गृह » चितवनको पत्रकारिताका शिखर गणशेखर
विचार साहित्य

चितवनको पत्रकारिताका शिखर गणशेखर

प्रा.डा. नारायणप्रसाद खनाल
प्रत्येक मानवजीवन भोगाइका आरोह–अवरोहहरुका विवशतामा अल्झेको हुन्छ । कहाँ जन्मन्छ, कहाँ हुर्कन्छ र कहाँ अवसान हुन्छ, यो कसैले निर्धारण गर्ने कुरा होइन । तर अदृश्य शक्तिवादीहरुले यो सब गराउने दोष भावीलाई दिन्छन्, जसले जन्मँदाको छैटौँ दिनमा प्रत्येक प्राणीको भाग्यरेखा (जीवनरेखा) कोरेको ठानिन्छ । काठमाडौँको इन्द्रचोक चोखाँचे गल्लीमा पिता डम्बरशेखर शर्मा राजोपाध्याय रिमाल र माता लीलवाणीको प्रथम पुत्ररत्नका रुपमा विसं १९९६ असार ३ गते जन्मेका एक स्थापित पत्रकार एवम् समाजसेवी व्यक्तित्व गणशेखर शर्मा यस्तै यस्तै जीवन भोगाइका चपेटामा परेका शिखर व्यक्ति हुन् ।
वि.सं २०१७ सालको कुरा हो । काठमाडौँमा कृष्णमान श्रेष्ठले ‘कोहीनूर’ भन्ने साप्ताहिक पत्रिका चलाएथेँ । गणशेखरलाई पत्रिकामा काम गर्न मन लागेको थियो । उनी एकदिन कृष्णमानको कार्यालयमा गएर पत्रिकारिता गर्ने अभिप्राय प्रकट गरेपछि उनी त्यस पत्रिकाको संवाददाता वा रिपोर्टर भए । उनले जम्मा भएका समाचार संकलन गर्ने, काँटछाँट गर्ने र सम्पादकको टेबुलमा पु¥याउने काम गर्दथे । यो पत्रिका ८–१० वर्ष चलेर बन्द भयो । कृष्णमान सरकारको अञ्चलाधीश नियुक्त भए, तर यसैबीच २०१७ सालमा गणशेखरको वीरादेवीसँग दाम्पत्य सम्बन्ध भयो । पाए पत्रकारितासमेत गर्ने आशय राखी २०१९ मा उनी चितवन झरे र नभन्दै २०२३ देखि राष्ट्रिय समाचार समिति नेपालको नारायणी अञ्चल कार्यालय चितवनस्थित समाचारदाताका रुपमा काम गर्ने थाले । प्रवेशिका परीक्षा पास गरेका शेखरले २०३२ तिर वीरगन्जबाट केशव आचार्यको सम्पादकत्वमा प्रकाशित हुने साप्ताहिक पत्रिकामा चितवनको संवाददाता बनेका थिए । यो पत्रिका १० वर्ष चलेर बन्द भइहाल्यो । सुनिन्छ, रासस प्रतिनिधिका हैसियतले गणशेखरले पठाएका समाचारलाई हाइलाइट गरेर फ्रन्ट पेजमा गोरखापत्रले छाप्ने पनि गरेका थिए ।
‘सादा जीवन उच्च विचार’का धनी गणशेखरका दुई सुपुत्र र दुई सुपुत्री एवम् छोराछोरीतर्फबाट ४–४ नातिनातिना छन् भने छोरीतर्फबाट एउटी पनातिनी पनि जन्मेकी छिन् । विधिको विडम्बना ! केही वर्षअघि प्रिय पुत्रीको र फेरि धर्मपत्नी वीरादेवीको असह्य वियोगलाई पनि सहँदै पत्रकारिताको धर्म निर्वाह गरिरहेका छन् । विसं २०५३ सालदेखि उनले आप्mनो पत्रकारिताको धर्मलाई परिपालन गर्ने सिलसिलामा ‘साप्ताहिक चितवन’ नामक पत्रिका जिल्ला प्रशासन कार्यालय चितवनमा दर्ता गराए, जसको द.नं ६÷०५३÷०५४ रहेको छ । प्रधानसम्पादक गोविन्दराज विनोदी र कार्यकारिणी सम्पादक प्रा.डा. नारायणप्रसाद खनाल रहेका छन् । अविरल रुपमा २१ वर्षसम्म चलिरहेको यस पत्रिकाको अबको अङ्क पूर्णाङ्क १०२५ हो भने सूचना तथा सञ्चार मन्त्रालय, सूचना विभागको पत्रिपत्रिका वर्गीकरण गर्ने सन्दर्भमा यसलाई ‘ख’ श्रेणीमा मूल्याङ्कन गरिएको छ । पत्रिकामा वीरादेवी आजीवन प्रकाशक–व्यवस्थापक रहेको र कानुनी सल्लाहकारमा सुरूदेखि नै अधिवक्ता एकनारायण सापकोटाको उपस्थिति हालसम्म रहेको छ । हाल अतिथि सम्पादक शारदा पौडेल र सहयोगी सम्पादक सुजन शर्मा रहेको अवस्था छ भने सम्पादक तथा प्रकाशक स्वयं गणशेखर नै रहेको स्पष्ट छ । पत्रकारिताको क्षेत्रमा जीवनका ५७ वर्ष व्यतीत गरिसकेका गणशेखर यतिबेला अठहत्तरौँ वर्षमा दौडिरहेका उनलाई चिन्ने नचिन्ने जोसुकैले देखिरहेका छन् । गणशेखर स्वस्थ, तन्दुरूस्त र फुर्तिला देखिए पनि बढ्दो उमेरका कारण हुने यावत अप्ठ्याराहरु उनलाई पनि झेल्न परेकै छ ।
