गृह » (दुई गजल)
साहित्य

(दुई गजल)

– राजन पराजुली
rajan2048.rp@gmail.com
छोड्नेको नै याद किन आउँछ घरीघरी
मन, मुटुमा तस्बिर किन छाउँछ घरीघरी

तँ मेरो कोही होइनस् भनेर जाँदाजाँदै पनि
उसकै माया हरपल किन लाउँछ घरीघरी

चोखो माया कहिल्यै मर्दैन भन्छ दुनियाँ त
छुट्नुपर्ने सजाय किन पाउँछ घरीघरी

कसैलाई बिर्सिने दबाइ पाइँदैन भन्छन् फेरि
याद बिर्साउन भट्टी किन धाउँछ घरीघरी

भगवान् देखेर रिस उठ्छ आजकल धेरै
बिछोड हुने प्रीत किन पठाउँछ घरीघरी

१.
तिमीलाई छोडी जाँदै छु नरूनू है कान्छा
हरेक रात सिरानी आँसुले नधुनू है कान्छा

यहीँसम्म रै’छ हाम्रो मिलन दैव लागेपछि
मलाइ सम्झिँदै मेरो तस्बिर नछुनू है कान्छा

हाँस्छ मान्छे दुनियाँ फेरि उडाउँदै मजाक
मेरो यादमा हजुर पागल नहुनू है कान्छा

सकेसम्म सबै कुरा बनाइदिनू खरानी
मनमा कुरा खेलाएर पीडा नबुनू है कान्छा

फेरि मेरै चित्र नजरमा आउला तिमीलाई
मेरा कुरा पटकपटक नसुनू है कान्छा

(भरतपुर–२८)

 

Comments

About the author

चितवन पोष्ट