गृह » सिरियाको विश्वविद्यालयले टर्कीका प्रधानमन्त्रीको विद्यावारिधि फिर्ता लियो
विश्व

सिरियाको विश्वविद्यालयले टर्कीका प्रधानमन्त्रीको विद्यावारिधि फिर्ता लियो

दमासकस, १ साउन । सिरियाको अलेपो विश्वविद्यालयले टर्कीका प्रधानमन्त्री रेसेप ताइप इर्दोगानले सिरियाका विद्रोहीलाई समर्थन गरेको तथा टर्कीका प्रदर्शनकारीमाथि कारवाही गरेको आरोप लगाउँदै उहाँलाई दिइएको मानार्थ विद्यावारिधि फिर्ता लिने निर्णय गरेको समाचार सिरियाली सरकारी आमसञ्चारले मङ्गलबार दिएका छन् ।

सरकारी समाचार सस्था सानाले टर्कीका प्रधानमन्त्री इर्दोगानले सिरियाली जनताविरुद्द षडयन्त्र गरेको र तथा प्रदर्शनकारीमाथि जथाभावी हिंसा प्रयोग गरेको भनी उहाँलाई दिइएको विद्यावारिधिको सम्मान फिर्ता लिइएको उल्लेख गरेको छ । सानाले यसका लागि अलेपो विश्वविद्यालयका सङ्काय अध्यक्ष खुदुर ओर्फालीलाई उद्धरण गरेको छ ।

सिरियामा सन् २०११ को मार्च महिनामा राष्ट्रपति बसार अल–असादविरुद्ध विद्रोह आरम्भ भएपछि टर्कीसँगको सम्बन्ध बिग्रिएको छ । इर्दोगान राष्ट्रपति असादका एक प्रमुख आलोचकको रूपमा देखिनुभएको छ । टर्कीमा हाल चार लाख सिरियाली शरणार्थी रहेका छन् । सिरियाका प्रतिपक्षका प्रमुख नेता तथा सैनिक नेता पनि यसै मुलुकमा रहेका छन् ।

टर्कीमा इर्दोगानको राजिनामा माग गरी जुन महिनादेखि प्रदर्शन भइरहेको छ । मानवअधिकारवादी संस्थाहरूले टर्कीका प्रहरीले प्रदर्शनकारीमाथि आवश्यकताभन्दा बढी शक्ति प्रयोग गरेको आरोप लगाएका छन् । सिरियाली टेलिभिजनले टर्कीका सेनाले प्रदर्शनकारीमाथि गरेको कारवाहीको चित्र नियमित रूपमा प्रसारण गरेको थियो ।

सिरियाली सरकारी आमसञ्चारले राष्ट्रपति असादविरुद्ध जनताको आन्दोलनलाई स्वीकार गर्दैन र यसलाई विदेशीको सहयोगमा चलेको आतङ्क ठानेको छ । रासस÷एएफपी

Comments

About the author

चितवन पोष्ट

प्रतिकिया

Click here to post a comment