गृह » रत्ननगरको विकास योजना सार्वजनिक 
राजनीति समाचार समाज

रत्ननगरको विकास योजना सार्वजनिक 

रत्ननगर । रत्ननगरका वुद्धिजीवीहरुले रत्ननगरको चौतर्फी विकासको लागि सुझावसहितको योजना सार्वजनिक गरेका छन् ।
नेपाल वुद्धिजीवी परिषद् रत्ननगर नगर कमिटीले शुक्रबार नवनिर्वाचित जनप्रतिनिधिहरुलाई भेला गराएर नगरको विकास योजना पेस गरेका हुन् । परिषद् सार्वजनिक गरेको योजनामा नगरलाई सडक सञ्जाल र पर्यटन विकासको लागि भौतिक पूर्वाधार निर्माणअघि बढाउन सुझाव दिइएको छ । पूर्वी चितवनका नगरपालिकाहरुमा निर्वाचित जनप्रतिनिधिहरुको स्वागत तथा सम्मानमा शनिबार आयोजित कार्यक्रममा परिषद्ले नगरको विकासका लागि पर्यटन, वातावरण, कृषि, यातायात, शिक्षा, स्वास्थ्य, उद्योग, सरसफाइलगायत क्षेत्रमा योजना बनाएर काम गर्नुपर्ने सुझाव दिइएको छ ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै गोविन्द घिमिरेले नगरको समुचित विकासको लागि छिमेकी नगरपालिकासँग सहकार्य गरेर भौतिक पुर्वाधार निर्माण निर्माण गर्न जनप्रतिनिधिहरुलाई सुझाव दिएका छन् । कार्यपत्रमा भ्रष्टचारमुक्त नगर बनाउनु उल्लेख छ । कार्यपत्रमा सडक सञ्जालको विस्तार, ढल तथा नाला निर्माण, सबै नगरवासीहरुलाई शुद्ध खानेपानीको पहुँचमा पु¥याउनु पर्ने, फोहोर व्यवस्थापन चुनौतीको रुपमा रहेकाले दिगो व्यवस्थापन, समाज कल्याण र सामाजिक क्षेत्रको विकास गर्नु उल्लेख छ ।
नगर विकासका लागि राष्ट्रिय सहरी विकास रणनीति, बस्ती विकास, सहरी योजना तथा भवन निर्माण सम्बन्धी मापदण्ड, वातावरणमैत्री सवारी तथा यातायात निधी, वातावरण संरक्षण, फोहोर व्यवस्थापन ऐनलाई टेकेर काम गर्नुपर्ने कार्यपत्रमा औल्याइएको छ ।
नगर विकासका लागि स्थानीय प्राथमिकताका क्षेत्रहरुको निश्चितता, उद्देश्यको पहिचान, अल्पकालीन र दीर्घकालीन योजनाहरुलाई व्यवस्थित ढंगले अगाडि सके रत्ननगर समृद्ध बन्ने परिषद्को सुझाव छ । नगरको विकासका लागि सौराहालाई दोस्रो पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न र पर्यटकको बसाइ लम्व्याउन सकेमा आर्थिक तथा सामाजिक पक्षको विकासमा टेवा पुग्ने कार्यपत्रमा भनिएको छ ।
सिराइचुली, उपरदाङगढी, शक्तिखोरसँग सौराहा जोड्दै टे«किङको व्यवस्था गर्नुपर्ने, कृषि क्षेत्रको विकासका लागि कृषि भूमिलाई खण्डीकरण हुनबाट जोगाउने, लघु, साना तथा मझौला उद्योगलाई जोड दिनुपर्ने, विदेशी तथा स्वदेशी लगानी बढाउन प्रोत्साहन गर्नुपर्ने, छिमेकी नगरपालिकासँग मिलेर चक्रपथ निर्माण गर्नुपर्ने, भ्रष्टचारमुक्त, पारदर्शिताको विकास गर्न सके रत्ननगरले चाँडै मुहार फेर्ने घिमिरले प्रस्तुत गरेको कार्यपत्रमा उल्लेख छ ।
कार्यपत्रमाथि टिप्पणी गर्दै गीतानाथ अर्यालले सौराहालाई अन्य नगरपालिकासँग जोडेर पर्यटनको विकास गर्नुपर्ने, कृषि, पर्यटन र आवास क्षेत्रको वर्गीकरण गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा पूर्वअर्थमन्त्री एवम् नेकपा एमाले स्थायी कमिटी सदस्य सुुरेन्द्र पाण्डेले नगरपालिकाको विकासको लागि जनप्रतिनिधिहरुले पञ्चवर्षीय गुरूयोजना बनाएर काम गर्नुपर्ने बताए । योजना विहीनको काम दौडधुप गरेजस्तो मात्र हुने भन्दै उनले व्यवस्थित रुपमा योजना बनाएर काम गर्न जनप्रतिनिधिलाई सुझाव दिए ।
‘योजना बिना कुनै काम सम्भव छैन’, सांसदसमेत रहेका पाण्डेले भने पाँच वर्षको अवधिमा योजना बनाएर प्राथमिकता अनुसार काम गर्नुस् । सम्बन्धित क्षेत्रका विज्ञहरुलाई राखेर योजना बनाएर काम गरे प्रतिफल प्राप्त गर्न सकिने उनले बताए । रत्ननगर नगरपालिकाका नगर प्रमुख नारायण वनले पूर्वी चितवनका समग्र नगरपालिकालाई समेटेर योजना बनाइ काम गर्न आवश्यक रहेको औल्याए । ‘पूर्वी चितवन भविष्यमा महानगर बन्ने संम्भावना छ’ नगर प्रमुख वनले भने, ‘सबै नगरपालिकालाई समेट्ने गरी ठूलो योजना निर्माण र चक्रपथ निर्माण गर्नुपर्छ ।’
कार्यक्रममा राप्ती नगरपालिकाकी मेयर प्रभा बरालले पूर्वी चितवनको विकासका लागि चारवटै नगरपालिकाको साझा योजना आवश्यक रहेको बताइन् । कार्यक्रम नेपाल वुद्धिजीवी परिषद् रत्ननगर नगर कमिटीका अध्यक्ष केशवराज पाठकको अध्यक्षतामा भएको थियो ।

Comments

About the author

चितवन पोष्ट

प्रतिकिया

Click here to post a comment