गृह » ग्रेड निर्धारणले एसईई नतिजामा सुधार, जिल्लाको नतिजा निकाल्न जटिल : जिशिअ 
प्रमुख समाचार फोटो

ग्रेड निर्धारणले एसईई नतिजामा सुधार, जिल्लाको नतिजा निकाल्न जटिल : जिशिअ 

किशोर खनाल
भरतपुर । ग्रेडिङ प्रणालीले एसएलसीको रुपान्तरित माध्यमिक शिक्षा परीक्षा अर्थात् सेकेन्डरी एजुकेसन एक्जाम (एसईई) नतिजामा सुधार देखिएको छ । विगतको तुलनालाई हेर्दा ग्रेडिङ प्रणालीमा नतिजा निकाल्न थालेपछि सुधार देखिन थालेको हो ।
विद्यार्थीको लब्धाङ्कपत्र उत्तीर्ण र अनुत्तीर्ण उल्लेख नगरी विषयगत ग्रेडिङ दिइने र समग्रमा स्तरीकृत अंक (जीपीए) दिइन अक्षराङ्कन (लेटर ग्रेडिङ) का कारण नतिजामा सुधार देखिएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले जनाएको छ ।
अक्षराङ्कन पद्धतिमा प्रकाशित नतिजाअनुसार नियमिततर्फ ग्रेड पोइन्ट एभरेज (जिपिए) ३.६५ देखि ४ सम्म नतिजा हासिल गर्ने विद्यार्थी चार हजार २८४ रहेको परीक्षा नियन्त्रक कार्यालयले जनाएको छ । गत चैतको पहिलो साता भएको परीक्षामा परीक्षामा देशभरबाट नियमित र आंशिकतर्फ चार लाख ८३ हजार ९६७ ले आवेदन दिएकामा चार लाख ६३ हजार १६६ ले परीक्षा दिएका थिए ।
नतिजाअनुसार जिपिए ३.२५ देखि ३.६० सम्म ल्याउने ४२ हजार ४२७ विद्यार्थी छन् । त्यस्तै, २.८५ देखि ३.०२ सम्म ५० हजार ६४६ विद्यार्थी छन् । २.४५ देखि २.८० सम्म ६१ हजार ९५५ छन् । २.५ देखि २.४० सम्म ९१ हजार ३१४ जना रहेका छन् । १.६५ देखि २.०० सम्म एक लाख आठ हजार ४६४ विद्यार्थीले नतिजा ल्याएका छन् । त्यसैगरी १.२५ देखि १.६० सम्म ६४ हजार ५७७ विद्यार्थीले नतिजा ल्याएका छन् ।
चितवनका जिल्ला शिक्षा अधिकारी गोविन्दप्रसाद अर्यालले चितवन जिल्लाको मात्र एसईईको नतिजा निकाल्न अत्यन्तै जटिल रहेको बताए । उनले भने, ‘चितवनको मात्र एसईईको गुणस्तर मापन गर्न जटिल छ, पहिलेजस्तो सिस्टम यसपटक छैन । तर पनि हामीले पहल गरिरहेका छौँ ।’
‘अहिलेको नयाँ प्रणालीअनुसार जन्ममितिको आधारमा एउटा विद्यार्थीले आफ्नो नतिजा हेर्न त सजिलो भएको छ’ जिशिअ अर्याल भने, ‘तर समग्रमा जिल्लाको गुणस्तर मापन गर्न ज्यादै जटिल भयो ।’ उनले जति जटिल भए पनि आइतबारसम्म जिल्लाको एसईईको गुणस्तर मापन गर्न सकिने बताए । जिशिअ अर्यालले परीक्षा नियन्त्रण कार्यालयसँग समन्वय गरेरमात्र जिल्लाको नतिजा पत्ता लगाउन सकिने बताए । ‘एउटा स्कुलले आफ्नो नतिजा सजिलै पाउने भयो, एउटा विद्यार्थीले पनि जन्ममितिको भरमा नतिजा पाउने भयो, तर समग्रको जिल्लाको नतिजा लिन हामीलाई जटिल भयो’ उनले भने ।
जिल्ला शिक्षा कार्यालय भरतपुरका परीक्षा शाखाका ज्ञानहरि पौडेलले पनि आइतबारसम्म एसईईको जिल्लाको नतिजा कस्तो रह्यो भन्ने कुरा पत्ता लाग्ने बताए ।
