Chitwan Post Epaper
विचार

आलोचना सहन सक्ने क्षमता

वीरेन्द्रमणि पौडेल
प्रशंसा र आलोचना दुई विपरीत अर्थ दिने शब्द हुन् । प्रशंसाले मलम लगाउँछ र शीतलता प्रदान गर्छ, तर आलोचनाले घोच्छ, दुखाउँछ । घोचाइ र दुखाइ संसारका कसैलाई पनि मन पर्दैन र पृथ्वीका सबै मान्छेलाई शीतलता दिने प्रशंसै मन पर्छ । यो एउटा पाटो हो भने अर्को पाटोचाहिँ के हो भने यदि आलोचनाको प्रभाव वा असरबाट सिर्जना हुने घोचाइ र दुखाइलाई सहने अभ्यास गर्ने हो भने त्योभन्दा राम्रो वा सफलताको सूत्र अरु हुनै सक्दैन, विश्वका दार्शनिकहरुले यस्तै भन्ने गरेका छन् । अभ्यास गर्ने हो भने प्रमाणित पनि हुन्छ । प्राकृतिकरुपमा मान्छेको जिब्रोले उसलाई मीठो लाग्ने खानेकु्रा मन पराउँछ । जिब्रोलाई मन नपर्ने चीज मुखमा हाल्नेबित्तिकै ज्रिब्रोले बहिष्कार गर्छ । आलुको स्वाद जिब्रोलाई मन पर्छ, तर करेलाको स्वाद मन पर्दैन । आलु मुखमा हाल्दा अनुहारको रङ र आकारमा परिवर्तन आउँदैन, तर करेला हाल्नेबित्तिकै मुख र अनुहारको आकारमा थोरै भए पनि परिवर्तन आइहाल्छ । यसको अर्थ प्रस्ट छ कि जिब्रोलाई कुनै खानेकुरा मन पर्ने र कुनै मन नपर्ने हुन्छ । यो अवस्था अभ्यास नभइन्जेलका लागि हुन्छ, तर जब अभ्यास गरिन्छ अर्थात् जब मीठो नलागे पनि करेला खाने अभ्यास गरिन्छ, तब बिस्तारै बिस्तारै करेला पनि मीठो लाग्न थाल्छ । आलोचनाको विषय पनि त्यही हो । सुरूसुरूमा मान्छेलाई आलोचना सुन्दा रिस उठ्छ, पसिना छुट्छ तर जब बिस्तारै बिस्तारै आलोचना सुन्ने अभ्यास गरिन्छ, तब आलोचना ओखती र समस्या समाधानका रुपमा परिणत हुन जान्छ । पहिले आलोचनाबाट भाग्ने व्यक्ति आलोचना सुन्न नपाउँदा विरक्त मान्ने अवस्थामा पुग्छ । यही हो मान्छेको पहिलो र अन्तिम अकाट्य विशेषता ।
फेरि आलोचना कसैले चाहेर वा नचाहेर हुने विषय होइन, कामका आधारमा आलोचना हुने गर्छ । जसले जति ठूलो जिम्मेवारी लिएको हुन्छ, उसको त्यही आकारमा आलोचना हुने गर्छ भने सानो जिम्मेवारी लिएकाहरुको सानै र जिम्मेवारीविहीन अवस्थाकाहरुको आलोचना हुने गर्दैन । यो कोणबाट हेर्दा राजनीतिज्ञहरु जिम्मेवारी वहनका हिसाबले सबैभन्दा माथि हुने हुँदा यिनीहरुको आलोचना सबैभन्दा ज्यादा हुन्छ र यिनले सबै प्रकारका आलोचनाहरु सहन पर्छ । राजनीति सिक्दै गर्दाको अवस्थामा हुने आलोचना खप्न निकै गाह्रो हुन्छ, तर जब राजनीतिमा धेरै समय बिताइन्छ र जिम्मेवारी बुझिन्छ, तब एउटा परिपक्व राजनीतिज्ञ आलोचनाबाट भाग्दैन । बरू, त्यो आलोचनालाई गुरूमन्त्र मानेर कार्यसम्पादनमा सुधार ल्याउने प्रयास गर्छ । मह¤वपूर्ण जिम्मेवारी बोक्ने र आलोचना सहने वर्गमा खासगरी सबै तहका जनप्रतिनिधिहरु, सरकारी कर्मचारी, प्रहरी, संवैधानिक निकायका प्रमुखहरु र पत्रकार पर्दछन् । जनतासँग प्रत्यक्ष भेटघाट हुने र सम्पर्कमा रहने हुँदा जनताले यिनकै आलोचना गर्छन् । यिनले आलोचना सहनुपर्छ । यीमध्ये जसले आलोचना सहन सक्दैन वा आलोचनालाई विष सम्झिन्छ, त्यो वा त्यसको समूहले कुनै पनि कोणबाट सफलता हासिल गर्न सक्दैन । कुनै पनि समय तल झर्ने अवस्था आउँछ । जनप्रतिनिधिहरुको काम आवश्यकता हेरी समानुपातिक वितरण प्रणालीका आधारमा भौतिक विकास बाँड्ने हो, तर कतै न कतै कमजारी हुन जाने र त्यसको प्रतिवादस्वरुप जनताले धारे हात लाउने अवस्था आउँछ । जनताले जनप्रतिनिधिको कामलाई आलोचना गर्छन् । यस्तो अवस्थामा जनप्रतिनिधि रिसाउँछ वा प्रतिशोधपूर्ण व्यवहार देखाउँछ भने उसले राजनीतिबाट सन्न्यास लिए हुन्छ । प्रतिशोधपूर्ण व्यवहार देखाउने राजनीतिज्ञ आफू त तल झर्छ नै, विकास निर्माण र आर्थिक समृद्धिका लागि बाधकसमेत बन्न जान्छ । सरकारी कर्मचारीले जनताको दुःखसुखसँग सरोकार राख्ने विषयमा प्रत्येक दिन काम गरिरहनुपर्छ । काममा पारदर्शिता देखिएन वा ढिला भयो वा कतै पक्षपात भयो वा घूस मागियो भने जनताले आलोचना गरिहाल्छन् । यस्तो अवस्थामा सरकारी कर्मचारीहरुले आफूबाट भएको गल्ती स्वीकार्ने वा जनतासँग माफी माग्ने काम गरिहाल्नुपर्छ । यदि कर्मचारीले जनताबाट गरिएका आलोचनालाई नकारात्मकरुपमा लिएको खण्डमा त्यसको परिणाम कर्मचारीमाथि नकारात्मक पर्ने पक्का हुन्छ ।
प्रहरी सधैँभरि जनताको माझमा हुन्छ । सामाजिक अपराधलगायत विभिन्न शीर्षकमा प्रहरीले आफूलाई सक्रिय तुल्याएको हुन्छ । कहीँकतै प्रहरीले पक्षपात गरेको वा काम गर्ने ढंग नपुगेको खण्डमा जनताले प्रतिवाद गरिहाल्छन्, प्रहरी कार्यको आलोचना गरिहाल्छन् । पुलिस मुर्दावाद भन्न सुरू गरिहाल्छन् । तर, यस्तो अवस्थामा पनि प्रहरी विचलित हुनुहुँदैन । जनता भनेका सधैँभरि निर्दोष र मनका कमला हुन्छन् । प्रहरी जनताको रक्षक हो, अभिभावक हो । आफ्नो अभिभावकसँग जनता कुनै पनि बेला चित्त दुखाउने र झगडा गर्ने अवस्थामा पुग्छन् । तर, यदि जनताको आलोचना वा मुर्दावाद भन्ने शब्दलाई प्रहरीले सहन सकेन र विष सम्झियो भने प्रहरी प्रहरीको कर्तव्यबाट तल झर्छ र यसको