Chitwan Post Epaper
प्रमुख समाचार

प्रहरीलाई नै टेर्दैनन् ठेकदार ब्यारेक र हिरासत कक्ष बन्न ढिलाइ

–दिपेन्द्र अधिकारी
भरतपुर । कुनै पनि आयोजनाको ठेक्का लिने तर समयमै काम नसक्ने ठेकदारलाई कारबाही गर्न गृहमन्त्री रामबहादुर थापा बादल आक्रामक देखिएका छन् ।
गृहमन्त्रीकै जिल्ला चितवनमा गृह प्रशासनअन्तर्गत रहेको जिल्ला प्रहरी कार्यालय चितवनको हाताभित्र रहेको प्रहरी ब्यारेक र हिरासत अहिलेसम्म निर्माण सम्पन्न हुन सकेको छैन । तेस्रोपटक म्याद थप्दा पनि ठेकदार पक्षले काम गर्न सकेको छैन ।
भण्डार थोटुङ्ग निर्माण सेवा प्रालि बागबजार काठमाडौँले निर्माण जिम्मा लिएको थियो । भवनको कुल बजेट ३ करोड ५१ लाख ३३ हजार ४ सय ८ रूपैयाँ रहेको छ । आयोजना ठेकदारको नाम उमेश लामा रहेको छ । निर्माण ढिलाइका विषयमा बुझ्न खोज्दा उनले फोन उठाएनन् ।
०७२ फागुन २८ गतेबाट सुरू भएको निर्माण प्रक्रियाले गति नलिँदा प्रहरीहरु भने पुरानै ब्यारेक भवन र थुनुवाहरु साँघुरो भवनमा कोचाकोच भएर बस्नुपर्ने बाध्यता छ ।
०७४ भदौ २७ मा सम्पन्न हुनुपर्नेमा फागुनसम्म म्याद थप गरिएको प्रहरी प्रवक्ता डिएसपी शिव शर्मा आचार्यले बताए । फागुनमा पुनः २ महिनाका लागि वैशाखसम्म म्याद थप भएको थियो, र हाल जेठसम्मका लागि १ महिनाको म्याद थप भई काम भइरहेको छ । काम नगर्ने ठेकदारलाई गृहमन्त्रीले कारबाही गर्न निर्देशन दिएपछि जिल्ला प्रहरी कार्यालय चितवनले बल्ल ठेकदारलाई चेतावनी दिएको थियो । सोही चेतावनीअनुसार अहिले धमाधम काम भइरहेको छ । तर, अन्तिमपटक थपिएको म्यादमा पनि काम नसकिने देखिन्छ ।
भवन निर्माण हेर्दै आएका इन्जिनियर अनिल रानाले ९० प्रतिशत काम सकिएको जानकारी गराए । ठेकदारलाई छिटै काम सम्पन्न गर्नका लागि चेतावनीसहित माथिल्लो निकायबाट पनि निर्देशन भएको प्रहरी प्रवक्ता डिएसपी शर्माले बताए ।
आफू मातहत रहेको कार्यालय भवनको निर्माण अवस्था कमजोर देखेपछि तीन नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी दीपक थापाले छिटै काम सक्नका लागि ठेकदारलाई केही दिनअघि निर्देशन दिएका थिए ।
कारबाही भएन
जिल्ला प्रशासन कार्यालय चितवनले विभिन्न सरकारी कार्यालयबाट आयोजनाको ठेक्का लिई काम नगर्ने ठेकदारहरुको नामावली गृह मन्त्रालयमा पठाए पनि उनीहरुमाथि कुनै कारबाही गर्न सकेको छैन ।
हालसम्म ३८ वटा आयोजनामा तोकिएको समयमा काम नसकिएको पाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । ३८ आयोजनामा २६ वटा पचास प्रतिशतदेखि ९० प्रतिशतसम्म काम सक्ने ठेकदारहरु रहेको जिल्ला प्रशासनले जनाएको छ ।
ठेकदारहरुको लापर्बाही हेरेर तत्काल कारबाही गर्न आफूहरु योजनाका साथ अघि बढेको चितवनका प्रजिअ जीतेन्द्र बस्नेतले बताएका थिए । तर, कुनै पनि ठेकदारमाथि कारबाही भने हुन सकेको छैन ।

Comments

धेरै पटक हेरिएको

Chitwan Post Epaper

सम्पर्क

चितवन पोष्ट, दैनिक समाचार पत्र
नारायणगढ, चितवन

फोनः ०५६-५७१४९२

फ्याक्स:  ०५६-५७११२०

इमेल: postchitwan@gmail.com

Chitwan Post Epaper
AmazingCounters.com

© २०१०-२०१८ चितवन पोष्ट - दैनिक समाचारपत्र | सर्वाधिकार सुरक्षित. वेब तथा होस्टिङ सेवा: नमस्टेक

To Top