गृह » पहिला बन्धन, त्यसपछि मुक्ति
विचार

पहिला बन्धन, त्यसपछि मुक्ति

लक्ष्मण भण्डारी
[email protected]
हरेक व्यक्तिको यात्रा ऊ स्वयम्बाट सुरू हुन्छ र स्वयम्मा गएर अन्त हुन्छ । यसबीचमा व्यक्ति विभिन्न नाम, सामाजिक मूल्य, संस्कृति, मान्यता र आग्रहहरुका भारी बोकेर निरन्तर हिँडिरहनु पर्दछ । यात्राको विशेषता नै भारी हो, बोझ र सङ्घर्ष हो । जन्मपूर्व हामी बोझरहित मोजको दुनियाँमा रहेका हुन्छौँ । आनन्द र खुसीको दुनियाँमा रहेका हुन्छौँ । तर जब हामी संसारमा आइपुग्छौं, त्यसपछि हाम्रो जीवनको यात्रा आरम्भ हुन्छ र सांसारिक बोझको भारी बोकेर हिँड्नु हाम्रो नियति बन्दछ ।
जब हामी संसारमा आउँछौँ, त्यसपछि हाम्रो आदिपहिचान छोपिन थाल्दछ । हामीलाई घरपरिवार, समाज, सम्प्रदाय र राष्ट्रले नयाँ परिचयको पोसाक पहि¥याई दिन्छन् । फरक—फरक नाम, पहिचान र मूल्यलाई ध्यानमा राख्दै हामी लगातार जीवनमार्गमा अघि बढिरहन्छौँ । आखिर जोजसले जेजस्ता नाम र पहिचान पाए पनि वा जुनजुन भाकामा गाए पनि जीवनको गीतको अर्थ भने एउटै हुन्छ, सुख वा आनन्द !
हामी यति बेचैनीका साथ केही खोजिरहेका छौँ, केही चाहिरहेका छौँ र केही प्रतीक्षा गरिरहेका छौँ– त्यो हो सुख । हामीले आनन्दको प्राप्तिकै निम्ति सारा प्रयत्नहरुलाई केन्द्रित गरिरहेका छौँ । कोही केही बनेर आनन्दको खोजी गरिरहेका छौँ, कोही राजनीतिज्ञ बनेर आनन्दको खोजी गरिरहेका छौँ । पत्रकार, वकिल, शिक्षक, कर्मचारी, किसान जे बनेर दौडिइरहे पनि सबैले चाहेको कुरा आनन्दभन्दा अर्को छैन, खुसीभन्दा अर्को छैन ।
हाम्रो मूल आनन्द हो । हाम्रो स्वभाव र प्रकृति पनि आनन्द नै हो । सबै सुख र आनन्दका लागि बाँच्नुले पनि यो मानिसको नैसर्गिक प्रवृत्ति एवम् पहिचान हो भन्ने कुरा स्पष्ट हुन्छ । यसरी हेर्दा आनन्दबाट सुरू भएर हामी आनन्दतिरै प्रस्थान गरिरहेका छौँ । दुःख भन्ने कुराको अनुभूति हामीलाई यही संसारमै आएपछि भएको हो । जन्मपूर्व हामी आनन्दमै थियौँ । जतिजति हामी सांसारिक दुनियाँ र त्यसको सम्पर्कमा खस्दै र फस्दै जान्छौँ, त्यतित्यति दुःखी र अशान्त हुँदै जान्छौँ । साना बालबालिका प्रौढ र वृद्धवृद्धाका तुलनामा कम दुःखी र पीडित हुन्छन्, किनभने उनीहरु संसारको दुःखरुपी सागरमा पसिसकेका हुँदैनन् । आनन्दको मूलबाट भर्खरै आएका हुनाले पनि उनीहरुलाई सांसारिक दुःख–पीडा त्यति वास्ता हुँदैन । केटाकेटीलाई सामाजिक आग्रह र मान्यताप्रति त्यति