गणशेखरले देशको सेवामा जेजति समय लगाए त्यो केही पाऊँला भनेर होइन, बरू निस्वार्थ ढंगमा उनले पत्रकारिता गरेका छन् । विभिन्न समाचार लेखेबापत् र पठाएबापत् उनले कति धम्की र खप्की तथा जेलनेल बेहोर्नु प¥यो त्यो भनिसाध्य छैन । पञ्चायतकालीन प्रशासनबाट जोगिँदै उनले रिपोर्टिङ गर्दथे । बेलाबखत मन्त्री, प्रधानमन्त्री र राष्ट्रपतिसम्मका व्यक्तित्वहरुको मात्र होइन, राजा महेन्द्र र राजा वीरेन्द्र तथा युवराजाधिराज दीपेन्द्र, ज्ञानेन्द्र र राजतन्त्रको अन्त्यपछिका प्रथम राष्ट्रपति डा. रामवरण यादव, द्वितीय राष्ट्रपति विद्या भण्डारीसमेतका समाचार उनले सम्प्रेषण गरेका छन् । उनले प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालादेखि प्रचण्ड, देउवासम्मका दर्जनौँ प्रधानमन्त्रीको रिपोर्टिङ काठमाडौँ, चितवनबाट गरिसकेका छन् । राष्ट्रिय समाचार समितिका माध्यमबाट उनले पठाएका स्वच्छ, निष्पक्ष र सत्यतथ्य समाचार गोरखापत्र, रेडियो नेपाल, नेपाल टेलिभिजन र अन्य स्थानीय एफएम तथा पत्रपत्रिकाले समेत छाप्ने तथा प्रसारण गर्ने गर्दथे । निर्भीक भई २०३६ सालमा नेता विश्वेश्वरप्रसाद कोइराला र नेता मनमोहन अधिकारीको उत्तेजक भाषणका समाचारहरु यथावत् सम्प्रेषण गरेबापत् पञ्चायतले शेखरलाई जेल यातनासमेत दिएको थियो, तर यस किसिमका सत्य र यथार्थ समाचार दिन उनले अझै छोडेका छैनन् ।
चितवनको पत्रकारिताका इतिहासमा लामो समयसम्म सेवारत भई विभिन्न संघसंस्थाका सदस्य, आजीवन सदस्य, संस्थापक सदस्य, कार्यकारी सदस्य, सदस्यसचिव र अध्यक्ष तथा उपाध्यक्ष पदमा रहेर पत्रकार गणशेखर शर्मा रिमालले कयौँ युवक र होनहार पुस्तालाई कर्तव्यनिष्ठ र प्रेरक भइरहन निरन्तर आग्रहपरक यथार्थता प्रस्तुत गर्दै गइरहेका छन् ।
मानिस कामको प्रशंसा गर्छ । काम गर्ने मानिस कहिल्यै सानो हुन्न । देवकोटाले ‘कर्म नै पूजा भन्दछ, साथी यो लक्ष्मीप्रसाद’ भनी कर्मको श्रेष्ठता उल्लेख गरेका छन् । गीता भन्छ– ‘फलाशा नलिई काम गर्नु नै अधिकार हो ।’ बस्, गणशेखरजीले गरेको काम गीताको कर्मयोगमा आधारित देखिन्छ । फलको आशा नगरी गरिएका कार्यको मूल्याङ्कन कसरी हुँदोरहेछ, गणशेखरजीले आफ्नो जीवनकालमा प्राप्त गरेका यी विभिन्न मानसम्मान र अभिनन्दन–पत्र, पुरस्कार राशिमा गर्व गर्नुपर्ने हुन्छ । आजसम्म गणशेखरले पाएका यी विभिन्न सम्मान–पत्रहरुको भाषा कति रमणीय र आकर्षक रहेका छन् । यी प्रमाणपत्रहरुको भाषा र समर्पण हेर्दा शेखरप्रति प्रबुद्ध समाजले, पत्रकार जगत्ले गर्व गर्नुपर्ने हुन्छ । यी वरिष्ठ पत्रकार अनेकताभित्र एकता र एकताभित्र सहिष्णुता खोज्न कलाकार हुन् । उनलाई प्रदत्त सम्मान–पत्र र अभिनन्दन–पत्र उनकै ७८ औँ वर्ष प्रवेशका शुभ जन्मदिन पारेर प्रकाशित गरिएका छन् ।