परिणाम नकारात्मक निस्किन्छ । प्रहरीले चोर, डाँका, गुन्डा, लुच्चा, लफंगा, तस्कर, समाजविरोधी त¤वलाई एक खाल र निष्कपट, सरल र सफा मनका जनतासँग गर्ने व्यवहार अर्को खालको हुनुपर्छ । चोर, डाँकालाई गरिने सम्बोधन र सज्जन जनतालाई गरिने सम्बोधनमा फरक हुनुपर्छ । संवैधानिक निकायका प्रमुखहरुको सवालमा पनि यो नियम त्यसरी नै लागू हुन्छ । अब रह्यो पत्रकारको भूमिकाको कुरा । पत्रकारले लेख्ने समाचारको प्रभाव ढिलो वा चाँडो सकारात्मक हुन्छ, तर समाजविरोधी त¤व र आर्थिक भ्रष्टाचारीहरु समाचारको तत्कालको प्रभावबाट ज्यादै रिसाउन सक्छन् । यस्तो अवस्थामा नकारात्मक काम गर्ने र त्यस्तै खाले चिन्तनबाट प्रभावितहरुले तल्लो तहमा झरेर आलोचना गर्न सक्छन् । यस्तो अवस्थामा पत्रकारले त्यो खालको आलोचना सहनुपर्ने हुन्छ । तत्काल कुनै पनि प्रतिक्रिया व्यक्त गर्नुहुन्न । कतै कसैलाई घाउ लागेको खण्डमा प्राकृतिकरुपमा नै ऐया भन्ने आवाज आउँछ । त्यो आवाजको सम्मान गर्नुपर्छ । बिस्तारै बिस्तारै त्यो ऐयाको आवाज किन आयो, आवाज निकाल्ने मान्छेले नै महसुस गर्छ र शान्त हुन्छ ।
अब आलोचनालाई मार्गदर्शन मान्ने र कुनै पनि खालको आलोचनालाई अवसरमा बदल्ने क्षमताको पनि चर्चा गर्न उपयुक्त हुन्छ । कुनै समयमा यो देशमा विश्वेश्वरप्रसाद कोइराला नामका राजनीतिज्ञ थिए । तिनलाई आलोचनाबाट कति फाइदा लिन सकिन्छ भन्ने राम्रोसँग थाहा थियो । एकपटक तिनी यो देशको प्रधानमन्त्री भएका थिए । जब उनी प्रधानमन्त्री थिए, छेउछाउमा सबै चाकडी र चाप्लुसी गर्नेहरुको भीड लाग्यो । चाकडी र चाप्लुसी गर्नेहरु विष र तर्कसंगत आलोचना गर्नेहरु ओखती हुन् भन्ने तिनलाई राम्रैसँग थाहा थियो । जब उनले चाकडी गर्नेहरुको संख्या बढेको र आलोचना गर्नेहरु डरका कारण कम भएको महसुस गरे, उनले आलोचक खोज्न थाले । आलोचना गरेबापत् पैसा दिन थाले । उदाहरण यस्तो छ ः पुराना पत्रकार मदनमणि दीक्षितले साप्ताहिक “समीक्षा” प्रकाशन गर्थे । प्रधानमन्त्री बीपी कोइरालाले तिनलाई बोलाएर आफ्नो कार्यशैलीको आलोचना लायक भए आलोचना गर्न अनुरोध गरे । त्यसबापत् मासिक ३ सय रूपैयाँ दिने वचन दिए । वचनमात्रै होइन, उनले तीन–तीन सय रूपैयाँ प्रत्येक महिना दिए । मदनमणिले पनि आलोचना गर्न मिल्ने परिस्थिति देख्नेबित्तिकै साप्ताहिक “समीक्षा”मार्फत आलोचना गरिहाल्थे । साप्ताहिक समीक्षाको आलोचनालाई बीपीले ऊर्जा र मार्गदर्शनका रुपमा बदले र छिमेकी भारत र चीनसँग सन्तुलित सम्बन्ध राखे ।
