गृह » आजादको ट्वीटको विरोधमा ज्ञापनपत्र
समाचार समाज

आजादको ट्वीटको विरोधमा ज्ञापनपत्र

भरतपुर । नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति चितवनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण्को अवसर पारेर भारतीय सांसद कीर्ति आजादले गरेको ट्वीटका विषयमा प्रधानमन्त्री कार्यालयलाई ज्ञापनपत्र बुझाएको छ ।
संघले चितवनका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीको कार्यालयलाई ज्ञापनपत्र बुझाएको हो । आजादले सामाजिक सञ्जालको प्रयोग गर्दै आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै यसप्रति आफ्नो ध्यानाकर्षण भएको संघले जनाएको छ । दुई देशको सदियौं देखिको सम्बन्धलाई खलल पु¥याउने गरी आएको अभिव्यक्तिले नेपालको सामाजिक सद्भाव र अखण्डतामाथि चुनौती थपिएको ज्ञापनपत्रमा उल्लेख छ ।
ज्ञापनपत्रमा स्वतन्त्र, सार्वभौम, स्वाधीन राष्ट्र नेपालको विषयमा भारतीय सांसदले दिएको आपत्तिजनक अभिव्यक्तिका विषयमा नेपाल सरकारले भारत सरकारसँग कुटनीतिक पहल गर्न माग गरिएको छ । यस्तै संघले प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले भारतीय प्रधानमन्त्री मोदीको अभिनन्दका क्रममा दिएको अभिव्यक्तिप्रति पनि आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । देशको अखण्डतामाथि धावा बोल्ने अधिकार मित्रराष्ट्रलाई नभएको भन्दै यस्ता अभिव्यक्ति र घटनाप्रति सरकार सजग रहन आग्रहसमेत गरियो ।
भारतीय प्रधानमन्त्री मोदीको भ्रमणका क्रममा आएका भारतीय सेना के का लागि आएको भन्ने विषयमासमेत स्पष्ट पार्न आग्रह गरिएको छ । ज्ञापनपत्र बुझ्दै चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले आफूले प्राप्त गरेको ज्ञापनपत्रलाई चाँडैं प्रधानमन्त्री कार्यालयमा पठाउने बताए । ज्ञापनपत्र बुझाउन गएका विद्यार्थी र प्रहरीबीच ज्ञापनपत्र बुझाउनु अघि केहि समय भनाभनसमेत भएको थियो ।

Comments

About the author

चितवन पोष्ट