गृह » २०४७ सालको संविधान कार्यान्वयनको माग
समाचार समाज

२०४७ सालको संविधान कार्यान्वयनको माग

भरतपुर । राष्ट्रिय शिव सेना पार्टीले २०७४ मंसिर ४ गतेसम्ममा वर्तमान संविधान खारेज गरेर २०४७ सालको संविधानलाई पूर्णरूपमा कार्यान्वयन गर्नुपर्ने माग गरेको छ ।
पार्टीले आइतबार भरतपुरमा पत्रकार सम्मेलन गरेर वर्तमान संविधान जनहितका लागि नभएकोले खारेज गर्नुपर्ने माग गरेको हो । यदि खारेज नगर्ने हो भने राष्ट्र र राष्ट्रियता रक्षाका लागि आफूहरू जस्तोसुकै मूल्य चुकाउन तयार रहेको पार्टीका केन्द्रीय अध्यक्ष बिक्रमबहादुर बमले चेतावनी दिए ।
‘यो संविधान जनताको पक्षमा छैन,’ उनले भने, ‘त्यसैले यसलाई खारेज गरेर २०४७ सालको संविधानलाई कार्यान्वयनमा ल्याउनुपर्छ ।’ जबरजस्ती धर्म निरपेक्ष राष्ट्र घोषणा गरेको भन्दै उनले भने, ‘नेपाललाई हिन्दूराष्ट्र घोषणा गरिनुपर्छ । होइन भने हामी माघ २३ गतेदेखि धर्म युद्ध गर्छौँ ।’
हिन्दूराष्ट्र नेपालको पहिचान भएको भन्दै धर्म निरपेक्षको फाइदा उठाउँदै हिन्दूमाथि क्रिस्चियनहरूले अधिग्रहण जनाउन खोजिरहको उनले आरोप लगाए । ‘गरिब जनताका घरघरमा बाइबल बाँडेर जबरजस्ती धर्म परिवर्तन गराउने प्रयास गरिएकोले क्रिस्चियन विरूद्ध लड्नका लागि हामी तयार छौँ,’ उनले आरोप लगाए ।
अहिलेको संविधानले धार्मिक, जातिय एवम् भौगलिक द्वन्द्व निम्त्याउने उनको बुझाइ छ । साथै अहिले तीनदलको सिन्डिकेटमा स्थानीय तह निर्वाचन गराएको भन्दै उनले आपत्ति जनाए । अहिलेको स्थानीय चुनावको कुनै औचित्य नै छैन,’ उनले भने, ‘त्यसैले राष्ट्रिय शिवसेना पार्टी यसको विपक्षमा छ । स्थानीय निर्वाचन गर्दैमा देशले निकास पाउन नसक्ने दाबी गर्दै उनले अबको देश विकास र निकास दुबैका लागि राजा आउनुपर्ने बताए ।’
‘यदि नेपालमा जनताको छोराछोरी राष्ट्रपति प्रधानमन्त्री बन्न पाउने हो भने कुनै पनि दलसँग आवद्ध नभएका व्यक्तिले बन्न पाउनु पर्छ,’ उनले भने, ‘ठूला दल भनिएका तीनवटा पार्टी मात्रै लुछाचुँडी गरेर हुँदैन ।’ यो समस्या समाधानका लागि नेपालमा राजाकै शासन आवश्यक परेको उनले बताए ।
यसैबीच राष्ट्रिय शिवसेना पार्टीको चितवन जिल्ला कमिटी पुनर्गठन गरिएको छ । आगामी पाँच वर्षे कार्यकालका लागि चिजकुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यकमिटी पुनगर्ठन गरिएको हो । कार्यसमितिको उपाध्यक्षमा रामराजसिंह ठकुरी र पूजा रिजाल, सचिवमा विश्वराज न्यौपाने र कोषाध्यक्षमा रामचन्द्र पिया रहेका छन् ।
यस्तै कार्यसमिति सदस्यहरुमा सानुमाया शाक्य, रूद्रबहादुर सेन ठकुरी, सिन्धु पन्त, दीपकसिंह ठकुरी, दीपेन्द्र रेग्मी र श्यामसुन्दर राज विष्ट रहेका छन् । हालसम्म ४३ जिल्लामा आफ्नो संगठन विस्तार भइसकेको राष्ट्रिय शिवसेना पार्टीले जनाएको छ ।

Comments

About the author

चितवन पोष्ट

प्रतिकिया

Click here to post a comment