धेरै जानकारी पनि हुँदैन । त्यसैले केटाकेटीहरुबाट धेरै गल्तीहरु हुने गर्दछन् । तिनै गल्तीहरुमार्पmत केटाकेटीहरुले सिक्दै पनि जान्छन् । जब सांसारिक नाफा–घाटा र सामाजिक आग्रह–पूर्वाग्रहको जानकारीले भरिन्छन्, अनि बालबालिका पनि आनन्द र खुसीलाई गुमाएर अस्वाभाविक पीडाका सिकार बन्न पुग्दछन् । त्यही पीडाबाट मुक्त हुने प्रयासस्वरुप अनि मानिस धन, सम्पत्ति, पद–प्रतिष्ठा, वैभव र मर्यादाका लागि मरिहत्ते गर्न थाल्छ । यदि कसैलाई यी सांसारिक वैभवबाट पनि शान्तिको अनुभूति भएन भने उसले बिस्तारै पारलौकिक प्रयत्न गर्न थाल्दछ । विभिन्न धर्म, आध्यात्मिक मूल्य र शाश्वत प्रयत्नहरुप्रतिको उसको झुकाव बढ्दै जान्छ र अन्ततः अनन्तको दिव्यतालाई प्राप्त गर्दै पूर्णानन्दसहित जीवनलाई धन्य बनाई ऊ जीवन–मरणको नश्वरचक्रबाट सदाका लागि मुक्त हुन्छ ।
मान्छेले संसारमा जे गरिरहेको छ, ती सबै आनन्दकै प्राप्तिका लागि गरिरहेको छ । आनन्दकै नाममा ऊ आपसमा लडिरहेको छ र मरिरहेको छ । आनन्दकै नाममा आफूमा भएको खुसीलाई समेत तिलाञ्जली दिँदै निरन्तर विश्रामहीन दौडिइरहेको छ र आनन्दकै बहानामा मानिस व्यभिचार, मांसमदिरा र दुव्र्यसनको कुचक्रबाट गुज्रिइरहेको छ । यी आनन्दका क्षणिक स्रोतहरु हुन् । आनन्द त यी कुनै पनि भौतिक स्रोतभित्र कैद हुन सक्दैन । यी वस्तुको प्राप्ति वा अप्राप्तिको नियतिबाट पृथक् त¤वको नाम नै आनन्द हो ।
यसरी हेर्दा मान्छेका सारा प्रयासहरुको सार्वभौम कारण अरु केही नभएर केवल आनन्दको पुनप्र्राप्ति हो । उसभित्र विद्यमान आनन्दको स्रोत सांसारिक विषयवासना र भौतिक जञ्जालको पर्दाभित्र छोपिएर अनि दबेर बसेको छ । जब व्यक्ति तमाम दुर्गुणको धमिलो र दुःखदायी पर्दालाई च्यात्न सफल हुने छ, त्यसपछि मात्र उसले आफ्नो वास्तविक स्वरुपलाई प्राप्त गर्न सफल हुन्छ भन्ने मनिषीहरुको विचार रहेको छ ।
त्यसो भए के समाज, राष्ट्र, धर्म र तमाम मान्यताहरु निरर्थक छन् ? यो प्रश्न विचारणीय छ । साँच्चै नै भन्ने हो भने यी निरर्थक नै छन्, तर अन्तिम गन्तव्यसम्मका लागि मात्र । सामाजिक मूल्य र धार्मिक आस्था पनि केही समयका सहयोगी मात्र हुन् । निश्चित समयसम्मका लागि समाज, राष्ट्र, धर्म, भाषा र संस्कृतिको सार्थकता अवश्य होला, तर हामीले खोजेको आनन्दको प्राप्ति हुने समयसम्म भने ती केही बाँकी रहँदैनन्, छुटिसकेका हुन्छन् ।