चितवन जिल्लामा गत वर्षको एसईई परीक्षामा १२ हजार २३३ परीक्षार्थी सहभागी भएका थिए । ‘चैतमा भएको परीक्षामा चितवनमा ५ हजार ८७१ छात्र र ६ हजार ३६२ छात्राले एसईई परीक्षामा सहभागी भएका थिए । जिल्ला शिक्षा अधिकारी गोविन्दप्रसाद अर्यालले भने, ‘परीक्षाको लागि जिल्लाभर ३९ केन्द्र तोकिएको थियो । एसएलसी परीक्षामा ग्रेड कम भएर फेरि परीक्षा दिन लागेको २०४ जना परीक्षार्थी पनि परीक्षामा सहभागी भएका थिए । अघिल्ला वर्षहरुमा असफल भएका विद्यार्थी जसलाई एक्जाम्टेड भनिन्छ, ती विद्यार्थी १९२ जनाले पनि परीक्षा दिएका थिए ।
एसईई अन्तर्गत ग्रेड वृद्धिको परीक्षा आगामी साउन १९ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने भएको छ । ‘सी’ र त्यसभन्दा कम ग्रेड प्राप्त गर्ने विद्यार्थीले सबै विषयको गे्रड वृद्धि परीक्षा दिन पाउने भएका छन् । गत वर्षसम्म दुई विषयमा ‘डी’ र ‘ई’ ग्रेड पाएका विद्यार्थीले मात्रै ग्रेड वृद्धिको परीक्षा दिन पाउने थिए । तर अहिले सी र त्यसभन्दा कम ‘डी’, ‘डी’ प्लस र ‘ई’ ग्रेड प्राप्त गर्ने विद्यार्थीले पनि ग्रेड वृद्धिको परीक्षा दिन पाउने व्यवस्था मिलाइएको छ । दुई विषयसम्म परीक्षामा सहभागी नभएका परीक्षार्थी पनि ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने नियम यसै वर्षबाट लागू भएको छ ।
यसपटक परीक्षा बोर्डले सात वर्ट प्रदेशमा प्रदेशगत रुपमा नतिजा प्रकाशन गरेको थियो ।
‘ग्रेडिङ प्रणाली सकारात्मक’
गत वर्षबाट सुरू भएको ग्रेडिङ प्रणालीको नतिजाले समग्रमा सकारात्मक प्रभाव पारेको शिक्षाकर्मीहरु बताउँछन् । फेल नभनी ग्रेडिङमा नतिजा हुने कारणले विद्यार्थीहरुमा चरम निराशा नछाएको मोहना माविका शिक्षक कमलराज खनालले बताए । उनले भने, ‘क्षमताअनुसार प्रमाणपत्र दिने ग्रेडिङ प्रणालीले विद्यार्थीहरुले एउटा बाटो रोज्न पाएका छन् ।’
सहायक जिल्ला शिक्षा अधिकारीसमेत रहेका ज्ञानहरि पौडेलले ग्रेडिङ प्रणालीको नतिजाले विद्यार्थीहरुमा सकारात्मक प्रभाव परेको बताए । उनले भने, ‘जुनसुकै ग्रेड आए पनि पासको प्रमाणपत्र त विद्यार्थीले पाउँछन् । प्रमाणपत्र अनुसार उनीहरुले एउटा बाटो रोज्छन् ।’
‘डी’ र ‘ई’ ग्रेड ल्याएका विद्यार्थीहरुलाई ११ कक्षा पढ्नलाई अवसर पाउँदैनन् । सहायक जिशिअ पौडेलले ‘डी’ र ‘ई’ ग्रेड ल्याएका विद्यार्थीहरुले ११ कक्षामा जान कि फेरि परीक्षा दिनुपर्ने कि छोटा खालका टेक्निकल विषयहरु पढ्नुपर्ने अवस्था रहेको बताए ।
जुनसुकै विषयमा ३.९ भन्दामाथि ग्रेडिङ आउँदैन । गत वर्ष चितवनमा कुल ग्रेडिङमा ११ जना विद्यार्थीहरुले ३.९ ग्रेडिङ ल्याएका थिए । कुल ग्रेड विन्दुमा १.६ भन्दा तल आए त्यस्ता विद्यार्थीहरुलाई कलेजले भर्ना लिन नसक्ने जनाइएको छ ।

Comments

About the author

चितवन पोष्ट

प्रतिकिया

Click here to post a comment