Chitwan Post Epaper
समाचार

कानुन कार्यान्वयन नहुँदा अपांगता भएकाहरु समस्यामा 

भरतपुर । सरकारले कानुन बनाएर कार्यान्वयन नगरिदिँदा आफूहरु समस्यामा परेको अपांगता भएका व्यक्तिहरुले गुनासो गरेका छन् ।
शुक्रबार भरतपुरमा भएको ‘अपांगता हकअधिकार तथा अपांगता समावेशी विकास’ कार्यक्रममा उनीहरुले नेपालको संविधानले बुँदागतरुपमै अपांगता भएकाहरुको हकअधिकारबारे स्पष्ट पारे पनि त्यसलाई कार्यान्वयनमा ल्याउन नसक्दा सधँै चेपुवामा परेको गुनासो गरेका हुन् ।
संविधानमा उल्लेख भएजस्तो अपांगता भएका व्यक्तिका लागि कुनै पनि काममा सहजता नभएको अभियानका अध्यक्ष अम्बिकालाल श्रेष्ठले बताए । उनी भन्छन्, ‘सरकारले कानुन त बनायो, तर किताबमा मात्रै सीमित बनायो ।’ कानुनमा उल्लेख भएअनुसारको भवन तथा संरचना नहुँदा पनि संस्थागत काममा अप्ठ्यारो पर्ने गरेको उनको भनाइ छ । राज्यस्तरबाटै अपांगता भएका व्यक्तिहरुलाई तल्लो तहको व्यवहार गरिँदा समाजमा पनि अपहेलित बन्नुपरेको बताउँछन्, अपांग महासंघका पूर्वअध्यक्ष डा. वीरेन्द्र पोख्रेल ।
अपांगता भएका व्यक्तिका लागि नेपाल सरकारले सबै क्षेत्रमा ५० प्रतिशत छूटको व्यवस्था गरिएको उल्लेख छ । तर, आफूहरुले कुनै पनि सेवा लिँदा छूट नपाएको अपांगता जागरण अभियान चितवनकी प्रशिक्षक पार्वती महतोले बताइन् । अभियानकी कोषाध्यक्षसमेत रहेकी उनले शिक्षा, स्वास्थ्य, यातायात र रोजगारलगायतका सबै क्षेत्रबाट वञ्चित हुनुपरेको बताइन् । ‘हामीले कुनै पनि सार्वजनिक सवारीसाधनको प्रयोग गर्दा होस्, या अस्पतालबाट पाउने उपचार सेवामा किन छूट पाइँदैन ?’ प्रश्न गर्दै उनी भन्छिन् । कुनै पनि विषयमा स्नातकोत्तर गरे पनि अपांगता भएकै कारण बेरोजगार बन्नुपरेको उनले बताइन् । सरकारले यी सबै क्षेत्रमा बनेका नियम कानुनलाई पूर्णरुपमा कार्यान्वयन गराउन सके आफूहरुलाई पनि केही राहत हुने उनको बुझाइ छ ।
कार्यक्रममा चितवनका प्रमुख जिला अधिकारी जीतेन्द्र बस्नेतले भने सरकारले सबै क्षेत्रमा कानुनअनुसारको काम गर्ने पहल गरिरहेको बताए । जिल्लाका केही सरकारी कार्यालयलाई अपांगमैत्री कार्यालयका रुपमा स्थापना गरिसकेको भन्दै उनले अबका केही समयभित्र सबै सरकारी कार्यालयलाई अपांगमैत्री बनाउन सकिने विश्वास दिलाए ।

Comments

धेरै पटक हेरिएको

Chitwan Post Epaper

सम्पर्क

चितवन पोष्ट, दैनिक समाचार पत्र
नारायणगढ, चितवन

फोनः ०५६-५७१४९२

फ्याक्स:  ०५६-५७११२०

इमेल: postchitwan@gmail.com

Chitwan Post Epaper
AmazingCounters.com

© २०१०-२०१८ चितवन पोष्ट - दैनिक समाचारपत्र | सर्वाधिकार सुरक्षित. वेब तथा होस्टिङ सेवा: नमस्टेक

To Top