Chitwan Post Epaper
विचार

पत्रकारिताको अभिभावक गुमाउँदा…

–किशोर खनाल
khanalkishor4@gmail.com

२०६३ साल फागुन १ गते पहिलोपटक चितवन पोष्टको कार्यालयमा प्रवेश गरेँ । त्यतिबेला चितवन पोष्टको कार्यालय नारागणगढ बजारको मेनरोडस्थित लायन्सचोकनजिकै थियो । दोस्रो तलामा रहेको यस कार्यालय जाँदा तल भ¥याङमा चितवन पोष्ट जाने बाटो भनेर संकेत चिन्ह राखिएको थियो ।
म त्यही भ¥याङको संकेत चिन्ह हेर्दै माथि उक्लेँ । कार्यालयको ढोकानजिकै चितवन पोष्ट पत्रिकाका सम्पादक धर्मराज अर्याल कुर्सीमा बसिरहनुभएको थियो । मैले नमस्कार भनेँ । उहाँ नै सम्पादक भन्ने मलाई पहिल्यै थाहा भएको थियो, तर उहाँले मलाई चिन्नुभएको रहेनछ । उहाँले नमस्कार भन्दै मैले चिन्न सकिनँ नि भन्नुभयो ।
म वर्गीकृत पत्रिकाको किशोर खनाल भनेपछि उहाँले भन्नुभयो, ‘ए, तपाईं आउनुहुन्छ भनेर मेरो कान्छो छोरा (निर्मल अर्याल)ले भनेको थियो । तपाईंको समाचार मैले यसअघि वर्गीकृत राष्ट्रिय दैनिकमा पढेको छु । तपाईंलाई आजै चिने पनि तपाईंको समाचारलाई मैले यसअघि धेरैपटक चिनेको छु । राम्रो लेख्नुहुन्छ भन्ने मलाई थाहा छ । तपाइँ पास हुनुभयो, आजैबाट काम गर्नू ।’
उहाँले यति भनेपछि हामीबीच केही कुराकानी भयो । उहाँले घरपरिवारका बारेमा सोध्नुभयो । मैले उहाँलाई भनेँ, ‘म रातिको समयबाहेक चितवन पोष्टमा समय दिन सक्दिनँ, म नाइट डेस्क मात्र हेर्नसक्छु ।’ उहाँले भन्नुभयो, ‘हुन्छ, तपाईंले वर्गीकृतमा नाइटमा गर्नुभएको रहेछ, यहाँ पनि नाइटमा गर्नू ।’ त्यतिबेला दिउँसोको समय मैले बोर्डिङ स्कुलमा अध्यापन गरिरहेको थिएँ ।
उहाँले केहीबेर कुराकानी गरेपछि भन्नुभयो, ‘आज १ गते हो, दिन पनि राम्रो प¥यो, म तपाईंलाई आजै नियुक्तिपत्र दिन्छु ।’ कस्तो संयोग ! मैले चितवन पोष्टमा नै पहिलोपटक कामको पहिलो दिनमै नियुक्तिपत्र पाएँ । त्यसअघि मैले काम गरेको पत्रिकामा नियुक्तिपत्र पाएको थिइनँ ।
उहाँले एउटा कम्प्युटर पेपर टेबुलको बक्सबाट निकालेर नियुक्तिपत्रमा हातैले लेख्नुभयो र मलाई दिँदै भन्नुभयो, ‘अहिले यही नियुक्तिपत्र राखिराख्नू, पछि लेटर प्याडमा कम्प्युटर टाइप गरेर उपलब्ध गराऊँला ।’ गएको दिन नियुक्तिपत्र पाएँ । उहाँले हातमा दिएपछि पढ्नू भन्नुभयो ।
नियुक्तिपत्रमा लेखिएको थियो–
श्री किशोर खनालज्यू,
तपाईंलाई फागुन १ गतेदेखि चितवन पोष्टको समाचार कक्ष (रात्रि डेस्क)मा नियुक्त गरिएको छ । कामको जिम्मेवारी : बेलुका ६ बजेबाट पत्रिका फाइनल नभएसम्म (पार्ट टाइम) । तलब : मासिक २ हजार ।