अब अहिलेका निवर्तमान माओवादी केन्द्रका अध्यक्ष र एमालेका अध्यक्ष वर्तमान नेपाल कम्युनिस्ट पार्टी अन्डरलाइनका दुई भाइ अध्यक्ष प्रचण्ड र केपी ओलीलाई हेरौँ । यी भूतपूर्व कमरेडहरुलाई आज पनि जनतामध्ये केही र कुनै विचारकाले चर्को आलोचना गरिरहेका छन् । प्रधानमन्त्री ओलीलाई भित्रभित्र नरेन्द्र मोदीसँग साँठगाँठ गरेको आरोपसहित आलोचना गरिरहेका छन् र कामभन्दा कुरा बढी गर्ने प्रधानमन्त्री भनिरहेका छन् । पेट्रोल र खाद्य पदार्थको मूल्यवृद्धि भएकोमा निकै चर्को आलोचना गरेका छन्, तर उनले यी आरोपलाई विष होइन जनताको स्वाभाविक भनाइ मानेका छन् । सायद, यिनले यो खालको आलोचनालाई भौतिक विकास र आर्थिक समृद्धि दिएर जवाफ दिने प्रयास गरिरहेका छन् । प्रचण्डको कुरा पनि त्यही हो । यिनलाई उनकै भूतपूर्व कमरेडहरुले पार्टीलाई एमालेमा लगेर सेलाएको भन्दै छन् । जनताका लागि नभई निजी स्वार्थका लागि राजनीति गरेको भन्दै आलोचना गरिरहेका छन् । लेखकहरु समेतले अनेक कोणबाट प्रचण्डमाथि आलोचनाको पहाड फ्याँकेका छन्, तर पनि उनले सबै खालका आलोचनालाई अस्वाभाविक मानेका छैनन् । काम गर्दा मान्छे हो कहिलेकाहीँ जानेर वा नजानेर गल्ती हुन्छ, गल्तीमा आलोचना हुन्छ । आलोचनालाई नकारात्मक रुपमा लिनुहुन्न भन्ने यिनले जानेका रहेछन् । त्यसकारण, उनी पनि नेपालको राजनीतिमा टिक्न सकेका छन् । जुन राजनीतिज्ञ जनस्तरबाट गरिने आलोचनालाई सहन सक्छ, उसले आफ्नो स्थान सधैँभरि सुरक्षित राख्छ । जसले आलोचना सहन सक्दैन, राजनीतिज्ञमात्रै होइन जुनसुकै पेसाका जोकोही पनि तल झर्छन्, पछारिन्छन् र सकिन्छन् । पहिलो र अन्तिम सत्य यही हो– सधैँभरि ठीक सोच्नु, ठीक काम गर्नु, कसले कसरी आलोचना गर्छ गर्न दिनु । आलोचना विष होइन ऊर्जा हो, मार्गदर्शन हो र त्यो मार्गदर्शन सकारात्मक गन्तव्यमा पु¥याउने साधन हो । निष्कर्ष यही हो, जसले आलोचना सहन सक्छ ऊ सफल हुन्छ, सधैँभरि प्रशंसा सुन्न चाहने वा आलोचना सुन्न नचाहनेहरु सदैव असफल हुन्छन्, असफल भइरहन्छन् ।

Comments

धेरै पटक हेरिएको

Chitwan Post Epaper

सम्पर्क

चितवन पोष्ट, दैनिक समाचार पत्र
नारायणगढ, चितवन

फोनः ०५६-५७१४९२

फ्याक्स:  ०५६-५७११२०

इमेल: postchitwan@gmail.com

Chitwan Post Epaper
AmazingCounters.com

© २०१०-२०१८ चितवन पोष्ट - दैनिक समाचारपत्र | सर्वाधिकार सुरक्षित. वेब तथा होस्टिङ सेवा: नमस्टेक

To Top