गृह » ग्रहगति
विचार

ग्रहगति

– रामबाबु घिमिरे
सबै सृष्टि–संरचना ग्रहगतिमा टिकेको छ । यो तालमेलमा तलवितल प¥यो भने अनर्थ हुनसक्छ । जीवन–जगत् समाप्त हुनसक्छ । पुनः संरचित हुन लाखौँ प्रकाश वर्ष लाग्नसक्छ । धर्मशास्त्रमा वर्णित प्रलयको परिकल्पना यस्तै सम्भावना सूचक हो । मेरो आफ्नै कुरा गर्ने हो भने मेरो अस्तित्वको कारक पनि ग्रहगति नै हो । मेरो दैनिकीसमेत ग्रहगतिबाट सञ्चालित छ । ग्रहगतिकै कारण म जाडो र गर्मीको अनुभव गर्छु । त्यसैले म भन्न चाहन्छु, मेरो हाइकमान्ड ग्रहहरु हुन् । म दुनियाँदारीबाट होइन, ग्रहगतिबाट परिचालित छु । तसर्थ, मेरो गतिविधि यदाकदा अनौठो लाग्नसक्छ ।
एकताका म हस्तरेखा र ज्योतिषमा रूचि राख्थेँ । विश्वविख्यात हस्तरेखाविद् किरोको नाम सुन्नुभएकै होला । पढ्न सके हस्तरेखा खुला पुस्तक हो । प्रत्येक मान्छेको अनुहारजस्तै हस्तरेखाको संरचना पनि अलगअलग हुन्छ । ‘भृगुसंहिता’ एउटा साथीले लगेको थियो, फिर्ता गरेन । ऊ समानुपातिक कोटाबाट सांसद् बनेको छ । सम्भवतः उसले भृगुसंहिताको सूत्र प्रयोग गरेर ग्रहहरु अनुकूल बनायो । नेता पनि ग्रहजस्तै हुन्, अनुकूल भए भने सडकबाट संसद्मा पु¥याउन सक्छन् । प्रत्यक्ष निर्वाचित हुन दुनियाँको चाकडी गर्नुपर्छ । ग्रहहरु अनुकूल भए समानुपातिकबाट सोझै सांसद् होइन्छ ।
मेरो शरीर मात्र होइन, मन पनि ग्रहगतिबाट सञ्चालित छ । कुनै दिन बिनाकारण नै उदासीले छाउँछ । जता हेरे पनि नरमाइलो लाग्छ । आफू मात्र होइन, प्रकृति पनि शोकमग्न देखिन्छ । वैराग्य भाव प्रबल हुन्छ । उमेर छँदै वैराग्यबोध भएको भए यतिबेला म कुनै मठको मठाधीश भैसक्थेँ । नेताहरु पनि मठाधीश नै हुन् । इतर सम्प्रदायकाहरुलाई देख्नै चाहँदैनन् । उमेर छँदै पनि वैराग्यबोध नभएको होइन, तर गृहत्याग गर्न सकिनँ । मैले गृहत्याग गर्न नसक्नुको एक कारण मेरी धर्मपत्नी हुन् । मैले किन धर्मपत्नी भनेको हुँ भने आजसम्म मप्रति अधर्म चिताएर मन अन्त डुलाएको थाहा छैन । मैले भनिसकेँ, कहिलेकाहीँ मलाई बिनाकारण नै उदासीले छाउँछ । सबै सम्बन्धहरु अर्थहीन लाग्छन् । मान्छेहरु सबै कठपुतलीजस्ता लाग्छन् । बिचराहरु ग्रहगतिको चंगुलमा परेको थाहै पाउँदैनन् । भन्न त भनिन्छ, मान्छेलाई उसको जिजीविषाले नचाइरहेको हुन्छ । तर यकिन गर्न सक्दिनँ, जिजीविषाले नचाएको हुन्छ वा ग्रहगतिले ।
सोच्दा पनि मनमा भययुक्त कम्पन हुन्छ, कथम् कुनै ज्ञात वा अज्ञात ग्रह पृथ्वीसँग जम्काभेट भयो भने के होला ! खगोलविद्हरु बेलाबखत डरलाग्दा कुरा गर्छन् । अनि तपाईंलाई थाहा छँदै छ, महाभूकम्पबाट पहाड नदी र नदी पहाड बन्न सक्छ । मेरो निवास पनि भूकम्पीय जोखिममा छ । मैले पढेको हुँ– विशाल पोखरी थियो, काठमाडौँ उपत्यका । म कल्पना गर्छु– चोभारको डाँडा काटेर निकास नबनाएको भए त्यो विशाल पोखरी अझै देख्न पाइन्थ्यो । पोखरीमा नानाथरीका जलचर विचरण गर्थे होलान् । आजकल जुन ठाउँमा सिंहदरबार छ नि, संभवतः त्यतातिर बथानका बथान गोही हुन्थे होलान् ।
