गृह » सामुदायिक विद्यालयमै अब्बल नारायणी मावि
प्रमुख समाचार फोटो

सामुदायिक विद्यालयमै अब्बल नारायणी मावि

किशोर खनाल
भरतपुर । भरतपुर–१० मा रहेको नारायणी नमुना माध्यमिक विद्यालयले यस वर्षको सेकेन्डरी एजुकेसन एक्जाम (एसईई) परीक्षाको नतिजामा चितवनमा नाम चलेका संस्थागत विद्यालयहरुलाई पनि उछिनेको छ ।
नारायणी नमुना माध्यमिक विद्यालय चितवनको उत्कृष्ट सामुदायिक विद्यालय हो । यस विद्यालयले बर्सेनि उत्कृष्ट नतिजा ल्याइरहेको छ । यस वर्षको एसईई परीक्षामा नारायणी नमुना माविबाट २५२ विद्यार्थी सहभागी भएका थिए । जसमध्ये ५० जनाले ‘ए प्लस’ ग्रेड ल्याएका छन् । ए प्लस ग्रेड ल्याउने विद्यार्थीको ३.६ भन्दा माथिको जीपीए मानिन्छ । नारायणी माविको जतिको जीपीए चितवनका कुनै पनि संस्थागत विद्यालयको आएको छैन ।
त्यस्तै नारायणी माविका ८० जना विद्यार्थीले ‘ए’ ग्रेड ल्याएका छन् । ५४ जनाले ‘बी प्लस’ ल्याएका छन् । यसैगरी ४१ जनाले ‘बी’ ग्रेड ल्याएका छन् । २७ जनाले ‘सी प्लस’ ल्याए । ‘सी, डी प्लस, ई’ ग्रेड ल्याउने विद्यार्थी एक जना पनि छैनन् । तीन दृष्टिविहीनको समेत ‘बी प्लस’ आएको छ ।
‘सामुदायिक विद्यालयलाई मात्र होइन, संस्थागत विद्यालयलाई पनि सजिलै उछिनेका छौँ’ नारायणी नमुना माविका प्रधानाध्यापक पूर्णप्रसाद दवाडीले भने, ‘गत वर्षको एसईई नतिजामा नारायणी नमुना मावि मध्यमाञ्चलको पहिलो र देशभरमै दोस्रो भएको हो । यस वर्ष पनि हाम्रो त्यो नतिजा पक्का सुरक्षित छ, तर गतवर्ष भन्दा यस वर्ष माथि पुग्छौँ होला ।’
गत वर्ष नारायणी नमुना माविको समग्रमा ३.११ जीपीए थियो । ‘गत वर्षको जीपीएलाई यस पटक हामी उछिन्नेछौँ’ प्रअ दवाडीले भने, ‘नारायणीको प्रतिस्पर्धा नारायणीसँगै हुन्छ, कुनै संस्थागत र सामुदायिक विद्यालयले हामीलाई भेट्न सक्दैनन् ।’
जिल्ला शिक्षा कार्यालयले पनि जिल्लाको उत्कृष्ट नतिजा निकाल्ने विद्यालयभित्र नारायणी मावि पर्दै आएको बताएको छ । जिल्ला शिक्षा कार्यालय भरतपुरका परीक्षा शाखाका ज्ञानहरि पौडेलले नारायणी नमुना मावि नै उत्कृष्ट नतिजा ल्याउने विद्यालयको पहिलो सूचीमा पर्ने बताए । उनले भने, ‘गत वर्ष पनि नारायणी नमुना मावि नै पहिलो भएको हो, यसपटक पनि सम्भवत उसैले कव्जा गर्ला ।’
पौडेलले केही दिनभित्रमा चितवनमा कुन विद्यालयको कस्तो नतिजा ल्यायो भनेर औपचारिक रुपमा जानकारी गराउने बताए । उनले भने, ‘पहिलेजस्तो अवस्था छैन, परीक्षा नियन्त्रण कार्यालयबाट विस्तृत जानकारी आएपछि बल्ल जिल्लाको शैक्षिक गुणस्तर मापन गर्न सकिन्छ । त्यसको लागि केही समय लाग्ने भयो ।’
कसरी अव्बल भयो नारायणी ?
२०२४ सालबाट नारायणी माविले प्रवेशिका परीक्षा दिँदै आएको छ । हरेक परीक्षामा यस विद्यालयले उत्कृष्ट नतिजा निकालिरहेको छ । नयाँ विद्यार्थीहरुले प्रवेश परीक्षा पास गरेपछि यस विद्यालयमा अध्ययन गर्ने अवसर पाउँछन् ।
‘यस विद्यालयमा अनुभवी शिक्षक छन् । भौतिक संरचनाले भरिपूर्ण छ । प्रोजेक्टरबाट पठनपाठन हुन्छ । साइन्स ल्याब छन् । प्रशस्त खेलमैदान छ । कुनै कुराको अभाव छैन’ प्रअ पूर्णप्रसाद दवाडीले भने, ‘विद्यालय व्यवस्थापन सक्रिय र जुझारु छ । सबै आस्था र विचार राख्नेहरुको व्यवस्थापन समिति भए पनि स्कुल बनाउन सबैको एक मत हुन्छ ।’
उनले जे कुरामा पनि लागेर गर्ने हो भने सफल भइने बताए । ‘शिक्षक अल्छी हुनुहुँदैन, सक्रिय हुनुपर्छ । बालमैत्री पढाइ हुनुपर्छ । अनि मैले केही गर्छु र विद्यार्थीलाई बनाउँछु भन्ने आफूमा एउटा इख हुनुपर्छ’ प्रअ दवाडीले भने, ‘अनि समाजको विश्वसनीय र स्वीकार्य हुनुपर्छ । यही कारणले नारायणीले उत्कृष्ट नतिजा निकाल्न सकेको हो ।’
आगामी वर्ष यस स्कुलबाट २९० जनाले एसईई परीक्षा दिँदैछन् । स्कुलभर १ हजार ६४६ विद्यार्थी छन् ।

Comments

About the author

चितवन पोष्ट

प्रतिकिया

Click here to post a comment