गृह » अलमलमै स्थानीय तहको एक वर्ष, ‘राप्तीमा चेपाङको जीवनस्तर उकासिएन’
Uncategorized प्रमुख समाचार

अलमलमै स्थानीय तहको एक वर्ष, ‘राप्तीमा चेपाङको जीवनस्तर उकासिएन’

किशोर खनाल
भण्डारा । स्थानीय चुनावको बेला एउटा नारा धपक्कै बल्यो । नारा थियो, काठमाडौँको सिंहदरबार गाउँगाउँमा । तर, यो नारा गाउँमा होइन, काठमाडौँको सिंहदरबारमै सीमित छ । काठमाडौँको सिंहदरबार स्थानीय तहमा छिरेको अनुभव जनताले गर्न पाएका छैनन् । स्थानीय तहले निर्वाचित जनप्रतिनिधि पाएको एक वर्ष पूरा हुन केही दिनमात्र बाँकी छ । तर, पनि अपेक्षाअनुसारको अनुभूति नगरवासीले गर्न पाएका छैनन् । जनप्रतिनिधिले अलमलमै एक वर्ष गुजारेका छन् । चाहेर पनि बजेट अभावले काम गर्न नसकेका गुनासो गर्छन् ।
चितवनको राप्ती नगरपालिकामा पनि सिंहदरबार छिर्न नसकेको अनुभूति त्यहाँका जनताले गरेका छन् । राप्ती नगरपालिकाले आफ्नो व्यवस्थापनमै एक वर्ष गुजारेको छ ।
‘हिजो भनेजस्तो काठमाडौँको सिंहदरबार राप्ती नगरपालिकामा छिरेको अनुभूति भएको छैन’ राप्ती नगरपालिका वडा नं. ६ मा रहेको भण्डारा माविका प्रधानाध्यापक भोजराज तिवारीले भने । उनले नगरपालिकामा सिंहदरबार नछिरे पनि विकास छिर्न सुरू भएको अनुभूति गरे ।
प्राचार्य तिवारीले भने, ‘सिंहदरबार गाउँमा आएन, आउनैपर्ने विकास पनि अझै आएको छैन ।’ प्राचार्य तिवारीले राप्ती नगरपालिकामा छलाङ मार्ने गरी काम नभए पनि सुधारका केही कामहरु भएको बताए ।
प्राचार्य तिवारीले राजमार्गलाई चौडाइ बनाउने, साना विद्यालयलाई मर्ज गर्ने, गाउँगाउँमा सडक पक्की बनाउने, खोलाहरु तटबन्ध गर्नेलगायतका कामहरु नगरपालिकाले सुरू गरेको बताए । राप्ती नगरपालिका चेपाङ बाहुल्य क्षेत्र भएको नगरपालिका हो । यस नगरपालिकामा चेपाङको जनसंख्या झण्डै १२ हजार छ । राप्तीका १०, ११, १२, १३ नम्बर वडामा अन्य जातिको तुलनामा चेपाङको जनसंख्या धेरै छ । चेपाङ जाति पनि जनप्रतिनिधि छन् । तर, पनि उनीहरुको अवस्था उस्तै छ ।
‘काठमाडौँको सिंहदरबार चेपाङ गाउँमा पसेको छैन । राप्तीका चेपाङहरु शिक्षाको पहुँचबाट टाढा छन्’ चेपाङ संघ चितवनका अध्यक्ष लक्ष्मण चेपाङले भने, ‘नगरपालिकाले केही हदसम्म काम गरे पनि उपलव्धिमूलक भएको देखिएन ।’ अध्यक्ष चेपाङका अनुसार चेपाङ बस्तीमा कच्ची सडक त पुग्यो तर उनीहरुको जीवनस्तर उकासिएको छैन ।
अध्यक्ष चेपाङले प्राकृतिक स्रोतसाधन भए पनि सदुपयोग हुन नसकेको बताए । उनले चेपाङ समुदायलाई बाख्रापालन, तरकारीखेती, महउत्पादनलगायत सीपमूलक काममा लगाउनुपर्ने बताए ।