एउटा विद्यार्थीका लागि दुई कक्षामा पढ्ने प्रयोजनका लागि कक्षा एक उत्तीर्ण हुनु अनिवार्य छ । कक्षा एक– कक्षा दुईको प्राप्तिका सन्दर्भमा सार्थक त छ, तर एमएसम्म पुग्दा ती सबै कक्षाहरु छुटिसकेका हुन्छन् । अन्तिम खुट्किलोसम्म पुग्दा सुरूका खुट्किलाहरु छुटिसकेका हुन्छन् तर पछिका खुट्किलोका लागि सहायक बनेर ।
हाम्रो समाज, घर, इष्टमित्र, देश यी पनि सबै केही समयका सहयोगी मात्र हुन्– जीवनयात्राका । सबैलाई छोडेर आनन्दको अन्तिम गन्तव्यमा लीन हुनु नै मनुष्यत्व हो । जीवनका कुनै क्षणहरुमा देशप्रेम, समाजप्रेम र परिवारप्रेमको मह¤व हुन सक्छ तर हामी यी सबैलाई छोडेर जानु त छँदै छ ।
त्यसैले, हामीलाई प्रकृतिले नै सबै सीमा र बन्धनहरु छोड्दै मुक्तिको दिशामा अघि बढ्न निरन्तर प्रेरित गरिरहेको छ । जसले यी सीमालाई तोड्न र छोड्न सक्दैन, उसले आनन्द पनि पाउन सक्दैन । सीमा र बन्धनलाई तोड्नुको अर्थ अराजक बन्नु होइन, नृशंस र पशुवत् बन्नु होइन । नियम, कानुन र बन्धनहरुको पनि निश्चित सीमा हुन्छ र त्यो सीमा संसारभन्दा माथि जान सक्दैन, समाज र राष्ट्रभन्दा माथि जान सक्दैन । यी सम्पूर्ण नियम, कानुन र संविधानभन्दा पर परमात्माको देश छ र त्यो देशमा नै आनन्दको गौरवपूर्ण साम्राज्य स्थापित छ ।
राष्ट्रसम्म नपुगुन्जेल समाजको माया स्वाभाविक हुन्छ, समाजसम्म नपुगुन्जेल परिवारको आसक्ति सहज मानिएला तर अन्तर्राष्ट्रियस्तरमा पुगेपछि पनि राष्ट्रको चिन्तामा लाग्नु स्वाभाविक मान्न सकिँदैन । जो अन्तर्राष्ट्रभन्दा पनि माथि पुगेको हुन्छ, उसका अगाडि न त समाज र देशको बन्धन बाँकी हुन्छ, न त कुनै धर्म, सम्प्रदाय र संस्कृतिको सीमा नै । त्यसपछि त व्यक्ति परिवार, देश र कुनै समाज विशेषको नरहेर सबैको साझा बन्दछ ।
हामी बुद्धलाई नेपाली भनेर छेकेर राख्न किन सकेनौँ ? के बुद्ध नेपालका सीमाभित्र मात्रै कैद हुन सक्दछन् ? बुद्ध एउट सीमामा जन्मिएर सीमाहीन भएका व्यक्ति हुन् । जो सीमाभन्दा पर हुन्छ, उसको हृदयमा समग्र प्राणीप्रति सीमाहीन र अकारण प्रेमको पवित्रतम गङ्गा प्रवाहित भइरहेको हुन्छ । गान्धी, लिङ्कन, कन्फ्युसियस, जिसस, ओशोलगायत विशिष्ट व्यक्तिहरु संसारभरका मानिसका साझा हुन्, यद्यपि उनीहरु कुनै देशको निश्चित सीमाभित्रै जन्मिएर सीमाहीन दुनियाँमा प्रवेश गरेका थिए ।
