गृह » पर्यटन विकासमा जुर्मुराए महिला 
प्रमुख समाचार

पर्यटन विकासमा जुर्मुराए महिला 

किशोर खनाल
खैरहनी । राप्ती र खैरहनी नगरपालिकाअन्तर्गत मध्यवर्ती सामुदायिक वनका महिला प्रतिनिधिहरु पर्यटन विकासमा जुर्मुराएका छन् ।
राप्ती नगरपालिका वडा नं. ६ को एकता मध्यवर्ती सामुदायिक वन, खैरहनी नगरपालिकाका कण्ठेश्वरी मध्यवर्ती सामुदायिक वन, देवीथान मध्यवर्ती सामुदायिक वन र कुचकुचे मध्यवर्ती सामुदायिक वनका महिला प्रतिनिधिहरु पर्यटनको विकासमा लागेका छन् । अगुवा महिलाहरुले गोष्ठी, भेलालगायतका कार्यक्रम आयोजना गरी केकसरी पर्यटन विकासलाई अगाडि बढाउन सकिन्छ भनेर कार्ययोजनासमेत कोरेका छन् ।
महिलाको सक्रियतामा जीप सफारीको लागि सामुदायिक वनभित्र तीनवटा बाटोहरु खोलिएको छ । जीप सफारीबाट चारवटा मध्यवर्ती सामुदायिक वनमा रहेका वन्यजन्तु हेर्न सकिन्छ ।
कण्ठेश्वरी सामुदायिक वनका कोषाध्यक्ष देवका रेग्मीले जीप सफारी गर्नको लागि पर्यटक आउन सुरू भइसकेको जानकारी दिइन् । उनले भनिन्, ‘महिलाको सक्रियतामा पर्यटकलाई आकर्षण गर्ने काम भइरहेको छ ।’
मध्यवर्ती सामुदायिक वनमा जीप सफारीको लागि सडक बनाउन खैरहनी नगरपालिकाले ३० लाख रुपैयाँ उपलव्ध गराएको थियो । ‘अगुवा महिलाको सक्रियतामा नगरपालिकाले बजेट दियो । यतिबेला महिला आफैँ सक्रिय भएर आफ्नो गाउँठाउँमा पर्यटक तान्न कस्सिएर लागिरहेका छन्’ महिला अगुवा रेग्मीले भनिन् ।
पर्यटकलाई आकर्षण गर्न चारवटा सामुदायिक वनमा सरसफाइको काम पनि भएको छ । मानव र वन्यजन्तुको द्वन्द्व न्यूनीकरणको लागि वनमा नेट जाली हाल्ने काम पनि भइरहेको छ । नेट जालीको लागि खैरहनी नगरपालिकाले २१ लाख बजेट दिएको छ ।
‘नेट जाली बनाउने काममा २१ लाख खर्च भइसकेको छ, अब चार लाखको काम सम्पन्न गर्न बाँकी छ’ रेग्मीले भनिन् । पर्यटन विकासको लागि महिलाको सक्रियतामा वनभित्र घाँस काट्नका लागि निश्चित क्षेत्र तोकिएको छ । वन्यजन्तु क्षेत्र तोकिएको छ । महिलाले वनलाई सुन्दर बनाउन विभिन्न समिति र उपसमितिहरु गठन गरेका छन् ।
पर्यटक जीप सफारी समन्वय समिति गठन गरिएको छ । जुन समितिले जीप सफारीलाई व्यवस्थित गरिरहेको छ । ‘आँगनमा भएको वन र वन्यजन्तु देखाएर हामी डलर कमाउने सोचले अगाडि बढेका छौँ, जहाँ स्थानीय महिलाहरुले ठूलो भूमिका खेलेको छन्’ कण्ठेश्वरी सामुदायिक वनका अध्यक्ष भवानीप्रसाद सेढाईंले भने ।
वनका महिला प्रतिनिधिहरुको जोडबलमा चारवटा मध्यवर्ती सामुदायिक वन हेर्न मिल्ने गरी यतिबेला भ्यू टावर निर्माणको काम भइरहेको छ । खगेन्द्र मल्ली उपभोक्ता समितिले भ्यू टावर निर्माणको जिम्मा लिएको छ ।
यसैगरी महिलाहरुको पहलमा होमस्टे निर्माणको काम पनि अगाडि बढेको छ । ‘तीन होमस्टे बनाउँदैछौँ । पर्यटकलाई दैलोको वन देखाएर यहाँका महिलाहरु आत्मनिर्भर बन्न खोजिरहेका छन्’ कण्ठेश्वरी सामुदायिक वनका कोषाध्यक्ष रेग्मीले भनिन्, ‘सौराहा आएका पर्यटकलाई हामी चारवटा सामुदायिक वन घुमाएर प्रशस्त वन्यजन्तु देखाउने सुरसारमा लागेका छौँ ।’ यहाँका मध्यवर्ती सामुदायिक वनभित्र गैंडा, बाघ, बँदेल, मयुरलगायत थुप्रै वन्यजन्तुहरु देख्न पाइन्छ ।
कठार पर्यटन विकास समितिले सामुदायिक वनमा पर्यटकलाई जंगल अवलोकन गर्न सहयोग पु¥याइरहेको छ । समितिका अध्यक्ष जिताराम चौधरीले पर्यटकको लागि आदिवासी जनजातिको संस्कृति सङ्ग्रहालय बनाउन पहल भइरहेको बताए । उनले भने, ‘स्थानीय महिलाको पहलमा धेरै काम भइरहेको छ, स्थानीय तहले पनि सहयोग गरिरहेको छ ।’ कण्ठेश्वरी सामुदायिक वनका पूर्वसदस्य राजु सापकोटाका अनुसार महिलाको अगुवाइमा भएका कामहरु प्रभावकारी भएको बताए ।

Comments

About the author

चितवन पोष्ट