Chitwan Post Epaper
अर्थ

कुखुराको मासु खपतमा गिरावट

भरतपुर । चितवनमा कुखुराको मासु खपतमा गिरावट आएको छ । असाध्यै गर्मी बढ्नु, मलमास पर्नु र कुखुरामा देखिएका विभिन्न रोगका कारण यतिबेला चितवनमा कुखुराको मासु खपतमा केही गिरावट आएको खसीबोका मासु व्यवसायी संघ चितवनले जनाएको छ ।
संघका पूर्वअध्यक्ष उद्धव तिम्सिनाले चितवनमा कुखुराको मासु खपतमा २० देखि २५ प्रतिशतसम्म गिरावट आएको जानकारी दिए । उनले चितवनका सबैजसो मासुपसलहरुमा यही अनुपातमा मासुको खपतमा गिरावट आएको बताए ।
बर्डफ्लुको कारणले मात्र कुखुराको मासु खपतमा गिरावट नआएको उनको भनाइ छ । उनले भने, ‘यो समय अफ सिजन हो, त्यसमाथि मलमास परेको छ, गर्मी बढेको छ जसले गर्दा कुखुराको मासु खपतमा केही गिरावट आएको हो ।’
पूर्वअध्यक्ष तिम्सिनाका अनुसार यो बेला विवाहको लगन छैन, पिकनिक भोजभतेरको आयोजना गर्ने समय पनि होइन । संघसंस्थाले साधारण सभा र अधिवेशन राख्ने बेला पनि होइन, जसका कारण मासुको खपतमा कमी आएको हो ।
खसीबोका मासु व्यवसायी संघका अनुसार चितवनमा दैनिक झन्डै १० टन कुखुराको मासु खपत हुन्छ । भरतपुर–नारायणगढ क्षेत्रमा मात्र ४०० को हाराहारीमा मासुपसल रहेका छन् । यतिबेला ब्रोइलर कुखुराको मासु प्रतिकेजी सरदर २८० रूपैयाँमा बिक्री भइरहेको छ । यसअघि कुखुराको मासु प्रतिकेजी ३०० रूपैयाँमा बिक्री भएको थियो ।
‘कुनै रोगले मासुको मूल्य घटाएको छैन, मासुमा १०÷२० रूपैयाँ घटबढ हुनु सामान्य हो’, पूर्वअध्यक्ष तिम्सिनाले भने, ‘एक–दुई दिन भयो, गिरावट आएको मासुको खपत बिस्तारै बढ्न थालेको छ ।’
तिम्सिनाले अब केही दिनमा मासुको मूल्य बढ्ने बताए । ‘रोगका कारण अहिले किसानले चल्ला हालेका छैनन्, माग बढी हुन थालेको छ’, उनले भने, ‘उत्पादन कम, माग बढी भयो भने त कुखुराको भाउ बढ्छ ।’ असारमा कुखुराको भाउ बढ्न सक्ने उनको कुरा छ । भरतपुर ६, गीतानगरका कुखुरा किसान राजबहादुर भुजेलले विभिन्न रोगका कारण आफूले तत्काल चल्ला नहालेको र अब एक–दुई दिनमा चल्ला हाल्ने बताए ।
नेपाल कुखुरा बजार व्यवस्थापन संघका अध्यक्ष कृष्णहरि लोहनीले मासुको खपतमा आएको गिरावट समायोजनतर्फ गइरहेको बताए । उनले भने, ‘केही दिनअघि गिरावट थियो, अब बिस्तारै खपत बढिरहेको छ ।’
भरतपुर–९, मिलनचोकका कृष्ण नेपाल आफूले नियमित कुखुराको मासु सेवन गरिरहेको बताए । उनले भने, ‘बर्डफ्लुु देखियो भन्दैमा मासु खान छोडेको छैन, आजसम्म कुनै मानिसलाई बर्डफ्लु देखिएको पनि छैन, चिकित्सकका अनुसार मासु राम्रोसँग पकाएपछि बर्डफ्लुका भाइरस सबै मर्छन् ।’

Comments

धेरै पटक हेरिएको

Chitwan Post Epaper

सम्पर्क

चितवन पोष्ट, दैनिक समाचार पत्र
नारायणगढ, चितवन

फोनः ०५६-५७१४९२

फ्याक्स:  ०५६-५७११२०

इमेल: postchitwan@gmail.com

Chitwan Post Epaper
AmazingCounters.com

© २०१०-२०१८ चितवन पोष्ट - दैनिक समाचारपत्र | सर्वाधिकार सुरक्षित. वेब तथा होस्टिङ सेवा: नमस्टेक

To Top