Chitwan Post Epaper
प्रमुख समाचार

रानीझरनामा चौँथो क्यानोनिङ महोत्सव सुरू

– केशव अधिकारी
धादिङ । अग्ला झरनामा डोरी टाँगेर खेलिने साहसिक खेल क्यानोनिङ (छाँगावरोहण) महोत्सव यो वर्ष धादिङको थाँक्रे गाउँपालिका–६ स्थित रानीझरनामा सुरू भएको छ ।
अमेरिका र फ्रान्ससहितका युरोपेली मुलुकका पर्यटकले बढी रूचि राख्ने यो खेलप्रति स्वदेशी युवालाई आकर्षण गर्न र पर्यटन प्रवद्र्धन गर्न महोत्सव गरिएको नेपाल क्यानोनिङ संघले जनाएको छ । दुई दिन सञ्चालन हुने महोत्सवमा दुई सयभन्दा बढी नेपाली युवा सहभागी हुने एसोसिएसनका अध्यक्ष राजेन्द्रबहादुृर लामाले बताए । विदेशीलाई मात्र नभएर स्वदेशीलाई पनि यो खेलप्रति रूचि बढाउँदै पर्यटन प्रवद्र्धन गर्न महोत्सव गरिएको अध्यक्ष लामाले जानकारी दिए ।
हाल कास्कीको ल्वाङघलेलमा एक, नुवाकोटको ककनीमा दुई, काठमाडौँको सुन्दरीजलमा एक र सिन्धुपाल्चोकको भोटेकोसीका पाँच झरना व्यावसायिक क्यानोनिङ खेल क्षेत्रका रुपमा विकसित भइसकेको अध्यक्ष लामाले बताए । लमजुङ र काभ्रेसहितका सो क्षेत्रका कुल २५ झरना क्यानोनिङ खेलका लागि पहिचान गरिएको एसोसिएसनले जनाएको छ । यो खेलका लागि विश्वको सबैभन्दा उचाइमा रहेको झरना पाँच हजार २१५ मिटरको मनाङस्थित नार फुमा हो ।
चौँथो क्यानोनिङ महोत्सवको शुक्रबार नेकपाका नेता सूर्य थापाले उद्घाटन गरेका हुन् । राजधानीबाट छोटो दूरीमै प्रकृतिको भरपूर मज्जा लिन सकिने स्थानमा रहेकाले राजधानीका आन्तरिक तथा बाह्य र पोखरा तथा चितवन जाने पर्यटकहरुको गन्तव्यका रुपमा रानीझरनालाई विकास गर्नुपर्ने नेता थापाले बताए । मनोरम प्राकृतिक दृश्यावलोकन गर्दै भरपूर आनन्द लिन सकिने रानीझरनालाई पर्यटकीय गन्तव्य बनाउन स्थानीय सरकारले दीर्घकालीन कार्यक्रम बनाएर अघि बढ्नुपर्ने उनको सुझाव थियो ।
नेपाल क्यानोनिङ एसोसिएसनले थाँक्रे गाउँपालिकाको सहयोगमा रानीझरना क्षेत्रको पूर्वाधारको सुधार गरी व्यावसायिकरुपमा सुरूवात गरेको क्यानोनिङ तालिम समापन तथा चौँथो क्यानोनिङ महोत्सवको पहिलो दिन एक सयभन्दा धेरै जनाले क्यानोनिङ गरे ।
पृथ्वीराजमार्गको महादेवबेँशीबाट चार किलोमिटर दक्षिणतर्फ कच्ची सडकमार्ग प्रयोग गरी सडकबाट पाँच मिनेट हिँडेर खोलामा झरेपछि पुग्न सकिने रानीझरनामा जेठ १९ गते शनिबारबाट २१ जनालाई झर्नावरोहणका लागि आधारभूत तालिमसमेत दिइएको थियो । क्यानोनिङ महोत्सव उद्घाटन कार्यक्रमलाई नेकपाका केन्द्रीय सदस्य थापाका साथै थाँक्रे गाउँपालिका अध्यक्ष रामकुमार आचार्य, ग्रामीण पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ)का अध्यक्ष कमल सापकोटा, नेपाल क्यानोनिङ (छाँगावरोहण) संघका अध्यक्ष राजेन्द्र लामा, धादिङका प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डे, धादिङका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर विकलगायतले सम्बोधन गर्दै पर्यटन विकासले मुलुकमा आर्थिक तथा सामाजिक विकास सम्भव रहेको बताए ।

Comments

धेरै पटक हेरिएको

Chitwan Post Epaper

सम्पर्क

चितवन पोष्ट, दैनिक समाचार पत्र
नारायणगढ, चितवन

फोनः ०५६-५७१४९२

फ्याक्स:  ०५६-५७११२०

इमेल: postchitwan@gmail.com

Chitwan Post Epaper
AmazingCounters.com

© २०१०-२०१८ चितवन पोष्ट - दैनिक समाचारपत्र | सर्वाधिकार सुरक्षित. वेब तथा होस्टिङ सेवा: नमस्टेक

To Top