गृह » नक्सा पासमा आर्थिक चलखेल गरेको आरोप
अर्थ समाचार समाज

नक्सा पासमा आर्थिक चलखेल गरेको आरोप

गैंडाकोट । गैंडाकोट नगरपालिकामा घरको नक्सा पास गराउँदा आर्थिक चलखेल भएको आरोप नेपाल विद्यार्थी संघ नवलपुरले लगाएकोे छ ।
संघले मंगलबार गैँडाकोटमा पत्रकार सम्मेलन गरेर घरको नक्सा पासका विषयमा विभिन्न टिकाटिप्पणी भइरहेका बेला नगरपालिकाले त्यसको सूचनासमेत लुकाएको जनाएको छ । ‘नगरपालिकाले नक्सा पास र राजस्व संकलन नै रोकेको मौका छोपेर अविनाश ह्याचरी र जयश्री फुड्सको भवन निर्माणको राजस्व संकलन र नक्सापासको स्वीकृति दिएको पाइयो’, संघका जिल्ला अध्यक्ष राजेश पौडेलले भने, ‘यो नक्सा पास गर्दा नगरपालिकाले पाउनुपर्ने राजस्व भन्दा पनि कम राजस्व दाखिला गरेर नगरपालिकाको आम्दानीमा नै नोक्सानी पु¥याएको छ भन्ने हाम्रो ठहर हो ।’
गतवर्ष असार २८ गते अविनाश ह्याचरी र जयश्री फुड्सको भवन निर्माणका लागि अनुमति प्रमाणपत्र दिएको र त्यसको राजस्व भने असार २९ गते मात्रै संकलन गरेको संघको भनाइ छ । तर, असार २६ गतेदेखि साउन २ गतेसम्म नगरपालिकाले आफ्नो राजस्व संकलन गर्ने सूचना जारी गरेको अध्यक्ष पौडेलले जनाए ।
नगरपालिकामा रहेको तथ्यांकअनुसार गैँडाकोट नगरपालिकाको १३ नम्बर वडामा अविनाशले चार लाख ८८ हजार ४९२ वर्ग फिट र गैँडाकोट नगरपालिकाको वडा नम्बर ९ मा जयश्रीले २७ हजार ४८५ वर्ग फिटको भवन बनाएको छ । नगरपालिकाले यो भवन बनाउँदा अविनाशबाट १४ लाख ६५ हजार ४७८ रुपैयाँ र जयश्रीबाट ८८ हजार ९२७ रुपैयाँ राजस्व संकलन गरेको छ । यो राजस्व अहिलेको राजस्व रकमको तुलनामा निकै कम हो ।
घटनाका विषयमा वास्तविकता के हो भन्ने बारेमा जानकारी लिन पटकपटक नगरपालिकामा निवेदन दिँदा पनि त्यसको सुनुवाइ नगरी सूचनाको हकमा समेत बन्देज लगाइएको पनि संघका अध्यक्ष पौडेलले जनाए । यता नगरपालिकाका मेयर छत्र पौडेलले भने सो घटनाका बारेमा अनुसन्धान भइरहेको जनाउँछन् । ‘नेपाल विद्यार्थी संघले उठाएको सवाल गम्भीर छ । यसको वास्तविता अध्ययन गर्न नगरपालिकाको न्यायपरिषद्को संयोजकसमेत रहने उपप्रमुखको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ’, मेयर पौडेलले भने, ‘यो घटना कसरी भयो ? छानबिनमा जो कोही दाषी ठहरिए नगरपालिका कारबाही गर्न प्रतिबद्ध छ ।’

 

Comments

About the author

चितवन पोष्ट