गृह » तालतलैयामा पानीको स्रोत घट्दा  वन्यजन्तुलाई प्रत्यक्ष असर
प्रमुख समाचार

तालतलैयामा पानीको स्रोत घट्दा  वन्यजन्तुलाई प्रत्यक्ष असर

किशोर खनाल
कसरा । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा रहेका तालतलैयाहरुमा पानीको स्रोत घटेको छ । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा साना ठूला गरी ५८ वटा तालतलैयाहरु छन् । सबै तालहरुमा पानीको स्रोतमा कमी आएको छ । जसका कारण वन्यजन्तुलाई प्रत्यक्ष असर परेको छ ।
चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत तथा सूचना अधिकारी नुरेन्द्र अर्यालले निकुञ्ज तथा मध्यवर्ती क्षेत्रका तालतलैयामा गेग्रानहरु थुप्रेर पानीको स्रोत घटेको बताए । उनले भने, ‘तालतलैया सुकेका छैनन्, जति पानी हुनुपर्ने हो, त्यति नभएको हो ।’
चुरेबाट आएका ग्रेगान माटोले तालतलैयाको गहिराइ घटाएको छ । ताललाई साँघुरो बनाउँदै लगेको छ । त्यसमाथि जलकुम्भी, कराँतेजस्ता मिचाहा झारले ताललाई कुरुप बनाएको छ । रुखबाट खसेका पातपतिङ्गरले पनि तालको गहिराइ घटाउँदै लगेको छ ।
‘तालमा पलाएका अनावश्यक मिचाहा प्रजातिका झारपातले वन्यजन्तुलाई असर परेको छ । वन्यजन्तुहरु आहाल खेलेका छैनन् । चराचुरूङ्गीहरु तालहरुमा रमाएका कम देखिएको छ’ सूचना अधिकारी अर्यालले भने, ‘तालमा पानीको स्रोत घट्नाले गैंडा तालहरुमा कम देखिन थालेको छ ।’
विश्व संरक्षण सूचीमा सूचिकृत निकुञ्जका तालतलैयामा पानीको स्रोतहरु कमी हुँदा वन्यजन्तुले पर्याप्तमात्रामा पानीको प्रयोग गर्न पाएका छैनन् । तालतलैयामा वन्यजन्तुहरु कम देखिँदा पर्यटकीय असरसमेत परेको छ । पानी चरालाई असर परेको छ ।
निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकले चुरेबाट पानीसँगै बगेर आएका गे्रगान माटोले तालतलैयाहरु साँघुरो बन्दै गएको बताए । उनले भने, ‘ग्रेगान माटोले पुरिन थालेको तालतलैयाको सरसफाइ गरिन थालिएको छ । जलकुम्भी हटाउने काम पनि अगाडि बढाइएको छ ।’
सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार निकुञ्जमा पानीको स्रोत बढाउने काम भइरहेको छ । उनले भने, ‘यो वर्ष बीसहजारी तालको सरसफाइ गरिएको छ । जेठ महिनामा अन्य तालतलैयाको सरसफाइ गरेर पानीको स्रोत बढाइने योजना सारेका छौँ ।’ जेठ महिना तालतलैया सरसफाइ गर्न उपयुक्त हुने उनले बताए ।
निकुञ्जका सहायक संरक्षण अधिकृत विनय मिश्रले निकुञ्जका तालतलैयाहरुमा माटोको मात्रा बढ्दै गएको बताए । उनले भने, ‘तालतलैयालाई पुरानै अवस्थामा फर्काउन सरसफाइ गर्न आवश्यक छ ।’
चितवनका तालसम्बन्धी अध्ययनकर्ता बसन्त लामिछानेले तालको गहिराइ, क्षेत्रफल र पानीको गुणस्तरमा समेत ह्रास आएको बताए । उनले भने, ‘मानवीय तथा प्राकृतिक कारणले तालहरु विस्तारै कमजोर बन्दै गएको छ ।’ हालसालै तालसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भएका लामिछानेले मध्यवर्ती क्षेत्रका तालहरुको संरक्षणको लागि स्थानीय समुदायलाई नै जिम्मा लगाउनुपर्ने बताए ।
निकुञ्जका अर्का सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काले पुरिँदै गएका तालहरुलाई मेशिनबाट माटो निकालेर फाल्ने काम भएको बताए । निकुञ्जमा लामीताल, देवीताल, गरुड ताल, कमल ताल, तमोरताललगायतका तालहरु छन् ।

Comments

About the author

चितवन पोष्ट