वि.सं २०५३÷३÷२३ गते नेपाल पत्रकार महासंघ जिल्ला शाखा चितवनले प्रमुखअतिथि माननीय रामचन्द्र कुशवाहा र सूचना तथा सञ्चार संस्थाका मन्त्रीले निक्कै लामो विवरण भएको अभिनन्दन–पत्र वरिष्ठ पत्रकार गणशेखर शर्माज्यूका करकमलमा समर्पण गरेका थिए । यसमा नेपाल पत्रकार महासंघ केन्द्रीय सभापति र नेपाल पत्रकार महासंघ चितवन शाखाका सभापति वेदप्रसाद खरेल ‘अपजसी’का हस्ताक्षर रहेका छन् । चाँदीको कलात्मक फ्रेम राखिएको यो अभिनन्दन–पत्र पत्रकारिताका क्षेत्रमा लागेका गणशेखरका लागि सबैभन्दा पहिलो सम्मान हुनुपर्छ । यस अभिनन्दन–पत्रले गणशेखरलाई आफ्नो पत्रकारिताको क्षेत्रमा व्यतीत गरेका जवानी खेर नगएको महसुस हुन गएको छ ।
नेपाल पत्रकार महासंघ जिल्ला समिति चितवनले २०५६÷५÷२० गते माननीय डा. श्री गंगाधर लम्साल (तत्कालीन भूमिसुधार तथा व्यवस्था राज्यमन्त्री)लाई प्रमुखअतिथिका हैसियतले गणशेखर शर्मालाई चितवन जिल्लामा २०५२ सालदेखि नियमित रुपमा ‘साप्ताहिक चितवन’ पत्रिकालाई निरन्तरता दिँदै आएकोमा त्यसको निरन्तरता र सफलताको शुभकामनासहित प्रशंसा–पत्र प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष किशोर नेपालको समेत समुपस्थिति रहेको यस प्रमाणपत्रमा नेपाल पत्रकार महासंघ चितवनका सभापति कृष्ण भण्डारी ‘भावुक’को हस्ताक्षर रहेको छ । चाँदीको कलात्मक फ्रेममा सजाइएको गणशेखरको लागि यो प्रमाणपत्र पत्रकारिताका क्षेत्रमा काम गर्दाको हौसलास्वरुप वितरित कार्यमूल्याङ्कनपरक प्रशंसा–पत्र हो ।
राष्ट्रिय समाचार समिति काठमाडौँले आफ्नो स्वर्ण–महोत्सवका अवसरमा २०६८÷६÷८ मा यस संस्थामा तीन दशकभन्दा बढी समय अविच्छिन्न रुपमा सेवामा रहेर पु¥याएको अमूल्य योगदानको उच्च मूल्याङ्कन गर्दै सेवानिवृत्त समाचारदाता श्री गणशेखर शर्मा भरतपुर, चितवनलाई स्वस्थ एवम् सक्रिय जीवनको सफलताको कामनासहित सधन्यवाद सम्मानपत्रद्वारा सम्मानित गर्दै सुख, शान्ति, समृद्धि, प्रगतिको कामना गरिएको छ । पत्रमा स्वर्ण–महोत्सव कार्यक्रमका संयोजक रामकुमार कोइराला, कामु महाप्रबन्धक वासुदेव श्रेष्ठ र अध्यक्ष कोमलनाथ बरालको हस्ताक्षर रहेको छ । यस सम्मानले गणशेखरलाई गौरवबोध भएको अनुभूति गर्न सकिन्छ ।
नेपाल पत्रकार महासंघ चितवन शाखाले स्व. तिलचन्द्र साँखीको स्मृतिमा स्थापना गरेको ‘स्व. तिलचन्द्र साँखी स्मृति पुरस्कार’ शाखाको दसौँ अधिवेशनका अवसरमा चितवनमा पत्रकारिता क्षेत्रमा लामो समयदेखि क्रियाशील गणशेखर शर्मालाई पुरस्कृत गर्दै पत्रकारिता क्षेत्रमा आगामी दिनमा अझ बढी क्रियाशीलता र प्रभावकारिताको अपेक्षाका साथ मिति २०७० फागुन २१ गते सम्मान–पत्र प्रदान गरेको छ । प्रमुखअतिथि नेपाल पत्रकार महासंघका तत्कालीन अध्यक्ष शिव गाउँले र नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष जनक अर्यालद्वारा हस्ताक्षरित यस सम्मान–पत्रसँगै नगद पुरस्कारसमेत प्रदान गरिएको थियो ।