त्यो नियुक्तिपत्रमा मेरो कुनै तह थिएन । मैले नियुक्तिपत्र लिएपछि केही जिज्ञासा राख्दा उहाँले भन्नुभयो, ‘अरु बाँकी सबै कुरा तपाईंको काम हेरेर मूल्यांकन हुन्छ, अब काम सुरू गर्न थाल्नूस् ।’
उहाँले मसँग बढी कुरा बोल्न चाहनुभएन, पछि थाहा भयो उहाँ कम बोल्नुहुँदो रहेछ । उहाँसँग केही कुराकानी गरेपछि त्यतिबेला मैले बुझिहालेँ– उहाँ कुरामा होइन काममा विश्वास गर्नुहुँदो रहेछ ।
नियुक्तिपत्र लिएपछि चितवनको पहिलो राष्ट्रिय दैनिक चितवन पोष्टमा काम गर्ने अवसर मिलेकोमा मैले गर्व गरेँ । त्यतिबेला यहाँ जिल्लामा रहेका अन्य पत्रिकाले पार्ट टाइम काम गर्नेलाई मासिक २ हजारकै हाराहारीमा तलब दिन्छन् भन्ने मैले सुनेको थिएँ । हिसाब नै गर्ने हो भने मैले काम गरिरहेको दैनिकमा मासिक २ हजार पनि हातमा पर्थेन, त्यसैले पनि चितवन पोष्ट दैनिकको मासिक २ हजार तलबलाई सहर्ष स्वीकार गर्दै काममा जोतिन थालेँ । खर्च गर्ने मेरो बलियो आड बोर्डिङको तलब थियो ।
दिउँसो बोर्डिङ र बेलुका चितवन पोष्ट, मेरो दिनचर्या यसरी नै बित्न थाल्यो । त्यतिबेला राति लामो समयसम्म काम गर्नुपर्ने अवस्था थियो । समाचारका स्रोतसाधन कम थिए । जनशक्ति पनि ज्यादै कम थियो । रातभरि बसेर पत्रिका फाइनल गर्नुपर्ने अवस्था थियो । कुनै दिन रातिको २ बजेसम्म पनि पत्रिका फाइनल हुन्थेन ।
भोलिपल्ट बिहानै सम्पादकले पत्रिका राम्रो भए÷नभएको विषयमा जानकारी गराउनुहुन्थ्यो । कुनै दिन ठूलै गल्ती हुन्थ्यो । उहाँले खुब गाली गर्नुहुन्थ्यो । पत्रिका राम्रो भएको दिन धन्यवाद छ है किशोरजी भन्दै पुरस्कार पनि दिनुहुन्थ्यो ।
एकदिन पत्रिकाको शीर्षकमा क्षमा दिनै नमिल्ने किसिमको गल्ती भयो । भोलिपल्ट अफिसमा बोलाएर उहाँले खुब गाली गर्नुभयो । मेरो आँखाबाट आँसु नै आयो । शौचालयमा गएर आँसु पुछेको त्यो दिन अहिले मेरो मानसपटलमा झल्झली आइरहेको छ । उहाँको त्यतिबेलाको गाली आज मलाई ताली लागिरहेको छ । मेरो गल्तीमा उहाँले दिनुभएको पटकपटकको गाली आज तालीजस्तो भएको छ । उहाँको गालीले नै आज मैले पत्रकारितामा माझिने अवसर पाएँ । उहाँको गालीमा आफूलाई तिख्खर बनाउँदै पत्रकारितामार्फत समाज परिवर्तनमा लाग्ने खुड्किलो पाएँ । आफूलाई समाचारमा निख्खरको ठाउँ पाएँ । भाषामा सरलता ल्याउन सक्ने बाटो भेट्टाएँ । उहाँका दुई शब्दको गालीले आज मलाई लाखौँलाख शब्दको ताली पाएको अनुभव भइरहेको छ ।
उहाँको गालीलाई मैले पचाउन सकेर नै आफूलाई आजसम्म पत्रिकारिताको गोरेटोमा हिँडाइरहेको छु । उहाँको त्यतिबेलाको गालीलाई आज म सलाम दिइरहेको छु ।
