गृह » हात्ती र गैंडाबाट अन्नबाली जोगाउन रातभर जागराम
प्रमुख समाचार

हात्ती र गैंडाबाट अन्नबाली जोगाउन रातभर जागराम

होमनाथ सापकोटा
रत्ननगर । रत्ननगर नगरपालिकाअन्तर्गत पर्ने मध्यवर्ती क्षेत्रका किसानलाई जंगली हात्ती र गैंडाले आजित बनाएको छ ।
निकुञ्जबाट मानव बस्तीमा प्रवेश गरेको हात्ती र गैंडाले घर भत्काउने, अन्नबाली खाइदिने गरेका छन् । हात्तीले घर भत्काउने र अन्नबालीसमेत खान थालेपछि बछौली, सौराहा, मालपुर, बोद्रहनीका किसानहरु चिन्तित बनेका छन् । गैंडा दिनहुँ बस्तीमा प्रवेश गरेर किसानको अन्नबाली खाइदिने गरेको छ । गैंडाले बालीनाली खाएर अन्न भित्र्याउँन नपाउने अवस्था भएपछि बाली जोगाउन किसानहरु रातभर जागराम बस्न बाध्य छन् ।
जंगली हात्तीले घर भत्काएर अन्न खाइदिन थालेपछि स्थानीय त्रसित बनेका छन् । सौराहाका किसान गिरीधारी चौधरी, बालकृष्ण सापकोटालगायतका किसानहरु बाली जोगाउन रातभर जागराम बस्ने गरेका छन् । गैंडा धपाउन रातभर खेतमा बस्दा हात्ती आएर मार्ने हो कि भन्ने त्रास उत्तिकै रहेको चौधरीले बताए ।
‘राति गैंडा नकुर्ने हो भने बाली भित्र्याउँनै पाइँदैन’ किसान गिरीधारी चौधरीले भने, ‘खेत रोपेपछि राति सुत्नै पाइँदैन ।’ चौधरीले सौराहामा रहेको डेढ बिघा जग्गामा धान रोपेका छन् । हरेक रात आउने गैंडाले उनको धान खाइदिन्छ । रातभर नसुती गैंडा लखेट्नुपर्ने अवस्था छ । किसानले अहिले खेतमा चैते धान र मकै लगाएका छन् ।
रत्ननगर–७ बोद्रहनीका किसान रामजी चौधरीको खेतमा लगाएको धान जंगली हात्तीले सखाप पारेको छ । सोही ठाउँका किसानहरु पशुपति महतो, छलाहा महतो, लक्ष्मण चौधरीको धान र सन्ते चौधरी, छेटुप लामाको मकैबाली हात्तीले सखाप पारेको छ । ‘अब बाली भित्र्याउँला भनेर आशै छैन’ रामजी चौधरीले भने, ‘सबै सखाप पारिसक्यो ।’ निकुञ्जबाट मानव बस्तीमा प्रवेश गरेका वन्यजन्तुले बछौली, सौराहा, बोद्रहनीका किसानले खेतमा लगाएको बिघौंको धानबाली र मकै नष्ट गरेको छ ।
मावन बस्तीमा हात्ती र गैंडाको प्रवेशले मानव जीवनको सुरक्षामा समेत खतरा उत्पन्न भएको छ । हात्ती गाउँ छिरेर घर भत्काउन थालेपछि सुरक्षा चिन्ता बढाएको स्थानीय जितु तामाङले बताए । ‘निकुञ्जबाट हात्ती नियन्त्रणको प्रयास थाल्न जरुरी छ’ संरक्षणकर्मीसमेत रहेका उनले भने, ‘त्यसो नगर्ने हो भने मानवीय क्षति हुने र त्यसले मानव वन्यजन्तुबीचको द्वन्द्व बढ्ने छ ।’ एक हप्ताअघि जंगली हात्ती सौराहा प्रवेश गरेर रत्ननगर– ६ बछौलीका हीराप्रसाद कँडेलको घर भत्काएर भित्र रहेको सबै अन्न खाइदियो ।
‘घरको पछाडिको ढोकाबाट भागेर ज्यान जोगायौं’ं उनले भने, ‘कसो सबै परिवारलाई मारेन ।’ यहीबीचमा रत्ननगर–७ का रमेश केसीको घरको सटर फुटाएर भित्र रहेको चामल हात्तीले खाइदियो । ‘अन्न होइन ज्यानसमेत जोगाउन मुस्किल भयो’ उनले भने, ‘निकुञ्जले छिट्टै हात्तीलाई नियन्त्रण गरेर बस्ती नछिर्ने वातावरण बनाओस् ।’ मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिले वन्यजन्तु बस्तीमा प्रवेश गर्न नदिन जनकौली डुंगाघाटदेखि सौराहासम्म पर्खाल लगाएको छ ।
पर्खाल लगाएको ठाउँबाट वन्यजन्तु बस्ती प्रवेश गर्न कम भएपछि सौराहा क्षेत्रबाट हरेक रात गैंडा र हात्ती बस्तीमा प्रवेश गर्ने गरेका छन् । विद्युतीय तारबारले पनि काम गर्न छाडेको छ । निकुञ्ज र बस्तीको सिमानामा लगाएको विद्युतीय तारबारले काम गर्न छाडेपछि निर्वाधरुपमा वन्यजन्तु बस्तीमा प्रवेश गर्ने गरेको रत्ननगर–७ का वडा सदस्य तथा बोद्रहनीका स्थानीय सोम तामाङले बताए ।
मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बासु ढुंगानाले वन्यजन्तुलाई बस्तीमा प्रवेश गर्न नदिन सिमानामा पर्खाल लगाउने काम सुरू भइसकेको बताए । ‘जनकौली बोद्रहनीघाटदेखि हात्ती प्रजनन् केन्द्रसम्म पर्खाल लगाउने योजना छ’ उनले भने, ‘यो काम पूरा भएपछि वन्यजन्तु बस्तीमा प्रवेश गर्दैनन् र समस्या हल हुन्छ ।’

Comments

About the author

चितवन पोष्ट