन फर्किइन् ।
विसं ०५८ सालमा चितवन फर्किएपछि श्रीमान्ले पश्चिमचितवनको हिमालय माविमा शिक्षकका रूपमा काम गर्न थाले । काठमाडौँमा चलाइएको पसल चितवनको साविकको पटिहानी गाविस ५ पकौडी बजारमा सुरू गरिन् ।
दुई छोरालाई निजी विद्यालयमा अध्ययन गराउँदै आफनो काममा व्यस्त रहेर काम गर्दै जाँदा द्वन्द्वकालको समयमा अनेकन समस्या आइलागेपछि विकल्प खोज्न बाध्य भइन् ।
श्रीमान्लाई माओवादी भएको आरोपमा अनेकन दुःख दिने संकेत पाएपछि विदेश जाने सोच आएर तत्कालै साउदी अरब जानुपरेको तीतो अनुभव उनीसँग छ । श्रीमान् विदेश गएको कुरा श्रीमान् भारतको बाटो हुँदै साउदी अरब पुगेर काम सुरू गरेपछिमात्र विद्यालयलाई पत्र दिन जानुपरेको अवस्था अहिले पनि बिर्सन नसकेको उनी बताउँछिन् । जेजसरी भए पनि विदेशमा सहज काम र सफलता भएका कारण पारिवारिक व्यवस्थापनमा सहजता भएकाले केही राहत भने भएको थियो ।
०६४ सालबाट २ छोरासहित भरतपुर बस्न सुरू गरेपछि गाउँको पसल छोड्न बाध्य हुनुप¥यो । भरतपुरमै पसल सुरू गर्न प्रयास गर्दा सफल नभएपछि व्युटीपार्लरको केही काम जानेकोले अरु कसैको पार्लरमा मासिक २२ सय रुपैयाँमा काम गर्न बाध्य भइन् ।
काम गर्दै जाँदा एक दिन ढिला पुग्दा पार्लर सञ्चालकले किन ढिला आएको भनी कुरै नबुझी गाली गरेका कारण उनले त्यो जागिर पनि छोडिन् ।
आफू बसेकै घरमा आफूले जानेको सीप व्युटीपार्लरको काम उपयोग गर्न थालिन् । एउटा बिमा कम्पनीमा अभिकर्ताको तालिम खुलेको जानकारी पाएपछि उनले तालिम लिइन् ।
तालिम लिएपश्चात् एक हप्तासम्म बिमा गर्ने व्यक्ति खोज्नै नसकेकोले यसबाट पनि सफलता प्राप्त हुँदैन कि भन्ने उनलाई लागेको थियो । तर, चिनजानका साथीले संयोगवश आफ्नो बच्चाको बिमा गर्ने वातावरण बनाइदिएका कारण उनलाई थप हौसला मिल्यो । आजसम्म पनि बिमामा पाएको सफलताको जस तिनै साथीलाई दिने गर्छिन् उनी । तत्कालीन अवस्थामा बिमाप्रति नकारात्मक धारणा भएका कारण जोकोहीलाई बिमाका बारेमा चित्त बुझाउन कठिन थियो । नेटवर्क व्यापार हाबी भएको समयमा बिमालाई पनि त्यस्तै व्यवसाय हो भनेर बुझ्नेहरुको जमात धेरै थियो ।
श्रीमान् विदेशमा भएको एक महिला न दिन न रात भनी बिमा गर्नेहरुको खोजीमा हिँड्दा पाएका दुःखकष्टका भोगाइ अनेक छन् । साइकलमा घामपानी नभनी चितवन र गैँडाकोटसम्म पुगेर व्यक्ति खोजी बिमा गराएका विगतका दिन उनलाई स्मरणबाट छुटेको छैन ।
