गृह » चेपाङ समुदायबाट विजयी जनप्रतिनिधिहरु सम्मानित 
प्रमुख समाचार फोटो

चेपाङ समुदायबाट विजयी जनप्रतिनिधिहरु सम्मानित 

भरतपुर । नेपाल चेपाङ संघ केन्द्रीय समितिले अल्पसंख्यक आदिवासी समुदाय चेपाङबाट स्थानीय तहमा विजयी भएकाहरुलाई शनिबार सम्मान गरेको छ ।
स्थानीय तहको निर्वाचनमा चेपाङ समुदायका ११ जना विभिन्न पार्टीबाट विभिन्न गाउँपालिका नगरपालिकामा वडाध्यक्षमा विजयी भएको कार्यक्रममा जानकारी गराइएको थियो । सबैभन्दा धेरै चितवनमा पाँचजना चेपाङ समुदायका व्यक्तिहरु वडाध्यक्षमा विजयी भएका छन् । चितवनको राप्ती नगरपालिकाको वडा नं. १३ मा एमालेका सूर्य चेपाङ र वडा नं. १२ मा कांग्रेसका अर्जुन चेपाङ वडाध्यक्षमा विजयी भएका छन् । त्यस्तै कालिका नगरपालिकाको वडा नं. ११ मा एमालेका कृष्णबहादुर चेपाङ वडाध्यक्षमा विजयी भएका छन् ।
चितवनको इच्छाकामना गाउँपालिकाको वडा नं. २ मा पञ्चबहादुर चेपाङ र वडा नं. ६ मा भूपेन्द्र चेपाङ वडाध्यक्षमा विजयी भएका छन् । दुवै एमालेबाट विजयी भएका हुन् । मकवानपुरको राक्सीराङ गाउँपालिकाको वडा नं. ५ मा माओवादी केन्द्रका चन्द्रसिंह चेपाङ वडाध्यक्षमा विजयी भएका छन् । वडा नं. ६ मा एमालेका सिंहलाल चेपाङ वडाध्यक्षमा विजयी भएका थिए ।
त्यस्तै वडा नं. ७ र ८ मा नेपाली कांग्रेसका कुलबहादुर चेपाङ र रामकृष्ण चेपाङ वडाध्यक्षमा विजयी भएका थिए । गोरखाको लखनथापा गाउँपालिकाको वडा नं. ४ मा माओवादी केन्द्रबाट कृष्णबहादुर चेपाङ वडाध्यक्षमा विजयी भएका थिए । धादिङको गजुरी गाउँपालिकाको वडा नं. ४ मा नेपाली कांग्रेसका सुरेन्द्र चेपाङ वडाध्यक्षमा विजयी भएका थिए ।
चितवनमा पाँच, मकवानपुरमा चार र गोरखा र धादिङमा एक एकजना वडाध्यक्ष चेपाङ समुदायबाट विजयी भएका छन् । विजयी ११ जनामध्ये एमालेबाट पाँचजना, कांग्रेसबाट चार र माओवादी केन्द्रबाट दुई जना चेपाङ समुदायका व्यक्तिहरु वडाध्यक्षमा विजयी भएका छन् । चेपाङ समुदायका कुनै पनि व्यक्ति गाउँपालिका वा नगरपालिकाको प्रमुख उपप्रमुखमा विजयी हुन सकेनन् ।
मकवानपुरको राक्सीराङ गाउँपालिकामा माओवादी केन्द्रले चेपाङ समुदायका व्यक्तिलाई प्रमुखमा र एमालेले उपप्रमुखमा उम्मेदवार बनाएको थियो । तर, उनीहरु विजयी हुन सकेनन् । चेपाङहरु गोरखा, धादिङ, चितवन र मकवानपुरको पहाडी क्षेत्रमा घनारुपमा बसेका छन् । विसं २०६८ सालको जनगणना अनुसार उनीहरुको जनसंख्या ६८ हजार ३९९ छ ।
नेपाल चेपाङ संघका पूर्वअध्यक्ष तथा संविधानसभाका पूर्वसदस्य गोविन्दराम चेपाङका अनुसार देशका विभिन्न गाउँपालिका नगरपालिकामा पाँच सयभन्दा बढी चेपाङ समुदायका व्यक्तिहरु उम्मेदवार भएका थिए । ११ जना वडाध्यक्ष्मा विजयी हुँदा वडा सदस्य र परिषद् सदस्यसमेतमा गरेर थप ५४ जना विजयी भएका छन् ।
‘संविधानले जनप्रतिनिधिहरुलाई जनताको अधिकारका लागि काम गर्न पाउने गरेर अधिकार दिएको छ । तपाइँहरु समुदाय र जनताको सेवकको रुपमा सचेत रुपमा लाग्नु होला’ कार्यक्रममा बोल्दै प्रमुख अतिथि गोविन्दराम चेपाङले भने । स्वागत मन्तव्य राख्दै संघका केन्द्रीय उपाध्यक्ष बिलबहादुर चेपाङले निर्णय प्रक्रियामा चेपाङ समुदायका व्यक्तिलाई सक्षम बनाउन संघले सहयोग गर्ने बताए ।
सशक्तीकरण कार्यक्रम संयोजकलाई सम्मान
डेक नेपाल सौराहाद्वारा सञ्चालित चेपाङ महिला सशक्तीकरण कार्यक्रमका संयोजक जनक कार्कीलाई नेपाल चेपाङ संघले शनिबार सम्मान गरेको छ ।
कार्यक्रममार्फत चेपाङ सशक्तीकरणमा भूमिका खेलेको भन्दै नेपाल चेपाङ संघ केन्द्रीय समितिले कार्की र डेक नेपाललाई नै सम्मान गरेको हो । डेक नेपालले चेपाङ महिला सशक्तीकरण कार्यक्रममार्फत चितवनका चेपाङहरुको उत्थान र सशक्तीकरणमा भूमिका खेलेको संघको बुझाइ छ । डेक नेपालले सञ्चालन गरेको कार्यक्रममा सहभागी भएर चितवनका चेपाङहरुको चेतनाको स्तर बढेको र चेपाङ समुदायबाट स्थानीय तहको निर्वाचनमा सम्मानजनक प्रतिफल प्राप्त भएकोले डेक नेपाल र त्यसका कार्यक्रम संयोजक कार्कीलाई सम्मान गरिएको संघका अध्यक्ष जितेन्द्र चेपाङले बताए ।
भरतपुरमा आयोजित कार्यक्रममा पूर्वसांसद गोविन्दराम चेपाङ, संघका अध्यक्ष जितेन्द्र चेपाङले कार्कीलाई दोसल्ला र सम्मान पत्रले सम्मान गरेका थिए । विगत साढे दुई वर्षदेखि चितवनका साविक ६ वटा गाविसमा चेपाङ महिला सशक्तीकरण कार्यक्रम सञ्चालन भइरहेको छ ।

Comments

About the author

चितवन पोष्ट

प्रतिकिया

Click here to post a comment