गृह » बालश्रम न्यूनीकरण कार्यक्रमलाई असहयोग
समाचार समाज

बालश्रम न्यूनीकरण कार्यक्रमलाई असहयोग

रत्ननगर । बालश्रम न्यूनीकरण कार्यक्रम सञ्चालन गरिरहेको रत्ननगर उद्योग वाणिज्य संघले वडास्तरमा हुने गतिविधिमा वडा सचिवहरुले सहयोग नगरेको जनाएको छ ।
नगरपालिकाकै कार्यक्रममा वडा सचिवहरुले सहयोग नगरेको भन्दै संघले नवनिर्वाचित जनप्रतिनिधिहरुको ध्यानर्कषण गराएको छ । रत्ननगरमा रहेको १६ वडामध्ये अधिकांश वडा सचिवहरुले बालश्रम न्यूनीकरण कार्यक्रमअन्तर्गत हुने गतिविधिमा सहयोग नगरेको संघले जनाएको छ । बालश्रम न्यूनीकरणको लागि संघले वडास्तरमा गर्ने चेतनामूलक कार्यक्रम, बालबालिकाको अवस्था अध्ययन, पुर्नस्थापना, पारिवारिक पुनर्मिलन, अभिभावको आयआर्जनलगायतका कार्यक्रम गर्दा वडा सचिवहरुले सहयोग नगरेको संघको भनाइ छ ।
वडा सचिवहरु कार्यक्रममा खबर गर्दा पनि आउनु हुन्न बालसंरक्षण तथा बालश्रम न्यूनीकरण कार्यक्रम व्यवस्थापन समितिका सदस्य निरज श्रेष्ठले भने नगरपालिकाकै अभियानमा वडा सचिवहरुले सहयोग गरेका छैनन् । यूनीसेफ नेपालको सहयोगमा रत्ननगर नगरपालिकामा बालमैत्री स्थानीय शासन कार्यक्रम सञ्चालन भइरहेको छ । सन् २०१७ सम्म रत्ननगरलाई बालश्रममुक्त र सन् २०१९ सम्म बालमैत्री नगर बनाउने लक्ष्यका साथ तीव्र गतिमा बालश्रम न्यूनीकरणको लागि गतिविधिहरु भइरहेका छन् ।
‘वडा सचिवहरुले सहयोग गर्ने त टाँढाको विषय हो’ श्रेष्ठले भने, ‘कार्यक्रममा उपस्थित भएर सहानुभूति समेत दिँदैनन । संघले केही महिना अघि गरेको बेस लाइन सर्भे र टोललाई बालश्रममुक्त गर्ने कार्यक्रममा पनि वडा सचिवहरुले सहयोग नगरेको उनको भनाइ छ । वडा भित्र रहेका टोललाई बालश्रममुक्त घोषणा गरेपछि टोललाई नै बालश्रममुक्त घोषण गर्ने र त्यसपछि नगरलाई बालश्रममुक्त घोषणा गर्ने प्रावधान रहेको छ ।
वडामा हुने गतिविधिमा सहयोग गरेर नगरपालिकाको अभियानलाई सघाउनुपर्ने वडा सचिवहरु बालश्रम न्यूनीकरण अभियानलाई नै असहयोग गरेको आरोप लाग्न थालेको छ । ‘नगरबासीहरुबाट सहयोग छ’, सदस्य श्रेष्ठले भने, ‘तर, अधिकांश वडा सचिवहरुले नगरपालिकाकै यो अभियानलाई सहयोग गरेका छैनन् ।’ वडा सचिवहरुले बालश्रम न्यूनीकरण कार्यक्रमअन्तर्गतका काम लिएर वडामा नआउन भनेको श्रेष्ठले बताए । उनले संघले तीन वर्षसम्म कार्यक्रम गर्दा वडा सचिवहरुबाट कुनै पनि सहयोग नपाएको गुनासो गरे । बाल संरक्षण तथा बालश्रम न्यूनीकरण कार्यक्रम व्यवस्थापन समितिका संयोजक दिपककुमार कर्माचार्यले नगरपालिकाकै अभियानमा वडा सचिवहरुले सहयोग नगरेको भन्दै चिन्ता व्यक्त गरे । वडा सचिवहरुले सहयोग नगरेकै कारण वडास्तरका काम गर्न कठिनाइ भएको भन्दै उनले अभियानमा सहयोग गर्न जनप्रतिनिधिहरुलाई आग्रह गरे ।
रत्ननगरमा आयोजना गरिएको बालश्रम न्यूनीकरणसम्बन्धी कार्यक्रममा नवनिर्वाचित मेयर नारायण वनले वडा सचिवहरुले सहयोग नगर्नुको कारण बुझेर आवश्यक प्रक्रिया अगाडि बढाउने बताए । ‘यो नौलो विषय तपाइँहरुले मलाई जानकारी गराउनु भयो’ उनले भने, ‘नगरपालिकाकै कार्यक्रममा कर्मचारीको सहयोग नपाउनु दुर्भाग्य हो ।’ रत्ननगर नगरपालिकामा अझै पनि ४२९ जना बालश्रमिक रहेको तथ्याङ्क संघले सार्वजनिक गरेको छ । तुलनात्मक रुपमा हेर्दा यो संख्या घट्दो क्रममा रहेको छ ।
सन् २०१२ मा ५८४ बालश्रमिक रहेको रत्ननगरमा चार वर्षपछि ५५ जना घटेर सन् २०१६ मा ५२४ मा झरेको थियो । भूकम्पपछि केही बढेको भए पनि एक वर्ष भित्र १०० जना घटेर अहिले बालश्रमिकको संख्या ४२९ रहेको छ । संख्या घटाउन संघले बालश्रमिकलाई उद्धार, पुनस्र्थापना, अभिभावकलाई आयमूलक कार्यक्रमको लागि सहयोग र बालबालिकालाई विद्यालय भर्ना अभियान गरिहेको संघका उपाध्यक्ष राजाराम रेग्मीले जानकारी दिए ।

बालश्रमबारे आमाहरुसँग अन्तक्र्रिया
रत्ननगर । रत्ननगर नगरपालिका र यूनीसेफ नेपालको सहयोगमा रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालित बाल संरक्षण तथा बालश्रम न्यूनीकरण कार्यक्रमअन्तर्गत बालश्रममुक्त वडा निर्माणका लागि आमाहरुको भूमिका विषयक अन्तक्र्रिया कार्यक्रम गरिएको छ ।
१६ औं बालश्रम विरुद्ध विश्व दिवसको अवसरमा सप्ताहब्यापी कार्यक्रमकै सिलसिलामा रत्ननगर नगरपालिका वडा नं. १२ मा गरिएको कार्यक्रममा १५० जना महिलाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा रत्ननगर उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य एवम् बाल संरक्षण तथा बालश्रम न्यूनीकरण समितिका सदस्य निरज श्रेष्ठले वडाको वर्तमान अवस्था र बालश्रममुक्त वडा घोषणाका लागि पूरा गनुपर्ने प्रक्रियाहरुबारे सहजीकरण गरेका थिए ।
वडा नं. १२ का वडा अध्यक्ष वीरबहादुर पाख्रिन प्रमुख अतिथि रहेको सो कार्यक्रम संघका कार्यसमिति सदस्य तथा बाल संरक्षण तथा बालश्रम न्यूनीकरण समितिका सदस्य रघुनाथ भट्टको अध्यक्षतामा भएको थियो ।

Comments

About the author

चितवन पोष्ट

प्रतिकिया

Click here to post a comment