गृह » विकास प्राथमिकतामा चितवन : प्रचण्ड
राजनीति समाचार समाज

विकास प्राथमिकतामा चितवन : प्रचण्ड

दिपेन्द्र अधिकारी
भरतपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास प्राथमिकताका हिसाबले चितवन पहिलो नम्बरमा रहेको बताएका छन् ।
यहाँ उद्योग कलकारखाना, पर्यटन विकास, आधुनिक कृषि प्रविधि सबै सम्भव रहेको बताउँदै प्रचण्डले अब चितवन निकट भविष्यमा विकासको एउटा चरणमा पुग्ने बताए । बुधबार प्रेस सेन्टर चितवनले भरतपुरमा आयोजना गरेको विकास र समृद्धि बारेको अन्तक्र्रियामा प्रचण्डले चितवन देशको केन्द्र भागमा रहनुको नाता र यहाँको भौगोलिक विशिष्टताले चितवनमा विकास सम्भव रहेको बताएका हुन् ।
छिमेकी जिल्ला समेटिने
चितवनको विकास खाका कोरिँदै गर्दा छिमेकी जिल्लाहरु नवलपुर, मकवानपुर, धादिङ र छिमेशी देश भारतलाई समेत समेटेर विकासको मोडेल तयार हुने प्रचण्डले बताए । बजेट तयारी, ऐन कानुन निर्माण र अध्यादेश टुंंग्याउने तयारीमा सरकार र पार्टी लागेको भन्दै नयाँ बजेट मार्फत जनताका सबै माग सम्बोधन हुने प्रचण्डको भनाइ छ । प्रचण्डले नयाँ बजेटअघि नै हुलाकी राजमार्ग, शारदानगर चनौली सडक र विभिन्न १० भित्री सडकहरुमा चालु बजेटबाट रकम निकासा गरिएको बताए । कृषिमा आधारित उद्योग स्थापनाका लागि आफूहरुले कुरा गरिरहेको उनले बताए । त्यस्तै इजरायलमा भएको आधुनिक कृषि प्रविधिको मोडल चितवनमा ल्याउने गरी छलफल भइरहेको उनले बताए ।
कृषिमा जोड
जग्गा खण्डीकरण पूर्णरुपमा रोक्नुपर्ने भन्दै उनले विश्वमा नै कृषि क्षेत्रमा ख्याति कमाएको इजरायलसँग सहकार्य गरेर एकीकृत कृषि प्रणाली सुरू गरिने बताए । नेपालका १५ ठाउँ र सोमध्ये चितवनको एक ठाउँमा नमूना कृषि क्षेत्र बनाउने विषयमा इजरायलसँग छलफल भइरहेको उनले बताए । आफू कृषि क्षेत्रको विद्यार्थी भएको नाताले पनि कृषिमा आधारित उद्योग स्थापनाका लागि विशेष जोड दिएको उनले बताए । त्यस्तै चीनका केही व्यापारिक घरनाले चितवनमै मात्र २५ वटा उद्योगहरु खोल्न अहिले सम्भावना अध्ययन गरिरहेको प्रचण्डले बताए । चुनावी अभियानको क्रममा आफूले अघि सारेका चितवन निकुञ्जमाथिको आकाशे पुल, नारायणी नदीमा मोटर पुलको काम आगामी बजेटमा समेटिने उनले बताए ।
चितवनमा मुख्य कार्यालय
पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदेशका केही मन्त्रालय, राष्ट्रपति चुरे संरक्षणको केन्द्रीय कार्यालय र प्रदेश प्रहरीको हेडक्वाटर चितवनमा राख्ने निर्णय भएको बताएका छन् ।

 

Comments

About the author

चितवन पोष्ट