गृह » सैलुन चलाएर मासिक एक लाख 
समाचार समाज

सैलुन चलाएर मासिक एक लाख 

केशव भट्टराई
रत्ननगर । मासिक ३०/४० हजार रुपैयाँ कमाउनका लागि नेपाली युवा मलेसिया र खाडी मुलुकमा पसिना बगाइरहेका छन् । कतिपय पासपोर्ट बोकेर म्यानपावर एजेन्सीमा धाइरहेका छन् । तर, सैलुन व्यवसाय गरेर यहाँका एक युवाले स्वदेशमै मासिक एक लाख रुपैयाँ आम्दानी गरिरहेका छन् ।
आफूसँग सीप भए स्वदेशमै केही गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन्, पर्साको बहुद्रामाईं नगरपालिका ९ विश्रामपुरका ३४ वर्षीय प्रमोद ठाकुर । ०५८ सालमा पर्साबाट चितवन आएका हुन् उनी । मामाको सैलुनमा एक महिना काम सिके । त्यसपछि ०५८ साल असोजदेखि रत्ननगरको सौराहाचोकमा ‘अजय हेयर कटिङ सैलुन’ खोलेर व्यवसाय सुरु गरेका हुन् ।
उनी भन्छन्, ‘हातमा सीप भए अरुसँग सहयोगको हात फैलाउनु पर्दैन । मिहिनेत गर्ने हो भने स्वदेशमै राम्रो कमाइ गर्न सकिँदोरहेछ । आफूसँग सीप छ भने आत्मनिर्भर बन्न सकिन्छ ।’
शैलुन पेसा अपनाएरै उनले आमाबुबासहित १२ जनाको संयुक्त परिवार पाल्दै आएका छन् । दुई छोरा र दुई छोरीलाई पढाएका छन् । उनी भन्छन्, ‘सैलुनकै कमाइबाट विश्रामपुरमा चार कट्ठा जग्गा जोडे । वीरगञ्जमा घडेरी किनेको छु । दुई भाइ र बहिनीको बिहे गरिदिएँ । घरको ऋण तिरेँ । १२ जना परिवारको खर्च सैलुनबाटै धानेको छु ।’
उनका कान्छा भाइ कमोद ठाकुर चीनको बेइजिङमा एमबीबीएस अन्तिम सेमेष्टरमा अध्ययन गर्दैछन् । प्रमोद भन्छन्, ‘सैलुन चलाएर पनि भाइलाई डाक्टरी पढाएको छु । महिनैपिच्छे ५० हजार रुपैयाँ उसका लागि पठाउनुपर्छ । २५ हजार रुपैयाँ बैंकको व्याज तिर्छु । घरमा २५ हजार रुपैयाँ खर्च हुन्छ । अहिले त आम्दानी खर्च बराबरजस्तै भइरहेको छ ।’
संघर्षबाटै सफलता हासिल हुने रहेछ भन्ने उनले अनुभूति गरेका छन् । भन्छन्, ‘आजीवन यही पेसालाई निरन्तरता दिन्छु । संघर्ष नगरी कहीँ केही हुँदैन । एउटै कामलाई निरन्तरता दिन सके सफलता मिल्छ । सुरुमा यहाँ आउँदा मलाई पनि मधेसी भनेर हेप्थे । गालीगलौज गर्थे । अहिले सबैले माया गर्छन् ।’
प्रमोदले माइला भाइ अजयलाई पनि यही पेसामा आबद्ध गराएका छन् । अजय संघीय समाजवादी फोरम नेपालका तर्फबाट चितवन क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका थिए । राजनीति गर्ने भएकाले अजय व्यवसायमा त्यति समय दिन भ्याउँदैनन् ।
उनले गाउँका थुप्रै युवालाई सैलुन पेसामा आबद्ध गराए । उनले प्रशिक्षण दिएका युवा नारायणगढ, हेटौँडा, पोखरा र काठमाडौँ सहरमा सैलुन चलाएर आम्दानी गरिरहेका छन् । भन्छन्, ‘उनीहरुले विभिन्न सहरमा ह्याण्सम पार्लर चलाएर प्रगति गरेका छन् । प्राविधिक ज्ञान हुने कोही पनि बेरोजगार बन्नुपर्दैन । अब विद्यार्थीले प्राविधिक विषय नै पढ्नुपर्छ ।’
भाइ डाक्टर बनेर फर्किएपछि वीरगञ्जमा एउटा नर्सिङ होम खोल्ने उनको सपना छ । भन्छन्, ‘आफू जन्मे–हुर्केको ठाउँमा केही गर्नुपर्छ । गाउँमा स्वास्थ्य समस्या भएका थुप्रै मानिस छन् । गाउँलेहरुको सर्वसुलभ उपचार गराउन नर्सिङ होम खोल्ने सपना छ । अब एक वर्षपछि त्यो पूरा हुन्छ कि भन्ने आशा लागेको छ ।’

Comments

About the author

चितवन पोष्ट