बूढापाका भन्छन्– कसैकसैलाई औँसीपूर्णे लाग्छ । मेरो एउटा साथी छ, प्रायः मंगलबार बेचैन बेचैन रहन्छ । हाम्रा बारहरुको नामकरण ग्रहहरुको नामबाट गरिएको छ । म बुधबार जन्मेको हुँ । बुधग्रहसँग मेरो अलि नजिकको सम्बन्ध छ । पश्चिमीहरु पनि मनोरोग र औँसीपूर्णेमा तादात्म्य देख्छन् । उनीहरु ठान्छन्– समुद्रमा ज्वारभाटा बढेको बेला मनोरोग बल्झन्छ । सिल्ली खालको मान्छेलाई ल्यून्याटिक भन्छन् । म पनि अलिअलि ल्यून्याटिक छु । थाहा भएन, म ल्यून्याटिक हुनुमा ग्रहगतिको केकस्तो भूमिका छ । म यसकारण ल्यून्याटिक छु कि मबाट विगतमा विनासोचसमझ कैयन निर्णय भएका छन् । सम्भव हुँदो हो त म विगतका ती आफ्ना निर्णयहरु बदर गर्थें । म अविवाहित नै रहेको भए मेरो सोचाइ अलि व्यापक हुन्थ्यो होला । मलाई त सात्र्र र सिमोनको जस्तै लिभिङ टुगेदर पो ठीक हो कि जस्तो लाग्न थालेको छ ।
मलाई यकिन हुन थालेको छ । मेरा ग्रहहरु प्रतिकूल छन् । जन्मकुण्डली बनाउँदा ¥याङठ्याङ नमिलेजस्तो छ । जन्मकुण्डली भन्नु ग्रहगति र स्थितिको नक्सांकन हो । नक्साको प्रसंग आउनासाथ देशको सीमा मिचिएको सम्झेँ । मेरो सँधियारले पनि हरेक वर्ष साँध मिच्छ । लालपुर्जा र नक्साको कुरा गर्दा सुनेको नसुन्यै गर्छ ।
आमाले भन्नुभएको म जन्मँदा भयानक मेघ गर्जनसाथ पानी परिरहेको थियो । तपाईंलाई थाहा हुँदै होला, पहाडमा मेघ गर्जनसाथ पानी पर्दा डाँडाकाँडा सबै थर्र्केझैँ हुन्छ । त्यसैको मनोकारण होला, आजसम्म दुनियाँमा म थर्कमान भई बाँचे । त्यति नै बेला मेरो सातो गएजस्तो छ । गाउँका एक चेपाङ झाँक्री बूढा सातो फर्काउन झारफुक गर्थे । मेरो सातो फर्काउन पनि उनले धेरै झारफुक गरे, तर मेरो सातो फर्कंदै फर्केन । सातो भनेको हिम्मत र साहस हो । म बिनासातो नै बाँचे । मान्छे अति नै विषम हालतमा पनि बाँच्न सक्दोरहेछ ।
जन्मकुण्डली जातकको भावी जीवनलाई स्वेतपत्र हो । संविधानको प्रस्तावनाजस्तै । त्यति मात्र होइन, भावी जीवनको सुस्पष्ट रेखांकन हो । तर, सर्त यो छ कि ¥याङठ्याङ मिलेको हुुनपर्छ । मैले स्पष्ट पारिसकेको छु । मेरो जन्मकुण्डली बनाउँदा तलवितल परेको छ । त्यसैले कहिलेकाहीँ लाग्छ, हस्तरेखाको मात्र भर परौँ । हस्तरेखा भनेको प्रकृति निर्मित जन्मकुण्डली हो । भनिन्छ, नेपोलियनले आफैँले चिरेर हस्तरेखा अनुकूल बनाएका थिए । साँच्चै मेरो जन्मकुण्डली बनाउँदा तलवितल परेको छ । त्यसैले, जन्मकुण्डलीमा सुखसम्पदा लेखिएको बेला पनि आपदविपद् बेहोरिरहेको हुन्छु । जन्मकुण्डली हेर्दै ज्योतिषीले विजय सुनिश्चित भनेका थिए, जब कि चुनावमा म नराम्ररी पराजित भएँ । पराजय अभ्यस्त भएपछि पराजयमा पनि आनन्द आउँछ । जीवनमा कतिपय युद्ध जित्नका लागि मात्र लडिन्न । पराजय निश्चित युद्ध लड्न अदम्य साहस र हिम्मत चाहिन्छ । पराजय निश्चित युद्ध लड्नु भनेको विपक्षीलाई आफ्नो अस्तित्व बोध गराउनु हो । म परिवारमा, समाजमा, राजनीति, साहित्यमा जताततै अस्तित्वको लडाइँ लड्दै छु । बूढो हुँदै गएपछि अस्तित्वको लडाइँ झन्झन् कठिन हुँदोरहेछ । पारिवारिक निर्णयमा मेरो दखलअन्दाजी मन पराउन छाडेका छन् । मलाई निर्णयका बोधार्थ मात्र दिन थालेका छन् ।
