गृह » मधेस छुने प्रदेशमा चुनाव बिथोल्छौं – राजपा नेता 
प्रमुख समाचार फोटो

मधेस छुने प्रदेशमा चुनाव बिथोल्छौं – राजपा नेता 

दिपेन्द्र अधिकारी
भरतपुर । राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले २ नम्बर बाहेकका प्रदेशमा हुने भनिएको चुनाव बिथोल्ने बताएका छन् ।
झापादेखि कञ्चनपुरसम्मको चुनाव एकैपटक हुनुपर्ने भन्दै सरकारले २ नम्बर प्रदेशको मात्र चुनाव सारेर मधेस र थरूहट नै विभाजन गरेको आरोप लगाए । शनिबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै नेता महतोले भने, ‘सरकारले सेना लगाएर, बन्दुक देखाएर, मान्छे मारेर चुनाव गरे पनि मधेसी जनताले चुनाव बिथोल्नेछन् ।’ साथै उनले सरकारले शक्तिको भरमा चुनाव गराए त्यसको परिणाम नराम्रो आउने चेतावनी दिए ।
मधेसको मुल मुद्दा सुनुवाइ नगरिकन खाली चुनावी रटान लगाएर सरकार अघि बढ्न खोजे त्यसको प्रतिकार गर्ने नेता महतोको भनाइ छ । शनिबार नै परासीमा आयोजित विरोध सभामा भाग लिन राजपाका नेताहरुले भरतपुर विमानस्थलबाट परासीतर्फ जाने क्रममा चुनावबारे आफ्नो पछिल्लो धारणा राखेका हुन् ।
नेता महतोले भने, ‘चुनाव भए अवरोध, विरोध, असहयोग र बिथोल्ने सबै उपाय अपनाउँछौं ।’ संविधान संशोधनमा एमाले बाधक भएको उल्लेख गर्दै नेता महतोले चुनावपछि संविधान संशोधन गर्ने भनी एमालेले दिएको जवाफ छलकपटको खेती मात्र भएको आरोप लगाए । उनले चुनावअघि नै संविधान संशोधन गरे मात्र आफूहरु चुनावमा भाग लिने बताए ।
संविधान संशोधनमा मुख्य जिम्मेवार तीन बेइमानमध्ये दुई बेइमान सुध्रिएको तर एक बेइमान अझै नसुध्रिएकाले देशमा राजनीतिक संकट देखापरेको महतोको भनाइ छ । चुनावको विषयमा प्रधानमन्त्रीसँग शनिबार बिहान भेट भएको भन्दै हल्ला मात्र फैलाएको उनले बताए ।
चुनावअघि मधेस आन्दोलनका मृतक, घाइते र झुठा मुद्दा लगाइएकाहरुले न्याय पाउनुपर्ने मधेसी नेताहरुको माग रहेको छ । २ नम्बर प्रदेशको मिति सार्नमा आफूहरुको कुनै भूमिका नरहेको राजपाका अर्का नेता महन्थ ठाकुरले बताए । मधेस आन्दोलनको मुद्दा छाडेर अघि बढ्न नसकिने भन्दै ठाकुरले बाँकी सबै प्रदेशमा एकै मितिमा चुनाव हुनुपर्ने बताए । तोकिएकै मितिमा सम्पन्न गर्ने भनी चुनावको नाममा देशलाई बर्बाद गर्न खोजिएको ठाकुरको भनाइ छ ।
आफूहरुको आन्दोलन संविधानको दायराभित्रको आन्दोलन भएको उनको भनाइ छ । आन्दोलन असफल भए संविधान बाहिरबाट आन्दोलन हुने समेत उनले चेतावनी दिए । साथै उनले उपेन्द्र यादवसँग आफूहरुको तिक्तता नरहेको समेत बताए ।

Comments

About the author

चितवन पोष्ट

प्रतिकिया

Click here to post a comment