गृह » विद्यालय पुनर्निर्माणका लागि पाँच लाख सहयोग
अर्थ शिक्षा समाचार समाज

विद्यालय पुनर्निर्माणका लागि पाँच लाख सहयोग

भरतपुर । २०७२ वैशाखको भूकम्पबाट क्षतिग्रस्त भरतपुर महानगरपालिका–१६ मा रहेको आधारभूत विद्यालय मोहनपुरलाई आर्थिक सहयोग प्राप्त भएको छ ।
भूकम्पबाट क्षतिग्रस्त भवनको पुनर्निर्माणका लागि आर्थिक सहयोग गरिएको हो । नारायणगढका तीन बानिया दाजुभाइले आफ्ना स्वर्गीय बुबा फौदबहादुर र आमा धनकुमारी बानियाको स्मृतिमा आर्थिक सहयोग गरेका हुन् ।
स्वर्गीय बानिया दम्पतीका छोराहरु शम्भु, राजेन्द्र र लक्ष्मण बानियाले विद्यालयका प्रधानाध्यापक ईश्वरीप्रसाद दवाडी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरवीर पोखरेललाई संयुक्तरुपमा ५ लाख रुपैयाँबराबरको चेक हस्तान्तरण गरेका हुन् ।
स्वर्गीय बुबाको सामाजिक सेवाको योगदानको प्रेरणाले विद्यालयलाई आर्थिक सहयोग गरेको छोरा शम्भु बानियाले जानकारी दिए । स्वर्गीय फौदबहादुरले नेपाल रेडक्रस सोसाइटी चितवन शाखा, बालकुमारी कलेज, बालकुमारी मावि र कन्या माविलगायत विभिन्न सामाजिक संघसंस्थामा संस्थापक सदस्य भएर सामाजिक कार्यमा सहभागी भएको उनको भनाइ छ ।
बानिया ३ दाजुभाइले आफ्ना स्वर्गीय बुबा तथा आमाको स्मृतिमा हालसम्म विभिन्न काम गरेको छोरा लक्ष्मण बानियाले बताए ।
नारायणगढमा ईश्वरीमाई मन्दिर निर्माण, किरियापुत्री भवन निर्माणसँगै आधारभूत विद्यालय मोहनपुरमा गुणस्तरीय खानेपानीको व्यवस्था गरेको उनको भनाइ छ । कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरवीर पोखरेलले भूकम्पपश्चात् क्षतिग्रस्त भवन निर्माणका लागि प्राप्त सहयोग रकमले भवन निर्माणमा टेवा पुग्ने बताए । जिल्ला शिक्षा कार्यालय चितवनबाट ४८ लाख रुपैयाँको लागतमा ६ कोठे भवनका लागि रकम प्राप्त भएको उनले बताए ।
जस्ताको छानाका लागि रकम विनियोजन भए पनि सहयोगी दाताहरुको खोजीमा ढलाइ गर्ने गरी भवन निर्माण सुरू गरिएको उनले बताए । बानिया दाजुभाइबाट प्राप्त रकम ढलानका लागि खर्च गरिने उनले बताए ।
त्यसअघि विद्यालयलाई लक्ष्मण बानियाको पहलमा युथ क्लब नारायणगढले अस्थायी भवन निर्माण गरिदिएको थियो ।
कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक ईश्वरीप्रसाद दवाडीले विपन्न तथा अधिकांश सीमान्तकृत परिवारका करिब ४ सय विद्यार्थी विद्यालयमा अध्ययनरत रहेको बताए ।
विद्यालयको भवन निर्माणपश्चात् विद्यार्थीहरुलाई अध्ययनका लागि सहज हुने उनले विश्वास व्यक्त गरे । कार्यक्रममा युथ क्लब नारायणगढका पूर्व अध्यक्ष हेरम्बकुमार असिमले स्वर्गीय बानियाले सामाजिक क्षेत्रमा पु¥याएको योगदानको चर्चा गरेका थिए ।

Comments

About the author

चितवन पोष्ट

प्रतिकिया

Click here to post a comment