गृह » क्यान्सर अस्पतालमा कर्मचारीको माग पूरा गर्न प्रधानमन्त्रीको कार्यकारीलाई निर्देशन
प्रमुख समाचार

क्यान्सर अस्पतालमा कर्मचारीको माग पूरा गर्न प्रधानमन्त्रीको कार्यकारीलाई निर्देशन

दिपेन्द्र अधिकारी
भरतपुर । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा पछिल्लो समय बढुवाका लागि भएको चलखेलका विषयमा मन्त्रिपरिषद्को कार्यालयले अस्प्तालमा पत्र पठाएको छ ।
असन्तुष्ट कर्मचारीले प्रधानमन्त्री कार्यालयमा पत्र पठाएपछि पत्रको जवाफमा प्रधानमन्त्री केपी ओलीको आदेश अनुसार अस्पताल बोर्डले गरेको बढुवाको निर्णय उपर आवश्यक छानबिन गरी नियमअनुसार काम गर्न अस्पताल प्रशासनलाई मन्त्रिपरिषद्ले ठाडो निर्देशन दिएको हो ।
उक्त पत्र प्रधानमन्त्री कार्यालयले चैत ३० गतेको मितिमा चैत १ गते अस्पतालमा पठाएको थियो । अस्पतालका पीडित कर्मचारीले गत फागुन २४ गते प्रधानमन्त्री ओलीलाई सम्बोधन गरी पत्र पठाएका थिए । यसअघिको नियमावलीमा आन्तरिक बढुवा ७५ प्रतिशत र खुला २५ प्रतिशत रहेकोमा हाल अस्पताल प्रशासनले आन्तरिक बढुवा ३० र खुला ७० प्रतिशत बनाएको छ । जुन सुब्बा पद पूर्तिका लागि झण्डै उल्टो हुन आउँछ । यसका विरुद्ध कर्मचारीहरु आन्दोलनरत छन् ।
लफडामा अस्पताल
एटेन्डेन्टको पदपूर्तिको सवालमा अस्पतालका कार्यकारी निर्देशक डा विजयराज आचार्यले प्रवेशपत्र नै रोकेका छन् । फागुन २४ गतेको अन्तरर्वाता भनेर २० गते आवेदकहरुलाई प्रवेशपत्र बाड्दै गर्दा बीचमै रोकियो । कार्यकारी निर्देशक डा आचार्यले दबाब थेग्न नसकेपछि अन्तवार्ता स्थगित भएको बताए । पहिलोपटक तह विभाजन गरी लोकसेवा आयोगको सहमतिमा सुब्बा पदका लागि गरिएको बढुवा तथा पदपूर्ति विज्ञापनमा आफ्नै कर्मचारीबाट कार्यकारी निर्देशक आचार्य अप्ठेरोमा छन् ।
झण्डै १६ जना खरदार तहका कर्मचारीले आफूहरु अस्पतालमा निरन्तर सेवामा रहँदा पनि अस्पताल व्यवस्थापनले गैरजिम्मेवार तरिकाले खासखास व्यक्तिको स्वार्थ पूर्ति गर्न रातारात नियमावली संशोधन गरेको खरदार तहमा कार्यरत कर्मचारीहरुको भनाइ छ । अस्पतालका कार्यकारी निर्देशक डा विजय आचार्यले भने एटेन्डेन्स र खरदार पद बढुवामा आफूले निष्पक्षता अपनाएको बताएका छन् ।
कानुन अधिकृतमाथि आगो लगाउने प्रयास
भरतपुर । भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कानुन अधिकृत गोकर्ण सापकोटामाथि पेट्रोल छर्केर आगो लगाउने प्रयास भएको छ ।
शनिबार बिहान ९ बजे अस्पताल नजिकैको माछापुच्छ्रे चोकमा कपाल काटेर पैदल घर जाने क्रममा आफूमाथि पेट्रोल छर्कने प्रयास भएको तर आफू दौडेर भाग्न सफल भएको भन्दै अधिकृत सापकोटा तत्कालै जिल्ला प्रहरी कार्यालय चितवन पुगेका थिए ।
दुई मोटरसाइकलमा आएका युवाले उक्त कार्य गरेको चितवन प्रहरी प्रवक्ता डीएसपी प्रभुप्रसाद ढकालले जानकारी दिए । घटनामा संलग्नहरु कोही पनि फेला नपरेको तर उनीहरुले प्रयोग गरेको एउटा मोटरसाइकलको अल्फाबेट नखुले पनि नम्बर ८३९४ रहेको प्रवत्ता ढकालले बताए ।
क्यान्सर अस्पतालको पछिल्लो गतिविधि, कर्मचारी बढुवा, एटेण्डेण्ड नियुक्ति, नयाँ उपकरण खरिदमा घोटला जस्ता विषय समेटिएको कागज विप्लव निकट माओवादीले घटनास्थलमै छाडेकाले उनीहरुले घटना गराएको हुनसक्ने प्रहरीको आकलन छ ।

Comments

About the author

चितवन पोष्ट