बोर्डिङ बिदाको समयमा म रिपोर्टिङमा हिँड्थे । समाचार लेख्थेँ । त्यतिबेलाको रिपोर्टिङ ‘साइकले रिपोर्टिङ’ हो । बिदाको दिन साइकल चढेर मेघौलीदेखि जगतपुरसम्मको रिपोर्टिङमा म दौडेको थिएँ ।
मैले दिउँसै समाचार लेखेर उहाँलाई बुझाउथेँ । कम्प्युटर टाइप गर्न मैले जाने पनि अफिसमा टाइप गर्ने कम्प्युटर पुग्थेन, जसले गर्दा हातैले लेखेर सम्पादकलाई समाचार बुझाउने गर्थें । सुरूमा उहाँले मेरो समाचारमा बाइलाइन दिनुभएन । चितवन पोष्टमा मैले काम गरेको २ महिनापछि मेरो पहिलो बाइलाइन जगतपुरको समाचारमा आएको हो । शीर्षक थियो– ‘जगतपुरका किसान महिला जागे ।’ उहाँले यो समाचारमा मेरो पहिलो बाइलाइन दिनुभयो । म खुसीले पुलकित भएँ ।
त्यतिबेला लायन्सचोकको कार्यालयमा बसेर भन्नुभएको थियो, ‘बाइलाइन आजबाट आउन सुरू भयो, अब पुरस्कार पाउने समाचार पनि लेख्नुहोला ।’ उहाँको यो भनाइले मलाई हौसला बढाउँदै ऊर्जा थप्यो । चितवन पोष्टमा मेरो बाइलाइन आएपछि बल्ल साथीहरुले मलाई बधाई दिन थाले ।
चितवन पोष्टमा मेरो बाइलाइन आएपछि लाग्यो– मेरो उत्तम पत्रकारिता सुरू भयो । मैले चितवन पोष्टमा जानुभन्दाअघि वर्गीकृत राष्ट्रिय दैनिकमा तीन वर्ष काम गरिसकेको थिएँ । त्यहाँ जस्तो समाचारमा पनि बाइलाइन आउँथ्यो । चितवन पोष्टमा सम्पादकले खास समाचारमा मात्र बाइलाइन दिनुहुँदो रहेछ भन्ने लाग्यो र बाइलाइन आउने समाचारको खोजीमा मात्र लाग्न थालेँ । स्कुल बिदा हुनेबित्तिकै ‘साइकले रिपोर्टिङ’मा हिँड्थेँ । जगतपुरको समाचारपछि मेरो समाचारमा लगातार बाइलाइन आउन थाल्यो । रात्रि डेस्कमा समेत काम गर्ने भएकाले मेरो समाचार कम हुन्थ्यो । तर, लेख्यो कि बाइलाइन हुन्थ्यो ।
काम गरेको दुई वर्षपछि मैले सम्पादकबाट पुरस्कार पाउन थालेँ । पहिलो पुरस्कार सायद २०६६ साल चैततिर हुनुपर्छ, मिति अहिले भुलेँ । उहाँले मलाई अहिले ५ रूपैयाँ पर्ने त्यतिबेला २ रूपैयाँमा पाइने कलम दिनुभएको थियो । त्यतिबेला भन्नुभएको थियो, ‘पुरस्कार पिपलगेडी भए पनि ठूलो मान्नुपर्छ र हुन्छ ।’ मेरो लागि त्यो बेलाको कलमे पुरस्कार पछिल्लो समय एक हजारसम्म पुगेको थियो ।
आज चितवन पोष्टमा समाचार लेख्न थालेको १२ वर्ष भयो, सम्पादकसँगका गहिरो सामीप्यता अब उहाँको निधनसँग छुटेको छ । उहाँसँग गरेको कुराकानीमात्र सम्झनामा ताजा छ । उहाँले मेरो कलम तिखार्न ठूलो भूमिका खेल्नुभयो । मलाई पत्रकारितामा बामे सार्दै डोहो¥याउनुभएको सम्पादकलाई गुमाउँदा थप पीडाको महसुस भएको छ । मैले पत्रकारिताको अभिभावक गुमाएको छु ।
