Chitwan Post Epaper
समाचार

बहुप्रतिभाका धनी ‘निर्दोष जीवन’

– तुलमान गुरूङ
भरतपुर । नेपाली साहित्य फाँटमा एउटा परिचित नाम हो, निर्दोष जीवन । कैलाशनगर, कविडाँडामा हुर्किएर हाल गैँडाकोटलाई स्थायी बसोबास क्षेत्र बनाउँदै आएका उनी विगत दुई दशकदेखि यस क्षेत्रमा क्रियाशील छन् । लेखनका हिसाबले उनले गीत, गजल, मुक्तक लेखनमा बढी चासो राख्छन् । तर, पछिल्लो समय उनी गायनतर्फ पनि उत्तिकै सक्रिय हुन थालेका छन् । केही समयअघि मात्रै उनले ‘फस्ट लभ’ नामक गीति एल्बम बजारमा ल्याएका छन् ।
सानैदेखि नेपाली साहित्य र गीतसंगीतमा उत्तिकै रूचि राख्ने उनी अहिले आफ्नो गीतको प्रचारप्रसारमै व्यस्त छन् । लेखन र गायनमा मात्रै होइन उनले विभिन्न म्युजिक भिडियोमा समेत काम गरिसकेका छन् । ‘दोष कसैलाई दिन चाहन्नँ’, ‘तिम्ले माया मारेर गयौ’, ‘रित्तो विस्तरा’लगायतका म्युजिक भिडियोसमेत आफैँले निर्देशन गरेका छन्, जसका कारण उनको परिचय झनै फराकिलो बन्दै गएको छ ।
सर्वप्रथम विसं २०६१ सालमा गीत, गजल तथा मुक्तक समावेश ‘आशीर्वाद’ नामक पुस्तक प्रकाशनमा आएपछि उनको औपचारिक यात्रा सुरू भएको हो । यसअघि पनि उनले साहित्यमा कलम नचलाएका भने होइनन् । विभिन्न पत्रपत्रिकाहरुमा यसअघि पनि धेरैपटक उनका सिर्जना प्रकाशन भइसकेका छन् । यतिमात्रै होइन, उनले विसं २०६२ सालमा ‘नयाँ जीवन’ नामक लघु उपन्याससमेत प्रकाशन गरिसकेका छन् । तर, गायनमा भने ‘मुखमा राम राम बगलीमा छुरा’ मा पहिलोपटक आवाज दिएका हुन् । विसं २०६२ सालमै उनले पहिलो गीति एल्बम ‘प्रार्थना’ बजारमा ल्याएका थिए, जसमा उनको आफ्नै शब्द÷संगीतमा १० गीत समावेश छन् । त्यसपछि उनले फेरि २०७३ सालमा अर्को गीति एल्बम ‘कोर्राको चोट’ बजारमा ल्याए, उक्त एल्बममा पनि १० गीत समावेश छन् । हालसम्म उनले तीन दर्जनभन्दा बढी गीतमा आवाज भरिसकेका छन् ।
उनको पछिल्लो एल्बम ‘फस्ट लभ’मा उनको आफ्नै गजलसँगै गजलकार पुष्प अधिकारी ‘अञ्जली’ र उर्मिला कार्कीको गजलमा पनि उनले आवाज भरेका छन् भने उक्त एल्बममा संगीतसमेत आफैँले दिएका छन् । उक्त एल्बमका दुईवटा गजलको म्युजिक भिडियोसमेत तयार भइसकेको उनले बताए । गीत÷गजलमा रूचि राख्ने गरे पनि मुक्तक लेख्दा बढी आनन्द मिल्ने अनुभव सुनाउँछन्, उनी । नेपाली साहित्य क्षेत्रबाटै आफ्नो परिचय फराकिलो बनाउने उनको योजना छ । पारिवारिक साथ र सहयोगले गर्दा पनि नेपाली साहित्य क्षेत्रमा सक्रिय भूमिका खेल्न पाएको उनी बताउँछन् ।

Comments

धेरै पटक हेरिएको

Chitwan Post Epaper

सम्पर्क

चितवन पोष्ट, दैनिक समाचार पत्र
नारायणगढ, चितवन

फोनः ०५६-५७१४९२

फ्याक्स:  ०५६-५७११२०

इमेल: postchitwan@gmail.com

Chitwan Post Epaper
AmazingCounters.com

© २०१०-२०१८ चितवन पोष्ट - दैनिक समाचारपत्र | सर्वाधिकार सुरक्षित. वेब तथा होस्टिङ सेवा: नमस्टेक

To Top