‘चेपाङ समुदायको उत्थानको लागि नगरपालिकाले नयाँ योजनाहरु ल्याउन जरुरी छ । चेपाङ गाउँमा पनि सिंहदरबार पुगेको अनुभूति दिलाउन नगरपालिका लाग्नुपर्छ’ उनले भने । साविकका गाविस भण्डारा, पिप्ले, वीरेन्द्रनगर, लोथर र कोराक मिलाएर राप्ती नगरपालिका बनाइएको हो । यहाँ १३ वटा वडा छन् । यसको क्षेत्रफल १२१.३९ वर्गकिलोमिटर छ । यहाँ ७० हजारभन्दा बढी जनसंख्या छ । ५४ सामुदायिक र १० संस्थागत विद्यालय छन् । ६ स्वास्थ्यचौकी छन् ।
‘डाक्टर र अस्पतालविहीन भएको नगरपालिका हो राप्ती, यस नगरपालिकामा जनताले धेरै अपेक्षा गरेका छन् । हामी विकासमा बामे सर्दैछौँ’ राप्ती नगरपालिकाका प्रमुख प्रभा बरालले भनिन्, ‘एक वर्षको अवधिमा हामीले धेरै गरेका छौँ, यतिले पुगेको छैन । अझ धेरै गर्न बाँकी छ ।’
एक वर्षको अवधि राप्ती नगरपालिका सीमित कर्मचारीको भरमा चल्नुप¥यो । अझै नगरपालिकाको प्रशासनिक भवन छैन । दक्ष प्राविधिकको समस्या छ । सबै वडा कार्यालयको भवन छैन । केहीको बन्न सुरू हुँदैछ । सदरमुकाम भरतपुरबाट सबैभन्दा पुच्छारमा पर्छ । यहाँ भूकम्पपीडित पनि पर्याप्त छन् । एैलानी जग्गामा बसोबास गर्ने पनि थुप्रै छन् ।
‘हामी पहिले नै सेवासुविधा र विकासबाट ठगिएका छौँ, तर पनि जनप्रतिनिधि आएपछि धेरै सुधारका संकेतहरु देखिएका छन्’ मेयर बरालले भनिन्, ‘कृषि, पर्यटन, शिक्षा र सडकलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौँ ।’
मेयर बरालका अनुसार राप्ती नगरपालिकाले राजमार्गलाई २५ मिटरको फराकिलो बनाउने कामदेखि वृद्धभत्तालाई बैंकिङमार्फत उपलव्ध गराउने काम गरेको छ । नगर प्रोफाइल बनाउने काम भइरहेको छ । चेपाङ बस्तीसम्म पुग्ने सडकहरु बनाउने काम भइरहेको छ । मेयर बरालले राप्तीमा एकीकृत बजार व्यवस्थापन गर्न जरुरी रहेको बताइन् ।
नगरपालिकाले सार्वजनिक सम्पत्ति संरक्षणको लागि समिति बनाएको छ । पर्यटकीय स्थलको विकासमा बजेट विनियोजन गरेको छ । यसैगरी कान्दा, थाकलटार र यौरालीटारमा आवासीय स्कुल बनाइएको छ । खोलाहरु तटबन्ध गरिएको छ । चेपाङको बाहुल्य भएको ठाउँमा चिउरीखेती गर्ने योजना अघि बढेको छ । ‘पहाडी भेगलाई मौरीको जोन बनाएर मह उत्पादन गरी चेपाङको जीवनस्तर उकास्ने योजना छ’ प्रमुख बरालले भनिन्, ‘नगरपालिकाले एक वर्षको अवधिमा विकासको बाटो कोरेको छ, अको वर्ष यसलाई मजबुद बनाइनेछ ।’

Comments

About the author

चितवन पोष्ट