गृह » मलाई मन परेका मेरा प्रिय १५ पुस्तक
साहित्य

मलाई मन परेका मेरा प्रिय १५ पुस्तक

– सरुभक्त
मलाई आफ्नो साहित्यिक जीवनमा ज्ञान–विज्ञानका असङ्ख्य पुस्तकहरुले प्रभावित पारेका छन् । तिनमा सर्वाधिक प्रभाव पारेका पन्ध्र पुस्तकको सूचि तयार पार्नु कठिन मात्र होइन असम्भव जस्तो लाग्छ । एउटा पुस्तकलाई मन पर्ने सूचीमा राख्दा अर्को मन पर्ने पुस्तकलाई अन्याय पनि हुनसक्छ । इमानदारितापूर्वक भन्दा म ‘दुई दुना चार’ भनेझैँ गरी यी पन्ध्र पुस्तक नै मलाई सबैभन्दा प्रभावित पार्ने पुस्तक हुन् वा मन पर्छन् भनी दाबी गर्न सक्दिनँ । एकमात्र महाग्रन्थ ‘महाभारत’लाई म सर्वाधिक मन पर्ने भन्न सक्छु । बाँकी चौध पुस्तक मलाई असाध्य मनपर्ने पुस्तक हुन् ।
एक ठाउँमा राख्दा, मेरो रोजाइका पुस्तकहरुको सूची यस्तो छ :
१. महाभारत :
म यो महाग्रन्थलाई सर्वाधिक मन पराउँछु मात्र होइन, विश्वकै सर्वाधिक मह¤वपूर्ण सिर्जना भन्न रूचाउँछु । महाभारतमा मानवजीवनका यावत् सुखदुःख, भाग्य–अभाग्य, घात–प्रतिघात, दर्शन र द्वन्द्वहरु छन् । चरित्रहरुको विराटता र महानता कुनै ग्रन्थमा खोज्नु प¥यो भने ‘महाभारत’ नै पल्टाउनुपर्छ । महाभारतमा जीवनमूल्य र शाश्वत मूल्यहरुको खोजी मात्र छैन, मूल्यहरुको खोजीमा चुकाउनु पर्ने मूल्यहरुको अमूल्य इतिवृत्त पनि छ ।
२. युद्ध र शान्ति :
रुसमा महान् साहित्यकार लियो टोल्स्टोयद्वारा रचित विराट् उपन्यास ‘युद्ध र शान्ति’ मलाई मनपर्ने महान् उपन्यास हो । नेपोलियनकालीन फ्रान्स र जारकालीन रुसबीचको ऐतिहासिक युद्धको सेरोफेरो संरचित यस उपन्यासमा टोल्स्टोयले मूल रुपमा भू–दास प्रथाकालीन रुसको अभिजात वर्गीय समाजको जीवन्त चित्रण गरेका छन् । नताशा, पेरी, बोल्कोन्सीलगायत सयौँ चरित्रहरुले शोभायमान यस उपन्यासले तत्कालीन समयको मात्र नभनी समग्र जीवनकै कथा भनेको छ ।
३. ह्यामलेट
अंग्रेजी साहित्यमा महानतम् नाटककार शेक्सपियरको दुःखान्त नाटक ह्यामलेट मलाई मन पर्ने अर्को पुस्तक हो । यद्यपि, शेक्सपियरका सबै दुःखान्त नाटक विश्वविख्यात छन्, तर ह्यामलेटले चर्चेको जीवन, जीवनभित्र नाटकले जीवनसम्बन्धी गहन प्रश्न उपस्थित गर्छन् । जीवनको सर्वाधिक गहन प्रश्न सायद ‘टु बी अर नट टु बी’ नै हो, जुन उत्तरित भएर पनि सधैँ अनुत्तरित छ ।
४. अनओरिजन अफ स्पेसिस बाइ मिन्स अफ नेचरल सिलेक्सन : 
साढे एक शताब्दीअगाडि प्रकाशित भएको चाल्र्स डार्बिनको यो चर्चित र विवादास्पद वैज्ञानिक ग्रन्थ आधुनिक विश्व चेतनालाई मन्थन गर्न सफल छ । विकासात्मक जीवविज्ञानको जग हाल्ने यो महान् ग्रन्थको वैज्ञानिक प्रयोग र खोजको आधारमा जैविक अस्तित्वसम्बन्धी जुन अवधारणा प्रस्तुत गरेको छ, त्यसले यथास्थितिवादी चिन्तनका सबै पर्खाल ढलाइदिएको छ । के साहित्य, के विज्ञान, के दर्शन, के समाजशास्त्र, के राजनीतिशास्त्र– सबैतिर चाल्र्स डार्बिनको प्रभाव परेको छ । यसैले, यो ग्रन्थलाई म वैज्ञानिक ग्रन्थमात्र होइन, समग्र मानवीय चिन्तनको ग्रन्थ भन्न रूचाउँछु ।
