गृह » वर्षासँगै मुग्लिन सडकमा पहिरोको पीडा
प्रमुख समाचार फोटो

वर्षासँगै मुग्लिन सडकमा पहिरोको पीडा

भरतपुर । सडक चौडा पार्न ठाउँठाउँमा पहाड काटेका कारण नारायणगढ–मुग्लिन सडकखण्डमा वर्षायाममा पहिरोले दुःख दिने गरेको घटना नौलो होइन । यो वर्ष पनि मनसुन सक्रिय भएसँगै यो पीडा फेरि सुरू भएको छ ।
कालिखोला नजिक पहिरो जाँदा आइतबार सो सडकखण्डमा नौं घण्टा यातायात ठप्प भयो । बिहान सबेरै साढे दुई बजे पहिरो जाँदा बन्द भएको बाटो मध्यान्ह १२ बजेपछि मात्रै खुलेको थियो । बाटो विस्तारका लागि पाहाड काटेको ठाउँबाट पहिरो खसेर सडक अवरुद्ध भएको हो ।
‘दुई चार दिनयता लगातार पानी परेका कारण पहाड कमजोर भएर सडकमा पहिरो खसेको हो’ नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर तथा सूचना अधिकारी शिव खनालले भने । सडक विस्तारका लागि ठाउँठाउँमा पहाड काट्ने काम भएको छ । गत वर्षको वर्षायाममा पनि पहाडबाट पहिरो खसेर निकै दुःख दिएको थियो । वर्षा नभए पनि कहिले काहँी सडकमा सुख्खा पहिरो खस्ने गरेको छ ।
कालीखोला क्षेत्र पहिरोको जोखिममा छ । शनिबार राति नौ बजे सो क्षेत्रमा पहिरो गएको थियो । राति ११ बजे पहिरो हटाएर गाडी चल्न सुरू भएको थियो । फेरि बिहान साढे दुई बजे पहिरो खसेर बाटो पूरै बन्द भएको आयोजना प्रमुख चन्द्रनारायण यादवले बताए । बिहान साढे चार बजेबाट मात्रै पहिरो पन्छाउने काम फेरि सुरू भएको थियोे । तर, बाटो बन्द भएको नौं घण्टापछि यातायात सञ्चालन हुन सकेको हो ।
नारायणगढ–मुग्लिन सडक राजधानी काठमाडौं तथा पर्यटकीय सहर पोखरालाई पूर्वी र पश्चिम नेपालसँग जोड्ने मुख्य मार्ग हो । यो खण्ड हुँदै दिनमा १० हजारको हाराहारीमा गाडीहरु ओहोरदोहर गर्दछन् । आइतबार बिहानैदेखि बाटो अवरुद्ध हुँदा पहिरो यता नारायणगढतर्फ र उता मुग्लिन तर्फ ११ किलो मिटरभन्दा बढी गाडीको लाइन लागेको आयोजनाका सूचना अधिकारी खनालले बताए ।
पहिरो गएको ठाउँमा टहराहरु पनि थिए । ‘पहिरो सिधै नदीमा फाल्न मिल्ने ठाउँ थिएन । ट्रिपरमा राखेर अन्यत्र लगेर फाल्दा समय धेरै लियो’ खनालले भने । पहिरोका कारण टहराहरुमा सामान्य क्षति पुगेको छ । सडकमा दुई हजार घन मिटर बालुवा, गिट्टी र माटो थुप्रिएको उनले बताए । सो सडकखण्ड बिहान १० बजेदेखि चार बजेसम्म यातायात आवागमन बन्द गरेर निर्माणको काम हुने गर्छ ।
पहिरोका कारण लामो समय गाडीहरु रोकिएको हुँदा आइतबार दिउँसो चार बजे अगावै पनि सडकमा गाडीहरु सञ्चालनमा आएका थिए । वर्षातमा सडक निर्माणका काम पनि प्रभावित हुने गर्छ । पहिरो गएर गाडी रोकिएको दिन बाटो बनाउन पनि समस्या हुने गरेको आयोजनाका अधिकारीहरु बताउँछन् । दुई वर्षभित्र निर्माण सक्ने गरेर सन् २०१५ को अप्रिलमा सुरू भएको आयोजनाको काम निकै सुस्त छ ।
सडक विस्तारको काम अहिलेसम्म ५० प्रतिशतभन्दा केही बढी मात्रै पूरा भएको छ । समय थप भएर काम पूरा गर्ने अवधि आउँदो डिसेम्बरसम्म पु¥याइएको छ । तर, काम सन्तोषजनक नभएका कारण सो अवधिमा पनि नारायणगढ मुग्लिन सडक विस्तारको काम सम्पन्न हुनेमा आशंका कायमै छ । ३६ किलोमिटर लामो सो सडकलाई एसियालीस्तरको दुई लेनको बनाउने काम सुरू भएको हो ।

Comments

About the author

चितवन पोष्ट

प्रतिकिया

Click here to post a comment