गृह » सामाजिक विकास र लैङ्गिक समानताको प्रशंसा
विश्व

सामाजिक विकास र लैङ्गिक समानताको प्रशंसा

हवाना । क्यारेबियन राष्ट्र क्युवाले सामाजिक विकास र लैङ्गिक समानतामा उल्लेखनीय प्रयास गरेको संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले बताउनुभएको छ ।
क्युनिटी अफ ल्याटिन अमेरिकन एण्ड क्यारिबियन स्टेट्स (सेलाक) को दोस्रो शिखर सम्मेलनका विशेष अतिथिका रुपमा  महासचिव मुन हवाना पुग्नुभएको थियो ।
मुनले क्युवाली सरकारी अधिकारीहरु र नागरिक समाजका प्रतिनिधिहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । सेलाकको स्थापना स्पेनमा भएको जनाइएको छ ।
क्युवामा सामाजिक विकास र लैङ्गिक समानताका लागि स्थापना गरिएको ‘नेसनल सेन्टर फर सेक्स एजुकेसन’ नामक राष्ट्रिय सङ्गठनका पदाधिकारीहरुसँगको छलफलमा महासचिव मुनले सङ्गठनका गतिविधिलाई क्युवाली सरकारले सघाएकोमा खुलेर प्रशंसा गर्नुभएको छ ।
संयुक्त राष्ट्रसंघले उक्त सङ्गठनका गतिविधिलाई ‘युमाइट’ नामक आयोजनाअन्तर्गत आर्थिक तथा भौतिक सहयोग गर्दै आएको उक्त सङ्गठनको प्रमुख उद्देश्य महिला हिंसाको अन्त्य गर्न र महिला अधिकार संरक्षण गर्नु र सामाजिक विकास गर्नु रहेको छ । त्यहाँको नागरिक समाजले सो आयोजनालाई सहयोग गरिरहेकोमा पनि मुनले सन्तोष व्यक्त गर्नुभयो ।
भ्रमणका क्रममा सङ्गठनकी निर्देशिका मारिएला क्यास्ट्रो इस्पनिले बानलाई उपहार दिनुभएको थियो । छलफलका क्रममा विश्वबाट महिला हिंसा अन्त्य गर्नु एक सपनामात्र नभई सम्भावना समेत हो, यसमा क्युवाली नागरिक समाज, सरकार र समाजसेवीहरुको समान प्रयास निरन्तर हुनुपर्ने समेत बताउनुभयो । रासस÷सिन्ह्वा

Comments

About the author

चितवन पोष्ट

प्रतिकिया

Click here to post a comment