गृह » अवैध पशुपंछीजन्य उत्पादन रोक्न माग
समाचार समाज

अवैध पशुपंछीजन्य उत्पादन रोक्न माग

भरतपुर । भारतीय सीमावर्ती क्षेत्रबाट सहजरुपमा पंछीजन्य पदार्थहरु नेपाल भित्रिने गरेकाले यसको नियन्त्रण गर्न व्यवसायीले माग गरेका छन् ।
भारतीय सीमा जोडिएका पूर्वी तराई तथा पश्चिम तराईका जिल्लाबाट कुखुराजन्य उत्पादनहरु सहजरुपमा नेपाल भित्रिँदा यसले विभिन्न रोगको संक्रमण बढाउन सक्ने व्यवसायीले बताएका हुन् । भरतपुरमा आयोजना गरिएको पशु क्वारेन्टाइन समन्वयबारे अन्तक्र्रिया गोष्ठीमा पोल्ट्री व्यवसायी मञ्चका अध्यक्ष डा होमबहादुर बस्नेतले भारतीय सिमावर्ती बजारमा नेपालमा फार्म दर्ता गरेर रातारात भारतबाट कुखुराजन्य उत्पादन भित्र्याउने प्रवृत्ति बढेकाले यसको नियन्त्रण गर्नुपर्ने बताए ।
कार्यक्रममा पशु क्वारेन्टाइन कार्यालय काठमाडौँका निमित्त प्रमुख डाक्टर ब्रजकिशोर ठाकुरले अवैधरुपमा नेपाल भित्रिने पशुपंंछीजन्य उत्पादनको नियन्त्रणमा प्रहरी, स्थानीय प्रशासन, व्यवसायी, भन्सार कर्मचारी सबैले सहयोग गर्नुपर्ने बताए । नेपालबाट देशका विभिन्न क्षेत्रमा जाने पशुपंछी उत्पादनको गुणस्तर चेकजाँच गर्नको लागि पशु क्वारेन्टाइन स्थापना गरिएकोले उक्त ठाउँमा जँचाएर जान आग्रह गर्दै अन्यत्रबाट लिएर गएको पाइएमा कारबाही गरिने बताए ।
अन्तक्र्रिया कार्यक्रममा राष्ट्रिय पंक्षीरोग अन्वेषण केन्द्रका प्रमुख डाक्टर दयाराम चापागाईँले खुला सिमानाका कारण अवैधरुपमा पशुपंक्षीजन्य उत्पादनहरु नेपाल भित्रिने गरेको बताए । जसका कारण भारतका पशुपंछीमा देखिएका विभिन्न सरुवा रोगहरु सजिलै नेपाल भित्रिन सक्ने भएकाले यसतर्फ सचेत हुनुपर्ने बताए । जिल्लाका पशुपंक्षी व्यवसायी, पशु चिकित्सक, सुरक्षा निकाय, दाना व्यवसायी, सामुदायिक वनका प्रतिनिधिलगायतका सरोकारवालाहरु सहभागी भएको कार्यक्रमका प्रमुख अतिथि जिल्ला पशु सेवा कार्यालय चितवनका प्रमुख डाक्टर चेतनारायण खरेल रहेका थिए । पशु क्वारेन्टाइन कार्यालय काठमाडौँका निमित्त प्रमुख डाक्टर ब्रजकिशोर ठाकुरको अध्यक्षतामा भएको छलफल कार्यक्रममा पशु क्वारेन्टाइन चेकपोष्ट चितवनका प्रमुख डाक्टर दुर्गाप्रसाद पौडेलले स्वागत मन्तव्य राखेका थिए ।

Comments

About the author

चितवन पोष्ट