गृह » माडीमा तराई–मधेस खानेपानी सुधार कार्यक्रम
अर्थ समाचार समाज

माडीमा तराई–मधेस खानेपानी सुधार कार्यक्रम

–तुलमान गुरूङ
भरतपुर । चितवनमा पहिलो पटक तराई मधेस खानेपानी सुधार कार्यक्रम लागू भएको छ । चितवनको माडीमा यो कार्यक्रम लागू भएको छ । आर्थिक वर्ष २०७३÷०७४ मा जिल्लाका पहाडी भेगसहित विभिन्न ५ स्थानका लागि कार्यक्रम माग गरे पनि दुई ठाउँमा मात्रै कार्यक्रम लागू भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले जनाएको छ ।
पहिलो चरणको कार्यक्रम माडीको गणेशकुञ्ज र पाण्डवनगरमा कार्यक्रम लागू गरिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख शालिकराम पौडेलले जानकारी दिए । बस्तीको वरिपरि खानेपानीको स्रोत नभएको र विद्युत् पनि नभएका ठाउँहरूमा बोरिङ गरी सोलारमार्फत् पानी तानेर स्थानीयलाई वितरण गर्ने गरी कार्यक्रम लागू भएको उनले बताए ।
नेपाल सरकारले साना बस्तीका लागि यो कार्यक्रम ल्याएको हो । सरकारको एक करोड १२ लाख रूपैयाँ बजेटमा कार्यक्रम सुरू गरिएको डिभिजन प्रमुख पौडेलले बताए । ‘खानेपानीका लागि बोरिङ खन्ने काम सुरू भइसकेको छ,’ उनले भने, ‘अब ट्याङ्की जडान गरी सोलारमार्फत् पानी तान्ने र पाइप जडान गर्ने काममात्रै बाँकी छ ।’ आगामी आर्थिक वर्षभित्रमा सबै काम सकिने र उक्त कार्यक्रमबाट गणेशकुञ्जका तीनसय र पाण्डवनगरका एकसय घरधुरी स्वच्छ खानेपानीबाट लाभान्वित हुनेछन् ।
एकत्रित भएका साना बस्तीहरूलाई लक्षित गरी १२ मिटर अग्लो ट्याङ्की निर्माण गरी ३ देखि ६ स्वायर किलोमिटर क्षेत्रभित्र बढीमा १८ किलोमिटरसम्मको दूरीभित्र रहने गरी खानेपानी वितरण हुने उनले बताए । विद्युत् सेवा नभएका स्थानहरूमा सोलारमार्फत् पानी तान्नका लागि यो कार्यक्रम प्रभावकारी हुने डिभिजन कार्यालयले जनाएको छ । चितवनसहित तराईका अन्य जिल्लाहरूमा पनि यो कार्यक्रम सञ्चालन भइरहेका छन् ।

Comments

About the author

चितवन पोष्ट

प्रतिकिया

Click here to post a comment