पछिल्लो समय मैले स्कुल छोडेर पूरा समय पत्रकारितामा लगाएँ । त्यसपछि उहाँमा आएको खुसी म शब्दमा व्यक्त गर्नै सक्दिनँ । अरु कुनै रोजगारीका अवसरले मलाई तानेन । उहाँको मृदुभाषी बोली र नम्र व्यवहारले मलाई पत्रकारितामा ऊर्जा थप्यो ।
पछिल्लो समय मैले फिल्ड पत्रकारितामा पाइला टेकेँ । त्यसपछि थुप्रैपटक म सम्पादकबाट सम्मानित हुने अवसर मिल्यो । थुप्रैपटक सँगै खाजा खाने अवसर जुट्यो । उहाँ रमाइलो गरेर भन्नुहुन्थ्यो, ‘सम्पादकसँग बसेर यत्रो ठूलो होटलमा खाजा खानु भनेको चानचुने कुरो होइन, अरुले यो अवसर पाएनन् तपाईंले पाउनुभयो ।’ मैले पनि उहाँको कुरालाई हाँसेर समर्थन गरेर भन्थेँ, ‘हो सर !’
म पनि कम बोल्ने, सम्पादक पनि कम बोल्ने जसले गर्दा हाम्रो एक घन्टाको बसाइँमा १०० शब्द पनि कुरा हुन्थेनन् होला । पछिल्लो समय जागृतप्रसाद भेटवालको निधनको एंकर समाचारमा सम्पादकले मलाई एक हजार रूपैयाँ पुरस्कार दिनुभएको थियो । पुरस्कार दिँदै त्यतिबेला भन्नुभएको थियो, ‘यो फ्ल्यासमा ल्याउन जरूरी छैन ।’
त्योभन्दा अगाडि ३ पटक समाचार राम्रो लागेर मलाई ५०० रूपैयाँको दरले पुरस्कार दिनुभएको थियो । थुप्रै डायरी र पेन उहाँले पुरस्कार दिनुभएको थियो । पुरस्कार सामान्य थियो होला, तर एउटा रिपोर्टरमाथि सम्पादकले खेल्नुपर्ने भूमिका ठूलो थियो । उहाँको पुरस्कारले मलाई थप हौसला मिलेको थियो । पुरस्कारले मलाई पटकपटक उत्कृष्ट समाचार लेख्न प्रेरित गरेको थियो ।
असीमित पीडा दिएर उहाँ अहिले अस्ताउनुभएको छ । अब मसँग पीडालाई मनभित्र गुम्साएर अघि बढ्नुको कुनै विकल्प छैन । उहाँले सिकाउनुभएको पत्रकारिताको दियोलाई मैले अझ बढी चम्काउनुछ । उहाँले कोर्नुभएको पत्रकारिताको गोरेटोलाई अझ बढी फराकिलो पार्नुछ ।
आखिर सबैजना एकचोटि जानु नै छ । सम्पादक–वियोगको पीडा लुकाउँदै अघि बढ्नु नै छ । उहाँसँग अझ धेरै सिक्नुथियो, मैले उहाँबाट सिक्ने कुरामा अब विराम लागेको छ । उहाँको भौतिक शरीर गए पनि उहाँले मलाई दिनुभएको प्रेरणा र हौसला मेरो मन–मुटुमा बाँचिरहेको छ । उहाँले देखाएको बाटो मेरो आँखामा झल्झली नाचिरहेको छ । उहाँको आत्माको चिरशान्तिको कामना गर्छु । हार्दिक श्रद्धाञ्जली !

Comments

धेरै पटक हेरिएको

Chitwan Post Epaper

सम्पर्क

चितवन पोष्ट, दैनिक समाचार पत्र
नारायणगढ, चितवन

फोनः ०५६-५७१४९२

फ्याक्स:  ०५६-५७११२०

इमेल: postchitwan@gmail.com

Chitwan Post Epaper
AmazingCounters.com

© २०१०-२०१८ चितवन पोष्ट - दैनिक समाचारपत्र | सर्वाधिकार सुरक्षित. वेब तथा होस्टिङ सेवा: नमस्टेक

To Top