Chitwan Post Epaper
समाचार

नक्सामा बाटो नदेखिएपछि विवाद

जगतपुर । नक्सामा बाटो नदेखिएपछि जगतपुरको गौचरनआसपासका स्थानीय र स्थानीय तहबीचको विवाद उत्कर्षमा पुगेको छ ।
२०१७ सालमा बाटो खुले पनि स्थानीय तहले सार्वजनिक जग्गामा बाटो भएको भन्दै निजी जग्गालाई पनि बाटामा मिसाउन खोजिएपछि विवाद चुलिएको छ । २०१७ सालमै तत्कालीन गाविसले जनताको सुविधाका लागि सार्वजनिक जग्गाभित्रै बाटो खुलाएको थियो । तर, अहिले सोही बाटो नक्सामा नभएको भन्दै निजी जग्गाले पनि बाटोको लागि ठाउँ छाड्नुपर्ने भनेपछि विवाद उत्कर्षमा पुगेको हो ।
सुरूमा सरकारले नै छुट्याएको बाटो अहिलेको सरकारले घटाएर निजी जग्गालाई पनि बाटोमा ल्याउन खोजेको भन्दै स्थानीय विरोधमा उत्रेका हुन् । स्थानीयले आफ्नो जग्गा कुनै पनि हालतमा नछाड्ने अडान लिँदै आएपछि विगत सात वर्षदेखिको विवाद पनि सल्टिन सकेको छैन ।
‘बाटो बढाउने हो भने हाम्रो भागमा परेको जग्गा छाड्न हामी तयार छौँ’, गौचरन संरक्षण तथा बाटो निर्माण पहल समितिका संयोजक शिवकान्त चालिसेले भने, ‘तर, यत्तिकैमा हामी आफ्नो निजी जग्गा दिन तयार छैनौँ ।’
शान्तिचोकदेखि प्रगतिचोकसम्मको करिब ९०० मिटर बाटो विवादकै कारण विकास हुन सकेको छैन । ‘पहिला पहिला जिविसबाटै आएको बजेटले ग्राभेल हुन्थ्यो’, स्थानीय बालकृष्ण ढुंगानाले भने, ‘तर, अहिले हामीलाई नै हेप्ने र चेप्ने काममात्रै भएको छ ।’ सुरूमा गौचरनको जग्गा ११ बिघा थियो । व्यक्तिले हड्पेर करिब ४ बिघा बाँकी रहेपछि यहाँका स्थानीयले संरक्षण गरेर राखेका हुन् । चुनावताका यो विवाद हटाउने प्रतिबद्धता जनाए पनि चुनाव जितिसकेपछि वडा अध्यक्षले नै आफ्नो वाचा बिर्सिएको बताउँछिन्, स्थानीय विष्णुमाया चालिसे । उनी भन्छिन्, ‘बरू, रगतको खोलो बगाउन तयार छु, बाटो छोड्ने छैनौँ ।’
स्थानीय सरकारले भने नक्सामा बाटै नभएकाले कटौती गर्न खोजिएको बताउँदै आएको छ । ‘सर्वसाधारणलाई बाटो पनि चाहिने भएकाले सार्वजनिक र निजीले आधा–आधा व्यहोरौँ भन्दा उहाँहरु मान्नुहुन्न’, वडा अध्यक्ष नरिनारायण पौडेल भन्छन्, ‘सरकारको जग्गामा मात्रै कसरी बाटो हुन्छ ?’ विवाद समाधान गर्नका लागि वडाले पटकपटक बैठक बोलाए पनि वार्तामा आउन नचाहेको उनको भनाइ छ ।
उनका अनुसार सार्वजनिक जग्गाको चार मिटर र निजी जग्गाबाट चार मिटर बाटोलाई छुट्याएर ८ मिटरको बाटो बनाउने योजना छ । तर, अहिलेको बाटो भने ८ देखि १५ मिटरसम्म छ । स्थानीयले बाटो पनि सार्वजनिक जग्गा नै भएकाले बाटो छाड्दा समस्या नपर्ने बताए पनि स्थानीय तहले भने सार्वजनिक जग्गाको दुरूपयोग भएको भन्दै यसको संरक्षणका लागि काम गर्न खोजिएको दाबी गरेको छ ।

Comments

धेरै पटक हेरिएको

Chitwan Post Epaper

सम्पर्क

चितवन पोष्ट, दैनिक समाचार पत्र
नारायणगढ, चितवन

फोनः ०५६-५७१४९२

फ्याक्स:  ०५६-५७११२०

इमेल: postchitwan@gmail.com

Chitwan Post Epaper
AmazingCounters.com

© २०१०-२०१८ चितवन पोष्ट - दैनिक समाचारपत्र | सर्वाधिकार सुरक्षित. वेब तथा होस्टिङ सेवा: नमस्टेक

To Top