५. दी इन्टरप्रिटेसन अफ ड्रिम्स :
आधुनिक मनोविश्लेषणका जन्मदाता सिग्मन्ड फ्रायडको ‘दी इन्टरप्रिटेसन अफ ड्रिम्स’ चाल्र्स डार्बिनको ‘अन ओरिजन अफ स्पेसिस बाइ मिन्स अफ नेचरल सिलेक्सन’ प्रकाशन भएको झन्डै तीन दशकपछि प्रकाशित भएको थियो । डार्बिनको पुस्तकले सम्पूर्ण जीव अस्तित्वलाई नयाँ परिभाषा दिएको थियो भने फ्रायडको यो पुस्तकले मानव अस्तित्वको अन्तस्थ अवचेतनलाई नयाँ परिभाषा दियो । मानिसका लागि मानिसको मनको खोज सर्वाधिक जटिल र चासोको विषय हो । फ्रायडको अध्ययनले जीवन र जीवनसम्बन्धी ज्ञान–विज्ञानका इतिहासलाई व्यापक प्रभाव पारेकाले मलाई यो पुस्तक मह¤वपूर्ण लागेको छ ।
६. हिस्ट्री अफ वेस्टर्न फिलोसफी : 
बिसौँ शताब्दीका महान् वैज्ञानिक–दार्शनिक बट्रेन रसेलद्वारा रचित यो ग्रन्थ मेरो सर्वप्रिय ग्रन्थमध्ये एक हो । यस ग्रन्थमा उनले प्राविधिक दार्शनिक भाषा प्रयोग नगरी (आफ्नो दार्शनिक अवधारणामा जस्तो) सकेसम्म सरल, साहित्यिक भाषाको प्रयोग गरी पश्चिममा दर्शनको उद्भव र विकासक्रमलाई बुझाउने चेष्टा गरेका छन् । यस ग्रन्थको सबैभन्दा उल्लेख्य विशेषता के हो भने उनले दर्शनको इतिहासलाई सपाट विवरणमात्र नदिई आफ्नो समझअनुसार समुचित विश्लेषण पनि प्रस्तुत गरेका छन् ।
७. दस स्प्याक जरस्थुस्त्र :
पश्चिमी दर्शनशास्त्रको इतिहासमा फुलेको यो सुन्दर फूल हो, जसलाई धेरैले काँडाको रुपमा लिएका छन् । स्वयं दार्शनिक फ्रेडरिक नित्सेको व्यक्तिगत जीवनको घामछाया यसमा पनि परेका छन्, बहसको विषय हुनसक्छ । तर, यो दार्शनिक ग्रन्थको ‘अफ बिट’ साहित्यिक शैली, ईश्वर मृत्युको उद्घोष, महामानवको परिकल्पना आदिले विचार र विचारद्वारा प्रेरित राजनीतिको इतिहासमा उल्लेख्य प्रभाव सिर्जना गरेका छन् ।
दर्शनशास्त्र सरस र साहित्यिक हुनसक्छ भन्ने सत्यको बेजोड उदाहरण भएकाले मलाई यो ग्रन्थ प्रिय लाग्छ ।
८. दास क्यापिटल
विश्वका महान् राजनीतिक विचारक एवं दार्शनिक कार्लमाक्र्सको ‘दास क्यापिटल’ मलाई प्रिय लागेको अर्को ग्रन्थ हो । यो मूल रुपमा पुँजीवादी अर्थशास्त्रको ग्रन्थ हो । यसमा उनले पुँजीवादी अर्थशास्त्रको अवस्थिति, श्रमशोषणका स्वरुपबारे विश्लेषणात्मक रुपले अर्थशास्त्रीय अध्ययन प्रस्तुत गरेका छन् । उनको यस गहन अध्ययनले समतावादी विश्वको परिकल्पनामा बलियो जगढुङ्गाको काम गरेको छ ।
९. गान्धीको आत्मकथा : 
भारतका राष्ट्रपिता महात्मा गान्धी मूल रुपमा अहिंसा र सत्यका पूजारी थिए । थोरो, टोल्स्टोय र पूर्वीय धर्म–दर्शनद्वारा पे्ररित उनले सत्याग्रहको माध्यमले विशाल देश भारतलाई स्वतन्त्रता दिलाएका थिए । अन्य राजनीतिक व्यक्तित्वहरु भन्दा भिन्न उनको व्यक्तिगत जीवन र चरित्र थियो । उनी जीवनलाई एक प्रयोग सम्झन्थे । उनले आफ्नो व्यक्तिगत जीवन र कर्मलाई कसरी प्रयोगात्मक रुपले हेर्थे भन्ने कुराको इमानदारितापूर्ण अभिलेख यस पुस्तकमा भएकाले मलाई यो पुस्तक मह¤वपूर्ण लाग्छ ।