जब व्यक्ति जीवनको कुनै विशिष्टतम अवस्थामा पुगेको हुन्छ, त्यतिखेर ऊ भगवान्को स्थानमा आइपुग्छ । उसमा कसैप्रति पनि राग वा द्वैषको भावना रहँदैन । सबैको भलो, कल्याण र मङ्गल चिताउनु तथा निरन्तर आशीर्वादको वर्षा गरेर पूज्य बन्नु उसको धर्म बन्दछ । यसरी के स्पष्ट हुन्छ भने सम्पूर्ण बन्धन, सीमा र अवरोधलाई पार गरेर मात्र हामी भगवत्ताको विशाल संसारका बासिन्दा बन्न सक्दछौँ ।
हरेक सीमाहरु असीमका लागि बनेका हुन्छन्, तर सीमाहरुको उल्लङ्घन गर्दैमा कोही असीमको द्ुनियाँमा प्रवेश गर्न सक्दैन । नियम तोडेर होइन, नियमको पूर्ण परिपालनबाट मात्रै हामीलाई स्वतन्त्रताको अधिकार प्राप्त हुन सक्छ । सीमा, बन्धन र अनुशासनको भ¥याङ चढेर नै हामी सीमाहीन आकाशमा विचरण गर्न सक्दछौँ । धर्म जीवनका लागि आवश्यक वा अनावश्यक भन्नु राष्ट्र जीवनका लागि आवश्यक वा अनावश्यक भन्नुजस्तै हो । समयको आवश्यकता र अवस्थाअनुरुप परिवार, समाज, धर्म वा देश सबै आवश्यक वा अनावश्यक दुवै हुन सक्छन् ।
कक्षा दुईमा जाने विद्यार्थीका लागि कक्षा एकमा निर्धारित पाठ्यक्रम उसको सीमा हो । जब उसले कक्षा एकको सीमालाई सहर्ष स्वीकार गर्दछ, त्यसपछि मात्र ऊ कक्षा दुईको नयाँ पाठ्यक्रमको प्रवेशका लागि लायक हुन्छ । जबजब उपल्ला कक्षाहरु चढ्दै जान्छ, क्रमशः तल्ला कक्षाका सीमाहरुबाट पनि मुक्त हुँदै जान्छ । यसप्रकार हाम्रो जीवनको यात्रा पनि सीमाहरु भत्काउँदै र बनाउँदै निरन्तर अघि बढिरहन्छ । तर आनन्द यी सीमाहरु बन्ने–भत्कने क्रमभन्दा पर हुन्छ, परिवर्तनको नियमभन्दा माथि हुन्छ । अन्ततः हामी दिव्यताको सीमाहीन आकाशमा रमाउन पुग्छौँ, जहाँ हामी समस्त सांसारिक आग्रह, वासना, देश, समाज र संस्कृतिलाई छोडेर आफ्नो आदिअस्तित्वमा एकीकृत भएका हुन्छौँ ।
त्यसैले, जीवन बन्धनबाट मुक्तिको यात्रा हो, अंशबाट पूर्णताको यात्रा हो । खण्डबाट अखण्ड अनि अन्तबाट अनन्तको यात्राको नाम जीवन हो । जीवन आनन्दको सम्पूर्ण प्राप्तिका लागि परमात्माले निर्माण गरेको सुनौलो गोरेटो हो, जहाँबाट हामी विभिन्न सांसारिक परिचय अनि मूल्यलाई जोड्दै र छोड्दै प्रेम, शान्ति र आनन्दको दिव्यलोकमा प्रवेश गर्न सफल हुन्छौँ ।
संसार वैकुण्ठको ढोका हो । कुनै पनि कोठामा प्रवेश गर्नका लागि ढोका चाहिन्छ । ढोका सबैथोक होइन तर केही हो । संसारको ढोकाबाट प्रवेश गरेर हामी आनन्दको दिव्यलोकसम्म पुग्दछौँ । त्यसैले, संसारलाई ढोका बनाएर जीवनयात्रामा अघि बढौँ, अवश्य हामी हाम्रो जीवन सार्थक पार्न सफल हुनेछौँ ।

Comments

About the author

चितवन पोष्ट

प्रतिकिया

Click here to post a comment