बिमा गरौँभन्दा चिनेजानेका पढेलेखेका मानिसहरुको रुचि नभएको समयमा त्यस्ता मानिसलाई कुरा बुझाएर बिमा गराइनु कठिनको समय थियो । दुःखलाई बिर्सेर, धैर्यतालाई कायम राखेर काम गर्दा सफल भइन्छ भन्ने अठोटका साथ उनले काम गर्न नछाडेको बताउँछिन् ।
अहिले नेपाल लाईफ इस्योेरेन्स कम्पनी नारायणगढ शाखामा रहेका अभिकर्तामध्ये उत्कृष्ट अभिकर्ताको रुपमा आफ्नो पहिचान बनाएकी सुशीला अधिकारी आफ्नो कामलाई जहिले पनि गर्व गरेकै कारण सफल भएको बताउँछिन् । बिमाका अभिकर्ताहरु कहीँ कतै परिचय दिनेक्रममा अझै पनि अभिकर्ता भन्न लजाउने गरेको पाउँदा उनलाई दुःख लाग्छ । यदि कोही व्यक्ति सफल हुनु छ भने आफ्नो कामलाई सबैले गर्व गर्न सक्नुपर्ने उनको धारणा छ ।
बिमामै दुःख गरेर अहिले आफ्ना दुई छोरालाई इन्जिनियरिङ लेभलको अध्ययन पूरा गराएकी छन् । श्रीमान्ले विदेशमा १० वर्ष बिताएका छन् । २३ वर्ष अगाडिदेखि डेराको जीवन सुरू भएर अहिलेसम्म पनि डेरामै बितेको छ । तर, आफ्ना छोरालाई उनीहरुको रुचिअनुसारको विषय राम्रो कलेजमा पढाउन पाउँदा खुसी लागेको छ ।
भरतपुरमा एउटा घर बनाएर आफ्ना छोराहरुको चाहनाअनुसार थप अध्ययन गराउने लक्ष्य उनको छ । हरेक काममा श्रीमान्को साथ र सहयोगका कारण सफल भएको उनी बताउँछिन् । कयौँपटक आफ्ना छोराहरुले मध्यरातसम्म आफूलाई कुर्दाकुर्दै भोकभोकै भान्छाका टेबलमै निदाएका क्षणले उनको जहिल्यै मन छुने गर्छ ।
विगतमा ससाना कुरामा अल्झिएर काममा समय अभाव देखाउँदै लगनशीलरुपमा नलागेको भए सफलता मिल्ने थिएन । चितवनमा सफल अभिकर्ताहरुको नाम लिनेक्रममा उनको नामसमेत जोडिने गरेको छ । त्यसैमा उनलाई गर्व लाग्छ ।
आफ्नो योग्यता र क्षमतालाई सुहाउँदो काम भएका कारण भविष्यमा पनि यही कामलाई निरन्तरता दिने उनको सोच छ । २०७३ सालमा दोस्रो सफल अभिकर्ता बनेकी उनी ०७४ मा उत्कृष्ट सफल अभिकर्ता बनिन् । अहिले पनि हरेक दिन बिमा गराउने काममै सक्रिय रहेकी उनले जीवन सुरक्षाका लागि गर्नुपर्ने बिमाका विषयमा अझै पनि नागरिकमा सचेतना कम भएको बताउँछिन् । हरेक गाउँगाउँमा अभिकर्ताको तालिम दिएर हरेकलाई जीवन बिमाको विषयमा जानकारी गराई आमनागरिकको सुरक्षित जीवन बिमा गराउन सक्नुपर्ने उनको धारणा छ ।

Comments

धेरै पटक हेरिएको

Chitwan Post Epaper

सम्पर्क

चितवन पोष्ट, दैनिक समाचार पत्र
नारायणगढ, चितवन

फोनः ०५६-५७१४९२

फ्याक्स:  ०५६-५७११२०

इमेल: postchitwan@gmail.com

Chitwan Post Epaper
AmazingCounters.com

© २०१०-२०१८ चितवन पोष्ट - दैनिक समाचारपत्र | सर्वाधिकार सुरक्षित. वेब तथा होस्टिङ सेवा: नमस्टेक

To Top