१०. दी ओल्ड म्यान एण्ड दी सी :
अमेरिकी साहित्यका महान् आख्यानकार अर्नेस्ट हेमिङ्वेले विश्वसाहित्यमा आख्यानलेखन शैलीमा नयाँ आयाम थपेका थिए । साहित्यिक जीवनको उत्तरार्धमा रचना गरिएको ‘दी ओल्ड म्यान एण्ड दी सी’ मा उनले क्युबाका एक बूढो माझी सान्टिआगोको जीवन सङ्घर्षलाई शाश्वत मूल्य प्रदान गरेका छन् । उनको यो उपन्यासको प्रेरणामा मैले ‘चुली’ उपन्यास रचना गरेको थिएँ ।
११. वन हन्ड्रेड इयर्स अफ् सोलिच्युडस् :
मायिक यथार्थवादका प्रवर्तक मानिने गाव्रियल गार्सिया मार्खेजको यो औपन्यासिक कृतिको म प्रशंसक हुँ । यो उपन्यासमा उनले जोस अर्काडिओ बुन्डिया र असुर्लाको पारिवारिक जीवनको कथाव्यथा, माकोन्डोको कथाव्यथाका माध्यमले ल्याटिन अमेरिकी जीवनको एक विलक्षण रुपरेखा प्रस्तुत गरेका छन्, महाकाव्यात्मक स्वरुपले । माया र यथार्थको संयोजनबाट उपन्यासमा नयाँ क्षितिज उघार्न सकिन्छ भन्ने कुराको अद्वितीय उदाहरणका रुपमा म यस उपन्यासलाई स्मरण गर्छु ।
१२. दी वेस्ट ल्यान्ड एण्ड अदर पोयम्स :
विश्व कविता लेखन शैलीलाई नयाँ आयाम दिने बिसौँ शताब्दीका महान् कवि हुन् टी. एस. इलियट । गद्यकवितामा सरलताको नाममा सपाट लेखन भित्रिएको बेला उनले त्यसमा नयाँ गहिराइ थपेका थिए । उनको दी वेस्ट ल्यान्ड, दी लभ सङ अफ अल्फ्रेड प्रुफोर्क, दी होलोम्यान, एस वेइनसडे आदि कविताले विश्वव्यापी प्रभाव पारेका थिए । उनलाई जटिलता, अमूर्त भएको आरोप लागे पनि उनी मेरो लागि सघन कविताका बिम्ब हुन् ।
१३. वेटिङ फर गोदो
सामुयल बेकेटको यो नाटक विसङ्गतिवादी नाटकको प्रतिनिधि नाटक हो । दोश्रो विश्वयुद्धकालीन निराशा र अवसादको पृष्ठभूमिमा अस्तित्ववादी चिन्तन निस्सारतामा विलय भएपछि विसङ्गत यथार्थले मह¤व पाएको थियो । यस नाटकले जीवनको यो अँध्यारो अवस्थितिलाई नयाँ शैलीले प्रस्तुत गरेको छ ।
१४. अ ब्रिफ हिस्ट्री अफ टाइम :
विश्वका महान् वैज्ञानिक स्टेफन हकिङको यो चर्चित पुस्तक मेरो सर्वोत्कृष्ट पुस्तकमध्ये एक हो । यस पुस्तकमा उनले विज्ञानको, विशेषगरी भौतिक विज्ञानको शास्त्रीय व्याख्या नगरी यससम्बन्धी नवीन वैज्ञानिक खोज र प्रश्नहरु गरेका छन् । ब्रह्माण्ड र समयको जटिलतालाई सरल, सहज भाषामा प्रस्तुत गरेर उनले विज्ञानलाई सर्वसाधारणको चासोको विषय बनाउन सफलता प्राप्त गरेका छन् ।
१५. विइङ एण्ड नथिङनेस
जाँ पाल सात्र्रको दार्शनिक ग्रन्थ अस्तित्ववादी दर्शनको एक आधार स्तम्भ हो । यसमा उनले भविता, शून्यता, वरण स्वतन्त्रता र अन्य धेरै आस्तित्विक प्रश्नहरुमाथि त¤वमीमांसीय एवं ज्ञानमीमांसीय अवधारणा प्रस्तुत गर्न सफलता प्राप्त गरेका छन् । यिनै कारणले मलाई यो ग्रन्थ मह¤वपूर्ण लाग्छ ।

Comments

About the author

चितवन पोष्ट