म कर्मवादी हुँ । जीवनमा राम्रा–नराम्रा कर्म गर्दै आएको छु । तर त्यतिबेला म नियति सम्झन्छु, जब राम्रो नियतले गरिएको कर्मको प्रतिफल नराम्रो हुन्छ । सहज प्राप्य कुरा पनि जब दुर्लभ हुन्छ, तब म ग्रहगतिको बारेमा सोच्न थाल्छु । मुस्किलले रूद्राक्षको बिरूवा हुर्काएँ । फल्न त फल्यो, तर आजसम्म एकमुखे फेला परेन । जे होस्, दुनियाँ उपायहीन छैन । धर्मले स्वर्ग जाने उपायसमेत देखाएको छ । मान्छेले संकटमोचनका अनेक उपाय इजात गरेको छ । मेरा पिताजी विषम परिस्थितिमा हनुमान चालिसा पाठ गर्नुहुन्थ्यो । हनुमानलाई विस्मरणको श्राप परेको थियो । अरुले नसम्झाएसम्म उनलाई आफ्नो अपार क्षमता र साहसको पत्तो हुँदैनथ्यो । मलाई पनि लाग्छ, म पनि श्रापित छु । त्यसैले, भुसुनासमान विपक्षीलाई पनि अजंगको देख्छु । अनि, धेरैले मलाई बिर्से । मधुशालामा कैयन साँझ एकसाथ बिताएका केही मेरा पुराना मित्रहरुलाई यो पनि थाहा नहुनसक्छ कि म अझै यो दुनियाँमा छु वा छैन । मित्रता पनि नवीकरण गरिएन भने चालक अनुमति पत्रजस्तै रद्द हुँदोरहेछ ।
ज्योतिषमा, धर्ममा प्रतिकूललाई अनुकूल बनाउने उपाय छन् । प्रतिकूललाई अनुकूल बनाउने उपाय पढेपछि म आशाको उज्यालो देख्छु । कल्पना नै भए पनि धर्मले आशामुखी बनाउँछ । नैराश्य भनेको मसान, पिचास, किचकन्याजस्तै हो । पुर्खाहरु प्रतिकूललाई अनुकूल बनाउन मन्त्र, तन्त्र र यन्त्रको प्रयोग गर्थे । मैले साहित्यशास्त्रमा शब्दशक्तिका बारेमा पढेको थिएँ । मन्त्र भनेको त्यही शब्दशक्ति हो । प्रभावशाली भाषण, प्रवचन र मीठामीठा कविता शब्दशक्तिकै स्वरुप हुन् । तन्त्रशास्त्रमा वर्णित वशीकरण विधिमा सिद्धि प्राप्त गर्न सके मै हुँ भन्ने विपक्षीलाई पनि पिछलग्गु बनाउन सकिन्छ । यति पढेपछि तपाईंले मेरो मनोग्रन्थी केलाउनु भयो होला । म सामान्य लेखक हुँ । एउटा लेखकसँग लुकाउनु पर्ने कुरा केही हँुदैन ।
फाइदा लिनसके प्रतिकूल परिस्थितिबाट पनि लाभान्वित हुन सकिने रहेछ । मेरा एक मधुमेही मित्र मधुमेह समाजको अध्यक्ष बनेका छन् । रोग त मलाई पनि प्रकारप्रकारका लागेका छन्, तर कुनै रोगबाट पनि फाइदा लिनसकेको छैन । अब म भन्न चाहेको कुरातर्फ लाग्छु । भूमिकामा तपाईंलाई अलमल्याएकोमा क्षमाप्रार्थी छु । प्रतिकूल ग्रहहरु अनुकूल बनाउन केही दिनपूर्व धर्मपत्नीको आग्रहमा ग्रहशान्ति गर्न लगाएँ । उनी मेरो बारेमा अलि बढी नै चिन्तित रहन्छिन् । त्यसको एउटा कारण यो पनि हुनसक्छ कि, अब हामी एकअर्काको लागि निर्विकल्प भएका छौँ । अनुकूल बनाउन सकियो भने शनिग्रहबाट पनि शुभ–लाभ प्राप्त गर्न सकिन्छ । ग्रहशान्तिपछि म ढुक्क भएको छु, अब मेरा ग्रहहरु अनुकूल भए । अब ममाथि ग्रहहरुको सदा सुदृष्टि रहने छ । अब म त्यो रहिनँ, जो पहिले थिएँ । त्यसैले, आकस्मिक रुपमा मैले शुभ–लाभ प्राप्त गरेको समाचार पाउँदा अनौठो नमान्नुहोला !

Comments

About the author

चितवन पोष्ट

प्रतिकिया

Click here to post a comment