नेपाल पत्रकार महासंघ जिल्ला कार्यसमिति चितवनले मणशेखर शर्मालाई लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील रही नेपाल पत्रकार महासंघ चितवन शाखाको संस्था विकासमा योगदान पु¥याउँदै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आवाज उठाउने कार्य सबैका लागि अनुकरणीय रहेको उल्लेख गर्दै पत्रकारिता क्षेत्रमा गरेका कार्यको उच्च मूल्याङ्कन गर्दै पत्रकार महासंघ चितवन शाखाको एघारौँ जिल्ला अधिवेशनको अवसरमा २०७३ चैत्र ५ गते पुरस्कारसहित सम्मान–पत्र प्रदान गरिएको छ र आगामी दिनमा पत्रकारिता क्षेत्रको विकासमा अझ बढी योगदानको आशा गर्दै सुस्वास्थ्य । दीर्घजीवनको पनि कामना गरिएको छ । यसमा प्रमुखअतिथिको हैसियतले पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले र शाखाका अध्यक्ष हरिप्रसाद पोखरेलले हस्ताक्षर गरेका छन् ।
‘पत्रकारिताको प्राथमिकता ः समन्याय र समृद्धि’ नारा दिइएको नेपाल सरकार सूचना तथा सञ्चार मन्त्रालयले राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७३ वरिष्ठ पत्रकार गणशेखर शर्मालाई दुई लाख राशिसहित एक भव्य पित्तलपत्रमय सम्मान–पत्र प्रदान गरेको छ । निष्पक्ष, उत्तरदायी, व्यावसायिक, खोजमूलक र विश्लेषणात्मक पत्रकारिताको माध्यमबाट राष्ट्रिय हितको प्रवद्र्धन र जनतालाई सुसूचित गराउने मह¤वपूर्ण कार्यमा गणशेखरले पु¥याएको योगदानको कदर गर्दै नेपाल सरकारको तर्फबाट राष्ट्रिय पत्रकारिता दिवस–२०७४ को अवसरमा नगद पुरस्कार प्रदान गर्दै पत्रकारिताको माध्यमद्वारा नेपालको सर्वाङ्गीण विकासमा निरन्तर योगदान भइरहने अपेक्षासमेत गरिएको छ र यसमा सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरूङ र सूचना तथा सञ्चार मन्त्रालयका मन्त्री सुरेन्द्र कार्कीको हस्ताक्षर रहेको छ । दुई लाख रूपैयाँ नगद राशि रहेको यस पुरस्कारले गणशेखरलाई यस उमेरमा पनि नौजवान बनाइदिएको छ । यसले उनी अहिलेसम्म पनि सेवानिवृत्त भैसकेका छैनन्, बरू अझ जाँगरिलो अझ उत्साहित, प्रोत्साहित बनेका छन् । निरन्तर काम गरिरहेपछि कुनै न कुनै दिन कामको मूल्याङ्कन हुनुपर्ने रहेछ भन्ने लागिरहेको छ ।
राससबाट सेवानिवृत्त शेखर नियमित एवम् स्वस्थ आहारविहार, योग र औषधिलाई स्वास्थ्यका साथी बनाउँदै प्रत्येक आइतबार ‘साप्ताहिक चितवन’को नयाँ अङ्कका साथ प्रस्तुत हुन्छन् भने पत्रिका परिवारका तर्फबाट नवनिर्वाचित पत्रकार संघ, उद्योग वाणिज्य संघ आदि संस्थाका पदाधिकारीहरुलाई स्वागत तथा सम्मान गर्ने परम्परा बसाएका छन् । आफू पनि खट्ने र अरुलाई पनि खट्न सिकाउने कर्मठ गणशेखरको आज २०७४ साल असार ३ गते परेको उनको जन्मदिनका अवसरमा उनलाई हार्दिक मंगलमय शुभकामना प्रदान गर्दै चितवनले गौरव गर्नुपर्ने जेष्ठ–श्रेष्ठ पत्रकारको सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको अभिलाषा राख्दै पत्रकारिता क्षेत्रको लौह पुरूषका रुपमा अझ सशक्त र अझ सक्रियता कायम रहिरहोस् भन्ने अपेक्षा छ । अठहत्तर वर्ष प्रवेशको पूर्वार्धमा नेपाल सरकारबाट पुरस्कृत भएकोमा र शुभ जन्मोत्सवको उपलक्ष्यमा समेत शिखर पत्रकारलाई हार्दिक बधाई !

Comments

About the author

चितवन पोष्ट

प्रतिकिया

Click here to post a comment