Chitwan Post Epaper
अर्थ

मुग्लिन–नारायणगढ सडक बनेपछि व्यवसायी खुसी

– दिपेन्द्र अधिकारी
भरतपुर । भूकम्प, नाकाबन्दी र लगत्तै नारायणगढ–मुग्लिन सडक निर्माणका कारण चितवन घुम्न आउने पर्यटकको संख्या घट्दा यहाँका पर्यटक व्यवसायीहरु निकै दुःखित थिए । सडक निर्माण पूरा भएसँगै अब खुसी भएका छन् ।
सडकयात्रा सजिलो भएपछि सौराहामा पर्यटकहरुको चहलपहल बढ्न थालेको छ । सौराहामा अहिले भारतीय पर्यटक र चिनियाँ पर्यटकहरु बढी मात्रामा रहेका क्षेत्रीय होटल व्यवसायी संघ सौराहाका अध्यक्ष सुमन घिमिरेले बताए । उनले यसअघि बाटो दिउँसोको समयमा बन्द हुनाले बिहान ७ बजे सौराहाबाट छुट्ने पर्यटक बसहरु असार १ गतेदेखि भने बिहान ९ बजेमात्र छुट्ने बताए ।
यस सडकखण्डको निर्माणले पूर्णता पाएपछि जिल्लाको अर्थतन्त्रमा सुधार आउनेमा आफूहरु विश्वस्त रहेको उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सहनलाल प्रधानको भनाइ छ । समयको बचतसँगै लगानीका लागि पनि सहज हुने भएकाले अब जिल्लामा थप आर्थिक गतिविधि हुने भन्दै उनले सडक निर्माण प्रक्रियाका कारण आर्थिक गतिविधिमा पनि प्रत्यक्ष असर परेकोले अब सडक सहज भएपछि थुप्रै समस्याहरु समाधान हुने विश्वास व्यक्त गरे ।
त्यस्तै तनहुँ, गोरखा, लमजुङ क्षेत्रका बिरामीहरु यसअघि बाटोकै कारण उपचारका लागि काठमाडौँ जाने गरेकोमा बाटो बनेपछि चितवनतर्फ आउने क्रम बढेको संयुक्त एम्बुलेन्स चालक संघ नेपालका केन्द्रीय अध्यक्ष नवराज लामिछानेले बताए । बाटो निर्माणका क्रममा एम्बुलेन्सलाई छूट भए पनि अन्य प्राविधिक कारणले पनि बन्द भइरहने, पहिरो झरिरहने हुँदा बिरामी काठमाडौँ मोडिने गरेकोमा अहिले पुनः चितवनतर्फ आउने क्रममा बिस्तारै सुधार हुँदै गएको लामिछानेको भनाइ छ ।
हवाई यात्रु कम
नारायणगढ–मुग्लिन सडकखण्ड चौबिसै घन्टा सहजरुपमा सञ्चालनमा आएपछि यसको सकारात्मक प्रभाव देखिन थालेको छ । एक महिनाअघि दैनिक २१ वटासम्म उडान भएको भरतपुर विमानस्थलबाट अहिले दैनिक आठवटामा झरेको भरतपुर विमानस्थलका सूचना अधिकारी दीपक विकेले जानकारी दिए ।
केही दिनअघिसम्म टिकटका लागि दुई–चार दिनअघिदेखि नै बुकिङ गर्नुपर्ने बाध्यता रहेकोमा हाल चाहिएको दिन नै टिकट उपलब्ध हुन थालेको छ । त्यस्तै, एयरलाइन्स कम्पनीहरुले सस्तोमा समेत टिकट बेच्न थालेका छन् ।
अघिल्लो महिना दैनिक १२ वटासम्म उडान भरेको बुद्ध एयरले अहिले दैनिक पाँचवटा मात्र उडान भरेको प्रबन्धक भक्तबहादुर बस्नेतले बताए । चारवटा काठमाडौँ–भरतपुर र एउटा भरतपुर–पोखरा उडान रहेको छ ।
त्यस्तै, यति एयरलाइन्सले दैनिक पाँचवटासम्म उडान गर्दै आएकामा अहिले दुईवटामात्रै उडान भरेको छ । सिम्रिक एयरले भरतपुर–काठमाडौँ पहिलेदेखि नै एउटामात्रै उडान गर्दै आएको छ । भरतपुर विमानस्थल हुँदै बुद्ध, यति र सिम्रिकले हवाई सेवा दिँदै आएका छन् । हवाई यात्रुको चापलाई ध्यानमा राखी सिम्रिकले गत वर्षबाट भरतपुर–काठमाडौँ सेवा थप गरेको थियो ।
यात्रा सहज भएसँगै चितवनको पर्यटकीय गन्तव्यहरु सौराहा र मेघौलीमा पर्यटक बढेका छन् । अर्कोतर्फ सडक दैनिक ६ घन्टा बन्द हुने र नियमित जाम हुने हुँदा हवाई यात्रा रोज्नेहरु पनि अहिले सडकमार्ग हुँदै चितवनबाट काठमाडौँ र पोखरा आवतजावत गर्न थालेका छन् ।

Comments

धेरै पटक हेरिएको

Chitwan Post Epaper

सम्पर्क

चितवन पोष्ट, दैनिक समाचार पत्र
नारायणगढ, चितवन

फोनः ०५६-५७१४९२

फ्याक्स:  ०५६-५७११२०

इमेल: postchitwan@gmail.com

Chitwan Post Epaper
AmazingCounters.com

© २०१०-२०१८ चितवन पोष्ट - दैनिक समाचारपत्र | सर्वाधिकार सुरक्षित. वेब तथा होस्टिङ सेवा: नमस्टेक

To Top