Chitwan Post Epaper
समाचार

सहारा नै गुमेपछि परिवारको बिचल्ली 

–केशव भट्टराई
रत्ननगर । पूर्वी चितवनको रत्ननगर–१०, बैरियास्थित जागृतिटोलका ४१ वर्षीय कृष्ण प्रजाको हृदयाघातबाट मृत्यु भएपछि परिवारको बिचल्ली भएको छ ।
अतिविपन्न अवस्थाका प्रजा परिवारमा कृष्णले कमाएर परिवारको भरणपोषण गर्दै आएका थिए । ट्याक्टर चलाउँदै आएका कृष्णको अचानक मृत्यु भएपछि ८१ वर्षीय विश्राम प्रजा, ३५ वर्षीया श्रीमती राधा, दुई छोरा मिलन र कुशल र नौ महिनाकी छोरी शिवानीको बिचल्ली भएको हो ।
कृष्णको पाँच दिनअघि निधन भएको थियो । स्थानीय युवा वेदप्रसाद आचार्य, राजाराम बानियाँ, सन्देश पाठक, रुपनराज घिमिरे, बरूणबाबु घिमिरे, सुजन खनाल र सविन मानन्धरले आर्थिक सहयोग जुटाएर उनको दाहसंस्कार गरिएको थियो ।
बुधबार बिहान प्रजा निवास पुग्दा ८१ वर्षीय वृद्ध विश्राम शोकमग्न देखिन्थे । आँखाभरि आँसु बोकेर झोक्राइरहेका उनी निश्शब्द थिए । कहिले आकाशतिर त कहिले भुँइतिर हेर्दै टोलाएका देखिन्थे । श्रीमती राधा शोकसन्तप्त अवस्थामा नौमहिने छोरी बोकेर टोलाइरहेकी थिइन् ।
छोराहरु १४ वर्षीय मिलन र १२ वर्षीय कुशलले बाबुको निधन भएको कुरा पत्याउन सकेका छैनन् । उनीहरु घरीघरी बाबुको तस्बिर हेरेर भावविह्वल अवस्थामा आमासँगै कोरा कपडामा किरिया बसिरहेका छन् । प्रजाको परिवारमा मात्र होइन, घरछिमेकमा पनि सन्नाटा छाएको छ ।
स्थानीय चन्द्रनारायण श्रेष्ठ भन्छन्, ‘कमाएर परिवार पाल्ने अभिभावककै एक्कासि निधन भएपछि प्रजा परिवारमा ठूलो बज्रपात भएको छ । हामीले आर्थिक सहयोग उठाएर सहयोग गर्न पहल गरिरहेका छौँ ।’
उनले परोपकारी मन भएका व्यक्ति तथा संघसंस्थाहरुलाई सहयोगको हात फैलाउन अपिल गरेका छन् । बालक उमेरमै बाबुको किरिया बसेको देख्दा स्थानीयवासी पनि विक्षिप्त छन् ।
यस्तो विपत्तिमा सहयोग गरेर प्रजा परिवारको उद्धार गरिदिन स्थानीय समाजसेवी वेदप्रसाद आचार्यले आग्रह गरेका छन् । भन्छन्, ‘कृष्णले साह्रै दुःख गरेर परिवार पाल्दै आएका थिए । परिवारको सहारा नै गुमेपछि प्रजा परिवारको बिचल्ली भएको छ । उनीहरुको रेखदेख र शिक्षादीक्षाका लागि सहयोगी दाताको खाँचो छ ।’

Comments

धेरै पटक हेरिएको

Chitwan Post Epaper

सम्पर्क

चितवन पोष्ट, दैनिक समाचार पत्र
नारायणगढ, चितवन

फोनः ०५६-५७१४९२

फ्याक्स:  ०५६-५७११२०

इमेल: postchitwan@gmail.com

Chitwan Post Epaper
AmazingCounters.com

© २०१०-२०१८ चितवन पोष्ट - दैनिक समाचारपत्र | सर्वाधिकार सुरक्षित. वेब तथा होस्टिङ सेवा: नमस्टेक

To Top